नेकपा नेताहरुको सम्पत्ति छानबिन हुने, को को पर्ने भए



हाम्रो इकोनोमि

 

 

कमला रोका (समूह–२ प्रमुख)

कम्युनिस्ट पार्टी दलाल, नोकरसाही र पुँजीवादीहरूको जस्तो भयो । पार्टीको केन्द्रीय कमिटी र राजकीय जिम्मेवारीमा रहेका नेताहरू सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्छ । पार्टीको निर्देशनअनुसार सरकार चल्नुपर्‍यो । पार्टीका कार्यक्रममा नेताहरूका फोटो होइन, मार्क्स–लेनिनको फोटो राख्नुपर्‍यो । एमसिसीका विषयमा सुझबुझपूर्ण निर्णय हुनुपर्‍यो ।

दीनानाथ शर्मा (समूह–६ प्रमुख)

केही नेताले अकुत सम्पत्ति कमाएका छन्, त्यस्ताको आयोग बनाएर छानबिन गर्नुपर्छ । पार्टीभित्र लाभ लिइरहने र फिल्डमा काम गरिरहने दुई वर्ग छ, यसको अन्त्य गर्नुपर्छ । गुट भत्काउनुपर्‍यो । आलोचना र आत्मालोचनाको पद्धति बसाल्नुपर्‍यो । शीर्ष नेताहरूले विचार गरेर बोल्नुपर्‍यो । एमसिसीको विषयमा विस्तृत छलफल गर्नुपर्‍यो ।

भगवती चौधरी (समूह–९ प्रमुख)

एकता अझै सुदृढ हुन सकेन । कमिटीहरू प्रभावकारी रूपले परिचालन नहुँदा चुनावमा समस्या देखियो । उम्मेदवार पनि सर्वस्वीकार्य भएनन् । जनप्रतिनिधि भ्रष्ट भए, त्यसलाई नियन्त्रण गर्न पार्टीले चुस्त अनुगमन प्रणाली बनाउनुपर्‍यो । प्रदेश २ मा सर्कुलरविपरीत जिल्ला कमिटी गठन भएका छन् । एमसिसीबारे पार्टीभित्र साझा धारणा बनाउनुपर्छ ।

लेखनाथ न्यौपाने (समूह–१३ प्रमुख)

मृत्यु भइसकेका राष्ट्रिय/अन्तर्राष्ट्रिय नेताहरूका नाममा नेतृत्वले गुटबन्दी गर्दै छन्, गुटले पार्टी खाँदै छ । भ्रष्टाचार रोकिएको छैन, त्यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ । पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्छ । एमसिसी हुबहु लागू गर्न सकिँदैन । सांस्कृतिक विचलनले गैरकम्युनिस्ट बनाउँछ । राष्ट्रिय सभामा लगेका पात्रहरू गतिला भएनन् ।

प्रदेश कमिटीका पनि उस्तै गुनासा : पार्टी र सरकारको समन्वय नै भएन

प्रदेश १ : नेतृत्वको जीवनशैली अपारदर्शी र रहस्यमयी
देवराज घिमिरे (अध्यक्ष)

पार्टी एकताको ढिलाइले गर्दा सरकार र पार्टीबीच संयोजन हुन सकेको छैन । कसैले दोहोरो–तेहोरो जिम्मेवारी पाएका छन्, कसैले जिम्मेवारी नै पाएका छैनन् । त्यसले पार्टी काममा समस्या भएको छ । निर्वाचनको घोषणापत्रअनुसार सरकारका कामलाई परिचालन गर्न नसक्दा तल्लो तहसम्म जनताको गुनासो चुलिँदै छ । पार्टी र निर्वाचित जनप्रतिनिधिहरूका कामकारबाही संयोजन नहुँदा सबैभन्दा ठूलो समस्या भएको छ । हरेक तहका पार्टी नेतृत्वको काम र जीवनशैली अपारदर्शी र रहस्यमयी बन्दै गएकाले जनतासँगको दूरी बढ्दै छ ।

प्रदेश २ : प्रधानमन्त्री र मन्त्रीले बोलेका काम पनि गरेनन्
प्रभु साह (अध्यक्ष)

