नेपाल, खनाल र गौतम प्रचण्ड गुठमा, ओली तनावमा



हाम्रो इकोनोमि

 

 

नेकपाभित्र उत्पन्न ‘सभामुख युद्ध’को पटाक्षेप भएको छ । कृष्णबहादुर महरा पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच शुरु भएको ‘शीतयुद्ध’ अन्ततः प्रचण्ड विजयी बनेर टुङ्गिएको छ ।

प्रचण्डलाई विजयी बनाउन पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमको विशेष योगदान रह्यो । नौजनाको सचिवालय र सतचालीसजनाको स्थायी समितिबाट हरेक निर्णय बहुमतका आधारमा गर्दै जाने र अन्ततः केपी ओलीलाई सबै प्रकारका जिम्मेवारीबाट मुक्त गर्ने रणनीतिक योजना प्रचण्डले बनाउनुभएको थियो । प्रचण्डको यस्तो योजनालाई माधव, झलनाथ र वामदेवले साथ दिनुभएपछि केपीलाई परास्त गर्न प्रचण्ड सफल हुनुभएको हो ।

तात्कालिक उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गर्न निर्देशन दिने र सभामुखमा नेकपाले उम्मेदवारी दिने निर्णय सचिवालय बैठकबाट गराउन प्रचण्ड सफल भएपछि प्रधानमन्त्री ओली झस्किनुभएको थियो । उक्त निर्णय गर्ने बैठकमा ओली सहभागी हुनुभएको थिएन । प्रधानमन्त्री बनेको दुई वर्षमा केपीको आफ्नो इच्छाविपरीत सचिवालयबाट सो निर्णय भएको थियो । त्यसैबीच नेकपाका महासचिव विष्णु पौडेलले पनि ‘कमरेड हामी अल्पमतमा परिसक्यौँ, उनीहरू बहुमतका आधारमा निर्णय गर्दै एकलौटी ढङ्गले अघि बढ्न खोजिसके’ भनी प्रधानमन्त्री ओलीलाई सुनाइदिएपछि उहाँ अझै गम्भीर र सचेत बन्नुभएको बताइन्छ । आफ्नै विश्वास प्राप्त व्यक्तिहरूको समेत मनोबल गिर्न थालेको पाइएपछि अन्ततः केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउने आफ्नो अडान परित्याग गर्न बाध्य हुनुभएको हो ।

गत साता प्रचण्डसँग दुई चरण लामो वार्तालाप गरेपछि ओलीले निकै गह्रौँ मनले अग्नि सापकोटालाई सभामुख स्वीकार गर्नुभएको थियो । सापकोटालाई आफूले स्वीकार गरे पनि मानवअधिकारकर्मी, न्यायकर्मी र नागरिक समाजले अस्वीकार गर्ने विश्वासमा प्रधानमन्त्री रहनुभएको बुझिन्छ । तर, मानवअधिकारकर्मीले उठाएको झिनो आवाजले कुनै परिणाम हासिल हुने स्थिति अहिलेसम्म देखिएको छैन ।

हत्याका आरोपी अग्नि सापकोटाका विरुद्ध नागरिक समाज पनि उद्वेलित भएन, विपक्षी राजनीतिक दलहरूले सापकोटालाई ‘निर्विरोध’ बन्न सहयोग पुऱ्याए भने न्यायिक क्षेत्र पनि अन्ततः सापकोटा–प्रचण्डका प्रति सकारात्मक भूमिकामा नै देखापऱ्यो । त्यसैले अन्ततः सभामुख प्रकरणमा केपी ओली पूर्ण रूपले पराजित र प्रचण्ड पूरै विजयी बन्न पुग्नुभएको छ । पार्टी एकीकरणपछि यसरी केपी पराजित हुनुभएको यो पहिलोपटक हो ।

प्रचण्डसँगको एकल संवादका क्रममा केपीले प्रचण्डसँग सचिवालय विस्तार गरी नौजनाबाट एघार, तेह्र या पन्ध्रसम्म पुऱ्याउने र मन्त्रिमण्डलको काम तथा पुनर्गठनमा दखल नदिन राख्नुभएको प्रस्तावप्रति पनि प्रचण्ड सकारात्मक नबनेको बुझिएको छ । सचिवालयमा पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललगायतका व्यक्तिहरू थपिनुपर्ने इच्छा प्रधानमन्त्री ओलीको रहेको बताइन्छ । माओवादी कित्ताका पनि देव गुरुङ सचिवालय सदस्यका दाबेदारमध्ये मानिएका छन् । तर, प्रचण्ड सचिवालय विस्तार गरी केपीका निम्ति अनुकूल परिस्थिति निर्माण गर्न तयार हुनुभएको बुझिँदैन । मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी विषयमा समेत प्रचण्डले केपीलाई सहयोग नगर्ने सङ्केत दिइसक्नुभएको छ ।

यसरी केपीलाई ‘परास्त’ गर्ने सफलता मिलेपछि प्रचण्ड निकै उत्साही बन्नुभएको छ । र, निकट भविष्यमै केपीविरुद्ध अर्को चरणको युद्ध शुरु गर्ने तयारीमा उहाँ लाग्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...