गायिका आस्था राउत प्रहरीमा हाजिर
एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।
आस्था सोमबार बिहानै परिसर पुगेर हाजिर भएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन्। उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।
त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा गायिका आस्था र त्यहाँकी महिला प्रहरीबीच विवाद भएको थियो। त्यसपछि गायिका आस्थाले आफ्नो फेसबुकमा भिडियोमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन्।
सोही विषयमा विमानस्थलकी ती महिला प्रहरीले उनीविरुद्ध उजुरी दिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यही माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले उनी आफैं उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।