प्रदेश कमिटीका समस्या समाधान गर्न केन्द्रसँग आग्रह गरेको महिनौँ बित्दा पनि सुनुवाइ भएको छैन । अहिले पनि केही जिल्लामा पदाधिकारीले पूर्णता पाएका छैनन् । केही जिल्लामा नेताको व्यक्तिगत स्वार्थमा पदाधिकारी तोकिएका छन् । स्थायी कमिटी र केन्द्रीय कमिटीको चयन कुन मापदण्डका आधारमा भएको हो ? हामी जान्न चाहन्छौँ । केही मन्त्रीको काम–कारबाही र व्यवहार हेर्दा सरकार हाम्रो पार्टीको हो कि होइन भन्ने द्विविधा हुन्छ । सरकारले गर्ने राजनीतिक नियुक्तिबारे प्रदेश कमिटीलाई थाहा नै हुन्न, सोधिन्न । प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक रूपमा बोलेका कामहरूसमेत नगर्दा हामी कार्यकर्ता समस्यामा परेका छौँ । नेतृत्वप्रतिको विश्वास र नैतिक आधार गुम्दै गएको छ । अन्तर्संघर्षको आवरणमा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्ने गरी भइरहेको गतिविधि गराउने नेताहरूलाई तत्काल कारबाही गरियोस् ।

बागमती : सरकारका काम प्रभावकारी बनाउनुपर्‍यो
नारायण दाहाल (अध्यक्ष)

पार्टीभित्र राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गरिनुपर्छ । माक्र्सवाद–लेनिनवादको विकास गर्न तल्लो तहसम्म प्रशिक्षणको व्यवस्था गर्नुपर्‍यो । पार्टीको पोलिटब्युरो गठन र विभागहरूलाई पूर्णता तत्काल दिनुपर्‍यो । पार्टीमा केन्द्रदेखि तल्लो तहसम्म मौलाउँदै गएको गुटबन्दीलाई नेतृत्व तहबाटै अन्त्य गरिनुपर्छ । सरकारका काम–कारबाही प्रभावकारी हुनुपर्‍यो । एमसिसीका विषयमा विज्ञ समूहको टोली बनाएर पार्टीले स्पष्ट धारणा बनाउनुपर्छ, हचुवाको भरमा संसद्बाट पारित गरिनुहुन्न ।

गण्डकी : सरकार र पार्टीको अन्तर्सम्बन्ध राम्रो छैन
हितराज पाण्डे (अध्यक्ष)

सरकार र पार्टीको अन्तर्सम्बन्ध राम्रो छैन । सरकारले गरेका कामको पार्टीले स्वामित्व लिने अवस्था बनेन । तीनै तहका सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेका छैनन् । विकास बजेटसमेत खर्च गर्न सकेका छैन्न । जनतामा असन्तुष्टि बढ्दै छ । पार्टीको केन्द्रदेखि तल्लो तहसम्मका नेतृत्वले प्रभावकारी रूपमा काम गर्नुपर्ने अवस्था छ । प्रदेशमा प्रशिक्षण अभियान पनि चलाएका छौँ ।

प्रदेश ५ : प्रदेश सरकार र पार्टीको तालमेल मिल्दै छ
ओनसरी घर्ती (अध्यक्ष)

सबै जिल्लामा पार्टी एकता गरेर कमिटी गठन भइसकेका छन् । प्रदेश सरकार र पार्टीको तालमेल पनि मिल्दै गएको छ । कुल ग्रार्हस्थ उत्पादन हाम्रो प्रदेशमा अरूभन्दा धेरै अर्थात् १४.३५ प्रतिशत छ । हाम्रो नेतृत्वमा रहेका तीनवटै तहका सरकारले समाजवादउन्मुख नीति–कार्यक्रम बनाएर लागू गर्नुपर्छ । एमसिसी राष्ट्रहितअनुकूल भए नेतृत्वले अगाडि बढाउँदा हुन्छ ।

कर्णाली : पार्टीभित्र गुटबन्दी यथावत् छ
गोरखबहादुर बोगटी (अध्यक्ष)

दुई पार्टीका नेता–कार्यकर्ता पुरानो मानसिकताबाट मुक्त हुन सकेका छैनन् । त्यस्तै, विगतको महाधिवेशनको पक्षधरता पनि प्रस्ट देखिन्छ जसले गर्दा पार्टीभित्र गुटबन्दी यथावत् छ । अभिलेखीकरण नहुँदा पार्टी सदस्यसमेत नभएका व्यक्ति कमिटीमा पुग्ने खतरा छ । पार्टी र सरकारबीचको समन्वय र सहकार्य जीवन्त हुन सकेको छैन । कर्णालीका ३० केन्द्रीय सदस्यमध्ये एकजना मात्र महिला हुनुहुन्छ । अब मनोनीत गर्दा महिलालाई प्राथमिकतामा राखियोस् ।

सुदूरपश्चिम : एमसिसीलाई केही टाठाबाटाले मोड्न खोजे
कर्ण थापा (अध्यक्ष)

