शिवमाया तुम्बाहाङफेलाई कानुनमन्त्री बनाउने तयारी
शिवमाया तुम्बाहाङफेलाई उपसभामुखबाट राजीनामा गराएपछि सत्तारुढ दल नेकपाभित्र उनको ब्यवस्थापन के ? यही बिषयमा नेकपाका दुई अध्यक्षले सोमबार बालुवाटारमा छलफल गरेका छन् ।
शिवमाया तुम्बाहाङफे क्षमता अभाव र कुनै अभियोग लागेर पदबाट राजीनामा दिएकी होइनन् । सभामुख पद नेकपाले लिँदा उनको उपसभामुख पद गुमेको हो । विना कारण सजाय पाएकी तुम्बाहाङफेलाई मन्त्री बनाउने तयारी गरिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बनाउने अनौपचारिक निर्णय लिएको बालुवाटार स्रोतले बताएको छ ।
सोमबार विहान उपसभामुखबाट राजीनामा गराउने बिषयमा दुई अध्यक्षले छलफल गरेका थिए । उनलाई राजीनामा गराएर मन्त्री बनाउने आश्वासन पनि दिइएको छ । तर शिवमायाले यस बिषयमा कुनै प्रतिक्रिया भने जनाएकी छैनन् । सभामुखको दावी गर्दै आएकी शिवमायालाई पहिलेपनि मन्त्रीको आश्वासन दिएको थियो तर त्यो बेला उनले मानिन् । अहिले मन्त्री बनाउने आश्वासन दुवै अध्यक्षले दिएका छन् ।
समाजवादी पार्टीले सरकार छोडेपछि दुई मन्त्रालयमा मन्त्री रिक्त छन् । अर्का मन्त्रालयका मन्त्रीहरु काम चलाउका रुपमा काम गरिरहेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कानुन मन्त्रीको पनि जिम्मेवारी दिएको छ भने शहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई दिइएको छ ।
यी दुई मन्त्रालयमा राजपाले सरकारको यात्रा गर्ने सम्भावना पनि त्यतिकै छ । राजपा सरकारमा आए वर्तमान कुनै मन्त्रीलाई राजीनामा गराएर भएपनि तुम्वाङफेलाई मन्त्री बनाउने तयारी बालुवाटारमा गरिएको छ । मन्त्री परिषद फेरी हेरफेर गर्ने तयारी पनि गरिएको छ ।
शिवमायालाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनाउनेमा दुई अध्यक्ष लगभग सहमत भइसकेका छन् । तर यस बिषयमा शिवमायासँग भने दुई अध्यक्षले कुनै कुरा गरेका छैनन् । राष्ट्रियसभाको निर्वाचनपछि मन्त्री परिषद हेरफेर गर्ने र त्यही बेला उनलाई मन्त्री बनाउने तयारी गरिएको छ ।


