विप्लव कमजोर भएपछि नेकपामा आउने तयारी, बादलसगँ गोप्य भेट



हाम्रो इकोनोमि

 

 

सरकार आक्रामक हुँदै नेता कार्यकर्तामाथि कारबाही र पक्राउमा उत्रिनु र प्रभावशाली मानिएका नेता नै पार्टी छाडी सत्तारुढ नेकपामा प्रवेश गर्नुले प्रतिबन्धित पार्टीभित्र भुइँचालो गएको छ ।

उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सत्तारुढ नेकपामा प्रवेश गर्नका लागि तयार रहेका छन् भने विप्लवले तत्काल आत्मसमर्पण नगर्ने बताउँदै आएका छन् ।

यसमा रोचक के छ भने प्रतिबन्धित पार्टीका नेता कार्यकर्ताले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत सेफल्यान्डिङका विषयमा कुरा चलाइरहेका छन् । तर, प्रचण्ड कुनै पनि हालतमा विप्लवकै नेतृत्वमा पार्टी समाहित हुनुपर्छ भन्ने सन्देश दिइरहेका छन् ।

प्रभावशाली नेता र कार्यकर्ता पक्राउ गरेपछि विप्लव समूह कमजोर भएको मुल्यांकन विभिन्न चरणमा हुन थालेको छ । उक्त कमजोर समूहभित्र पनि प्रकाण्ड बहुमतमा रहेको स्रोतले जनाएको छ । विप्लव समूहलाई नेकपामा प्रवेश गराउनका लागि प्रचण्डले वार्ता जारी राखेका छन् । बहुमत सदस्य नेकपामा ल्याउन प्रकाण्ड तयार छन् तर प्रचण्ड उनलाई विश्वास गर्दैनन् । ‘तत्कालिन एमाओवादी विभाजन हुनुअघिदेखि नै प्रकाण्ड प्रचण्डको विश्वासमा छैनन्, उनी विप्लवसहितको समूह छिराउन तयार छन्’, स्रोतले भन्यो ।

सरकारले उक्त पार्टीलाई प्रतिबन्ध गर्नुअघि प्रचण्डलाई नै ज्यान मार्न सक्ने खतरा रहेको कारणलाई अगाडि सारेको थियो । उक्त समूहभित्र प्रकाण्डकै नेतृत्वमा त्यस्तो निर्णय भएको बताइन्छ । त्यसै कारण पनि प्रकाण्ड र विप्लवबीच मनमुटाव रहेको स्रोतको दाबी छ ।

विप्लव समूह कमजोर हुनुका कारण

हिंसात्मक गतिविधिमा सक्रिय भएपछि सरकारले विप्लव समूहमाथि पक्राउ र कारबाहीको श्रृङ्खला अगाडि बढायो । यो क्रममा प्रहरी इन्काउन्टरमा कुमार पौडेल मारिए भने अन्य कार्यकर्ता पनि मुठभेडमा मारिएका थिए ।

त्यसअघि स्थायी समिति सदस्य सुदर्शन ओलीसहितका कतिपय प्रभावशाली नेता पक्राउ गरिए । सोही क्रममा गत ३० असोजमा प्रहरीले दाङको राजपुर गाउँपालिका–४ बाट विप्लवका दाजु मध्य पश्चिमाञ्चल कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द पक्राउ गरिए । यसले उक्त समूहलाई ठूलो धक्का लागेको रिपोर्ट प्रहरीले गृह मन्त्रालयलाई बुझाइसकेको छ ।

यस्तै राप्ती व्युरो इन्चार्जलगायत २१ जनालाई एकै ठाउँमा पक्राउ गरी कारबाही चलाइएको थियो । विप्लव समूहबारेका धेरै सूचना राज्यसँग रहेको र चाहेको बेला पक्राउ गरी कारबाही चलाउन सक्ने विषयमा उक्त समूहमा बेलामौका छलफल समेत हुने गरेको बताइएको छ ।

त्यसो त पदम राईलगायतका नेताहरुले नै पार्टी छाडी नेकपा प्रवेश गरेको, सोमबार साँझ मात्रै पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीसहितलाई प्रहरीले पक्राउ गरिनु पनि विप्लव समूहका लागि ठूलो धक्का बनेको छ ।

त्यसो त प्रहरीसँग रहेको रिपोर्टअनुसार एक बर्षको दौरानमा मात्र विप्लव समूहमा एक हजार २ सय जना पक्राउ गरिएका थिए जसमा एक हजार १ सय १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । १३९ जनालाई त कारागार नै चलान गरिएको छ । प्रहरी विशेष सूचनाअनुसार एक बर्षको अवधिमा झन्डै एक हजार जनाले पार्टी परित्याग गरिसकेका छन् ।

‘सो पार्टीको रणनीतिक योजना बनाउने संयन्त्र नै ध्वस्त भइसकेको छ । वार्तामा जानुपर्ने बाध्यतामा सुरक्षा निकायले पुराइसकेको छ’, प्रहरीले गृह मन्त्रालयमा पठाएको तथ्यांकमा उल्लेख छ ।

कतिसम्म भने कुन कुन ठेगानामा रहने र पार्टीको संरचना कस्तो रहेको भन्ने विषयमा पनि सरकारसँग पूर्ण जानकारी रहेको छ । समूहको सांगठनिक संरचनालाई परिवर्तन गरी पार्टीको केन्द्रीय संरचनामा पार्टी महासचिव नेत्र बिक्रम चन्द बिप्लवको प्रत्यक्ष नियन्त्रणमा रहने ५ सदस्यीय सचिवालय र ३ सदस्यीय केन्द्रीय सल्लाहकार समितिर ३० सदस्यीय केन्द्रीय समिति गठन भएको छ । औपचारिक रुपमा सांगठनिक संरचना भित्र उल्लेख नगरिएको भएता पनि पार्टी चलाउने दिपकको कमाण्डमा सैन्य ब्यूरो समेत रहेको जानकारी राखेको सुरक्षा निकायले त्यसलाई नियन्त्रणमा लिन सकिने रिपोर्ट बुझाएको छ ।

त्यसो त हालै मात्र विप्लव समूहमा पोलिटव्युरो सदस्य रहेका मोहन कार्की सत्तारुढ पार्टीमा प्रवेश गरेपछि उक्त समूह झनै कमजोर बनेको सरकारको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...