सुदूरपश्चिमका पार्टी कमिटीमा कहीँ पनि विवाद छैन । स्थानीय सरकारलाई घोषणापत्रअनुसार काम गर्न उत्प्रेरित गरेका छौँ । एमसिसी नेपालको हितमा आएको सहयोग हो, यसलाई पास गर्नुपर्छ । तर, केही विषय प्रस्ट हुनुपर्छ भन्ने विषय उठेको छ । केही टाठाबाठाहरूले भने यसलाई जबर्जस्ती मोड्न खोजेका छन् ।

पार्टी र नेतृत्वको कार्यशैलीमाथि प्रश्न

नेकपा केन्द्रीय कमिटी बैठकमा सदस्यले सरकार, पार्टी र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । समूहगत छलफलपछि शुक्रबार टोली नेताले पूर्ण बैठकमा नेता–कार्यकर्तामा अनुशासन र आर्थिक आचरण कमजोर बन्दै गएको रिपोर्टिङ गरे । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) यथास्थितिमा स्वीकार नगर्न अधिकांश सदस्यको सुझाब छ ।

बुधबार अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि केन्द्रीय सदस्यहरू १५ समूहमा बाँडिएर छलफल गरेका थिए । छलफलमा सदस्यहरूले उठाएका प्रश्नबारे शुक्रबारको बैठकमा चार समूहका टोली नेताले रिपोर्टिङ गरेका छन् ।

समूह १३ का नेताहरूले बाहिर पार्टीको प्रतिरक्षा गर्न सकिने, तर भित्र पार्टीबारे निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएकोमा जोड दिएका छन् । नेकपा कम्युनिस्ट पार्टीजस्तो नभएको, गुटले पार्टी खाएको, नेतृत्वले नै गुटको नेतृत्व गरेको निष्कर्ष निकालेका छन् । समूह नेता लेखनाथ न्यौपानेले  भने, ‘सरकारको प्रतिरक्षा बाहिर गरौँला, तर भित्र निर्ममतापूर्वक समीक्षा गरौँ भन्ने आवाज उठेको छ । फुटले पार्टी खायो, नेतृत्वले नै गुटको नेतृत्व गरे । मरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय नेताका नाममा गुट झाँगिएकोमा चिन्ता छ ।’

यो समूहका सदस्यहरूले पार्टीका सबै कमिटीमा बहुपद लागू गर्न माग गरेका छन् । व्यक्ति हेरेर विधान संशोधन नगर्न पनि चेतावनी दिएका छन् । फिल्डमा खटिने नेता–कार्यकर्तालाई वास्ता नगरिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । त्यस्ता नेता–कार्यकर्तालाई वेलावेलामा बोलाएर भेट्न र छलफल गर्न सुझाब दिएका छन् । साथै पार्टी स्कुलबाट पास भएकाहरूको मूल्यांकन गर्नुपर्ने आवाज उठाएका छन् । अपांगता भएका र घाइते कार्यकर्ताको जीवन निर्वाह गराउनुपर्ने सुझाब दिएका छन् । त्यस्तै, पोलिटब्युरो गठन केन्द्रीय समितिबाटै गर्नुपर्ने, समावेशिता दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बहुचर्चित एमसिसी हुबहु लागू गर्न नहुने निष्कर्ष यो समितिको छ । भ्रष्टाचार मौलाएकाले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र कारबाहीमै उत्रिनुपर्ने सुझाब छ । राष्ट्रिय सभामा लगेका पात्र सही नभएको आवाज पनि उठेको छ । ‘भ्रष्टाचार रोकिएको छैन, अब कारबाही तहमा जानुपर्छ र नेताको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने छ । एमसिसी हुबहु लागू नगरौँ भन्ने जोड छ,’ नेता न्यौपानेले भने । नेताहरूले रणनीतिक काममा भन्दा शिलान्यास, उद्घाटन र चियापानमा समय फालिरहेकोमा चिन्तासमेत जनाएका छन् ।

छलफल सकेर रिपोर्टिङ गरिसकेको समूह २ ले पनि पार्टीका नेताको सम्पत्ति छानबिन गर्न भनेको छ । एमसिसी मुद्दामा सचेत बन्न र सुझबुझपूर्ण निर्णय लिन भनेको छ ।
‘पार्टी दलाल, नोकरशाही र पुँजीवादीको जस्तो बनेको भन्दै चिन्ता उठेको छ । केन्द्रीय कमिटी र राजकीय जिम्मेवारीमा रहेका नेताहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने र एमसिसीको मुद्दामा सचेत भएर सुझबुझपूर्ण निर्णय लिनुपर्ने सुझाब आएको छ,’ टोली नेता कमला रोकाले भनिन् ।

