प्रधानमन्त्री ओलीलाई मृगौला दिन २ जना तयार, कसले दिदैछन् त ?
प्रधानमन्त्री ओली गत कात्तिक २४ गतेदेखि नियमित डायलासिस गराइरहेका छन् । उनका निजी चिकित्सक डाक्टर दिव्या सिंहको अनुसार प्रम ओली प्रत्यारोपणको लागि पूर्ण तयार हुन केही समय लाग्ने भएकाले प्रत्यारोपण ढिला भएको हो ।
प्रत्यारोपणका लागि उनका दुई आफन्त तयारी अवस्थामा रहे पनि प्रत्यारोपण कहाँ र कहिले गर्ने निर्णय भइसकेको छैन । प्रम ओली र उनलाई किड्नी दिने आफन्त चिकित्सकको नियमित निगरानीमा रहेको उनी सुनाउँछिन् । ‘कहाँ र कहिले प्रत्यारोपण गर्ने भन्ने टुंगो लाग्न बाँकी छ, उनी भन्छिन्, ‘नेपालमै गर्ने भन्ने पनि सल्लाह भइरहेको छ । तर, अहिले कुनै टुंगो लागेको छैन।’
दोस्रो प्रत्यारोपणको ढिलो हुदाँ के हुन्छ जटिलता ?
प्रत्यारोपण गर्ने व्यक्ति र उनलाई अंग दिने दाताको स्वास्थ्य अवस्थाले प्रत्यारोपणको जटिलता निर्धारण गर्ने चिकित्सकहरु बताउँछन् । उमेर, खानपान र शारीरिक सक्रियता अनुसार जटिलता फरक पर्न सक्छ।
अमेरिकाको नेशनल किड्नी फाउण्डेशनको विभिन्न अनुसन्धानले दोस्रो प्रत्यारोपणको जटिलता, मानिसको सक्रियता र प्रत्यारोपणपछिको बाँच्ने उमेर पहिलो प्रत्यारोपणसँग तुलना गरेको छ ।
यदि पहिलोपटक प्रत्यारोपण गरेको ५ वर्षभित्रमा दोस्रो प्रत्यारोपण गरिन्छ भन्ने त्यसको सफलताको दर उच्च हुन्छ । अझ किड्नी दिने व्यक्ति ४० वर्षभन्दा कम उमेरको छ भने जटिलता कम देखिन्छ । यद्यपि दोस्रो प्रत्यारोपण जति ढिलो गर्याे त्यति नै खतरा हुनेमा अधिकांश अनुसन्धानको उस्तै निष्कर्ष छ ।
समयमै गरिएको दोस्रो प्रत्यारोपणलाई पहिलोजस्तै जोखिमकै रुपमा लिनुपर्ने अवस्था छैन । ठीक समयमा गरिएको दोस्रो प्रत्यारोपणको सफलताको दर वर्षेनी बढ्ने क्रममा बढेको छ । प्रत्यारोपणका लागि किड्नी दिने र लिने व्यक्तिको स्वास्थ्य अवस्था र उमेरको अवस्था मिलेमा पहिलो र दोस्रो प्रत्यारोपणको जटिलता खासै फरक नहुने चिकित्सकहरु बताउँछन् ।
सामान्यतः पहिलो प्रत्यारोपण असफल भएको अवस्थामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिन्छ । यसैलाई आधार मानेर चिकित्सकहरुले भनेका छन् कि पहिलो प्रत्यारोपण असफल भयो भन्दै दोस्रो पनि असफल हुन्छ भन्ने हुँदैन । दोस्रो प्रत्यारोपण सफल हुने सम्भावना कायमै रहन्छ, तर त्यसको लागि प्रमुख शर्त भनेको पहिलो र दोस्रो प्रत्यारोपणवीचको समय अविधि हो ।
केही अनुसन्धानहरुले दोस्रो प्रत्यारोपणलाई उच्च जोखिमका रुपमा चित्रण गरेको छ । तर, ती अनुसन्धानहरुलाई नेशनल किड्नी फाउण्डेशनले परम्परागत अनुसन्धान भनेको छ । दोस्रो प्रत्यारोपण सफल भएका मानिसहरु धेरै रहेको बताउँदै उसले लेखेको छ, ‘हाम्रो अध्यनले दोस्रो प्रत्यारोपण पनि पहिलो झै सफल हुने देखाएको छ ।’
नेशनल किडनी फाउन्डेशनले थपेको छ, ‘पहिलो प्रत्यारोपण असफल भएर दोस्रो प्रत्यारोपण गराउनेहरु आत्तिनु पर्दैन । उनीहरु पहिलो प्रत्यारोपणझैं जिन्दगीको आशा गरेर अस्पताल पुग्न सक्छन्।’