पार्टी सदस्यलाई श्रम र उत्पादनसँग जोड्नुपर्ने, समाजवादमा उन्मुख जनताको जनवादमा जान चरणबद्ध छलफल चलाउनुपर्ने सदस्यहरूले बताएका छन् । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने, राष्ट्रिय सभा निर्वाचनको समीक्षा गर्नुपर्ने, पार्टी पोलिटब्युरो गठन गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, सहिद, बेपत्ता परिवार र पूर्णकालीनलाई पार्टीले हेर्नुपर्ने, सदस्यता शुल्क घटाउनुपर्ने, महिलालाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । पार्टीमा उमेरहद लागू गर्नुपर्ने आवाज पनि उठेको छ ।

समूह ९ मा पनि एमसिसी सम्झौताका बुँदा संविधानसँग नबाझिने गरी सच्याएर मात्रै प्रक्रियामा अगाडि बढ्नुपर्ने आवाज उठेको छ । यसमा साझा धारणा बनाउनुपर्ने सुझाब छ । त्यस्तै, पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्ट भएको भन्दै रोक्नुपर्ने माग छ । संघीय मन्त्री हटाइनुको कारण खुलाउन भनिएको छ । छलफलपछि रिपोर्ट पेस गर्दै टोली नेता भगवती चौधरीले भनिन्, ‘मन्त्रीहरू किन हटाइएको हो ? कारण खुलाउनुपर्ने माग सदस्यहरूको छ । स्थानीय तहका प्रतिनिधि भ्रष्ट भएकाले रोक्न अनुगमन गर्नुपर्ने सुझाब आएका छन् । एमसिसी सम्झौताका बुँदा संविधानसँग नबाझिने गरी सच्याउन भनिएको छ ।’

पार्टीमा कसैलाई जिम्मेवारीविहीन नराख्न, गाह्रो–अप्ठ्यारो परेकालाई फेरबदल गर्न सदस्यहरूले सुझाब दिएका छन् । निर्वाचनमा सर्वस्वीकार्य उम्मेदवार नभएको, पार्टी कमिटीहरू प्रभावकारी परिचालन नहुँदा निर्वाचनमा केही समस्या भएको आवाज पनि उठेको छ । आत्मनिर्भर अर्थतन्त्रका लागि पार्टीले नीति बनाएर लागू गर्नुपर्ने, कृषि प्रणालीलाई व्यवस्थित गर्नुपर्ने र पर्यटनसँग जोड्नुपर्ने सुझाब छ । सरकारका राम्रा कामको प्रचार नपुगेको निष्कर्ष पनि यो समूहको छ । प्रदेश २ मा सर्कुलरविपरीत जिल्ला कमिटी बनाइएकाले छानबिन समिति बनाउन केही सदस्यले माग गरेका छन् ।

पार्टीमा ३३ प्रतिशत महिला सहभागिताको माग पनि उठेको छ । ‘सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ । पार्टी केन्द्रमा महिला विभाग चाहिन्छ । प्रत्येक तहमा स्कुल विभाग चाहिन्छ,’ टोली नेता चौधरीले भनिन्, ‘पार्टी सदस्यको विषय छिटो सकाउनुपर्‍यो । जिल्लाका सहइन्चार्जको वरीयता तोक्नुपर्‍यो । केन्द्रीय उपाध्यक्ष र सचिव सात–सातजना हुनुपर्छ भन्नेजस्ता सुझाब आएका छन् ।’

समूह ६ का सदस्यहरूले पनि अकुत सम्पत्ति कमाउने नेतामाथि छानबिन गर्न आयोग बनाउनुपर्ने माग गरेका छन् । पार्टीको आर्थिक प्रतिवेदन देखाउनुपर्ने बताएका छन् । एमसिसीबारे प्रशिक्षण अवश्यक रहेको पनि बताएका छन् । पार्टीका सबै कमिटी बहुपदमा लैजानुपर्ने, निर्वाचन प्रणाली खर्चिलो भएकाले सुधार गर्नुपर्नेजस्ता सुझाबसमेत छन् । टोली नेता दीनानाथ शर्माले भने, ‘पार्टी नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउनुपर्‍यो र कार्यकर्ताको मूल्यांकन हुनुपर्‍यो भन्ने आवाज उठेको छ ।’
पार्टीका सबै कमिटी बहुपदमा लैजानुपर्ने, खर्चिलो निर्वाचन प्रणाली सुधार हुनुपर्ने पनि सदस्यहरूले बताएका छन् । एमसिसी के हो र किन चाहियो भन्नेबारे प्रशिक्षण नै चलाउनुपर्ने सुझाब छ ।

त्यस्तै स्थानीय जनप्रतिनिधिलाई पार्टी योजनामा परिचालन गर्नुपर्ने, पूर्णकालीन कार्यकर्ताको जीवनयापनबारे स्पष्ट नीति बनाउनुपर्ने माग छ । ‘पार्टीमा पाइरहने र जनताको सेवा मात्रै गरिरहने दुई वर्ष छ । यसलाई अन्त्य गर्नुपर्छ,’ नेता शर्माले रिपोर्ट पेस गर्दै भने, ‘पार्टीमा गुट भत्काउनुपर्छ, आलोचना र आत्मालोचनाको पद्धति बसाल्नुपर्छ । नेताहरूले विचार गरेर बोल्नुपर्छ भन्ने सदस्यहरूको सुझाब छ ।’

अन्य समूहको रिपोर्टिङ शनिबार हुनेछ । सबै समूह नेताको रिपोर्ट सुनेपछि केन्द्रीय सचिवालयका नेताबीच छलफल हुने र सचिवालयको निष्कर्षअनुसार अध्यक्ष प्रचण्डले जवाफ दिने वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘शनिबारसम्म सबै समूहबाट रिपोर्ट पेस हुन्छ । त्यसपछि सचिवालय तहमा छलफल हुन्छ । छलफलपछि अध्यक्ष प्रचण्डले जवाफ दिनुहुन्छ,’ खनालले भने, ‘बैठकपछि पार्टी र सरकारले नयाँ ऊर्जा पाउने अपेक्षा छ ।’

शुक्रबार चार समूहबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष कमिटी, प्रवास समन्वय कमिटीले पनि रिपोर्ट प्रस्तुत गरेका छन् । प्रदेश १ बाट अध्यक्ष देवराज घिमिरे, प्रदेश २ बाट अध्यक्ष प्रभु साह, बागमती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश ५ बाट अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशबाट अध्यक्ष गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले प्रतिवेदन पेस गरेका हुन् ।

यस्तै, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रह्लाद बुढाथोकी, उपत्यका विशेष कमिटी अध्यक्ष डा. राजन भट्टराई र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंले रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रवास कमिटी

प्रवासमा पार्टी एकताका लागि बनेका कार्यदलले रिपोर्ट तयार गरिसकेका छन् । तर, सचिवालयले त्यससम्बन्धी निर्णय दिएको छैन । सबै देशका राष्ट्रिय र त्यसमातहतका कमिटीको एकता र परिचालन दुई वर्षदेखि स्थिर छ । प्रवासको पार्टी कामबारे विधानको व्यवस्था अमूर्त छ । त्यसलाई संशोधन गरिनुपर्छ, प्रवासमा पार्टी काम गरेर स्वदेश फर्किएका नेता–कार्यकर्तालाई देशभित्र पार्टी कामको अवसर दिनुपर्छ । नेताहरू विदेश भ्रमणमा जाँदा प्रवास कमिटीसँग समन्वय गरेर मात्र जान पार्टीले निर्देशन दिनुपर्‍यो । प्रवासी नेपालीहरूसँग सम्बन्धित नियुक्ति र मन्त्रालयका कामबारे प्रवास कमिटीहरूसँग समन्वय र सल्लाह अनिवार्य गरिनुपर्‍यो ।

सम्पर्क कमिटी

सम्पर्क समन्वय कमिटीले सबैभन्दा कमजोर मौखिक प्रतिवेदन बैठकमा पेस गर्‍यो । अध्यक्ष प्रह्लाद बुढाथोकीले दसैँ, तिहार, छठपर्वको अवसरमा गरिएको शुभकामना आदान–प्रदानलाई उनले प्रमुख काम बताए । उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई सघाएको जानकारी गराए । पाँचवटा प्रदेशको सम्पर्क समन्वय कमिटीको बैठक अझै गर्न सकेको छैन ।

उपत्यका कमिटी

काठमाडौं, भक्तपुर र ललितपुरमा बस्ने व्यक्तिहरूलाई पार्टीप्रति प्रतिबद्ध बनाउने काम गरिएको छ । उपत्यकाको भूगोल ठूलो भए पनि यसलाई प्रभावकारी बनाउन सकिएको छैन । यसलाई प्रभावकारी रूपमा बढाउन सकिए धेरै काम गर्न सकिन्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...