फोटो खिच्न भए पनि जानै पर्ने रेस्टुरेन्ट हेर्नुहोस् !



 

 

हिरी मोहोडामै परम्परागत घर र साना गल्ली देखिन्छन्। गल्लीमा एउटा फल्चा (पाटी) छ, जहाँ जेष्ठ नागरिकहरू भलाकुसारी गरिरहेका भेटिन्छन्। पर डाँडामा स्तुप देखिन्छ।

यो काठमाडौं उपत्यकाको परम्परागत संरचना झल्काउने कुनै ठाउँ होइन, ललितपुर कुमारीपाटीको रेस्टुरेन्ट हो।

‘वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट’ का यी दृश्यका आडैमा बसेर फोटो खिच्नुहोस्, तपाईंलाई त्यहीँ पुगेजस्तो लाग्नेछ।

अचेलका होटल, रेस्टुरेन्टमा कलात्मक चित्र बनाएर ग्राहक आकर्षित गर्नु सामान्य भइसक्यो। ‘वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट’ का भित्तेचित्रको विशेषता भने फरक छ। झट्ट हेर्दा थाहा नपाऔंला, तर ती कलासँग घुलमिल हुनुहोस्, फोटो खिच्नुहोस्, विशेषता पत्ता लागिहाल्छ।

यी ‘थ्रिडी’ कला हुन्, जुन रेस्टुरेन्टको नामैले झल्काउँछ।

‘हामीले यहाँका भित्तामा जे काम गरेका छौं, फोटो खिच्दा त्यो ठाउँ पुगेर खिचेजस्तो भ्रम देखाउनु हाम्रो उद्देश्य हो,’ रेस्टुरेन्टका संस्थापक सुन्दर विष्टले भने।

तीनतले रेस्टुरेन्टका सबै कोठामा विशेष ‘थिम’ का थ्रिडी चित्र भेटिन्छन्।

सुन्दर हामीलाई रेस्टुरेन्ट घुमाउन अघि सरे।

घर, साना गल्ली र फल्चा कटेर अलि भित्र पस्दा बरन्डामा थ्रिडी पुल कुँदिएको छ। छेउमा खोला, पहाड अनि झर्ना।

भित्र पस्नेबत्तिकै हामी बारमा पुग्छौं। त्यहाँ ऐनाजस्तो छ, जहाँ भित्तामा बनाइएको बन्दीपुर प्रतिबिम्बित हुन्छ। पहिलो तलामा चार कोठा छन्– भान्सा, किड्स (केटाकेटीका निम्ति), पिस (शान्त) र बार लबी।

शान्त कोठामा गान्धी, बुद्ध लगायत ध्यान मुद्रामा देखिन्छन्। शान्त वातावरण मन पराउने ग्राहकलाई लक्ष्य गरेर त्यो कोठा तयार गरिएको हो। यहाँ प्रत्येक कोठाअनुसारको संगीत छ।

‘शान्त कोठा भनेर यहाँ हल्लै गर्न नपाइने भन्ने चाहिँ होइन है,’ यति भनेर उनी केटाकेटीको कोठातिर हिँडे। हामीले पछ्यायौं।

केटाकेटीको कोठामा भित्ताभरी कार्टुनका पात्र र खेलौना चित्र कुँदिएका छन्। यहाँ कुनै टेबल राखिएको छैन। पछि पनि नराखिने सुन्दर बताउँछन्। बरू खेल्ने सामग्री भने थप्ने योजना छ।

‘बार लबी’ धूम्रपान र मद्यपानका लागि उपयुक्त होला। त्यहाँ एउटा नेसभिल्लाको बोतल पनि छ। त्यहाँ बसेर तस्बिर लिँदा बोतलभित्रै मान्छे भएजस्तो देखिन्छ।

भान्सा कोठा खुला छ। ग्राहकले आफ्नो ‘अर्डर’ का खानेकुरा कसरी पाकिरहेको छ, प्रत्यक्ष देख्न पाउँछन्।

‘त्यसो हुँदा खाना बनाउँदाको सरसफाइ लगायत आँखैले नियाल्न पाउँछन्। आफूले कस्तो खानेकुरा खाँदैछु भन्ने जान्न पाउनु प्रत्येक ग्राहकको अधिकार हो,’ सुन्दरले भने।

सिँढीछेउका भित्तामा प्राचीनता झल्कने इँटा छन्। बीचमा थ्रिडी चित्र भइहाल्यो। हिँड्दै गर्दा बिरालोको चित्र देखिन्छ। हजुरआमाको पनि।

‘थ्रिडीको काम गरिरहेको बेला जापानका एक प्रोफेसरले यो ठाउँबारे थाहा पाउनुभएछ। उता बिरालो शुभको संकेत माानिने भएकाले कतै राख्दा हुने भन्नुभयो। अनि उहाँको सम्मान गर्दै बनाएको,’ सिँढी उक्लिँदै उनले भने, ‘हजुरआमाको काखमा बसेर खिच्दा उहाँसँगै रहेको महशुस हुन्छ।’

दोस्रो तलामा ‘आक्वा रुम’ डिजाइन गरिएको छ। सँगै ‘टाइटानिक रुम’। माथि छत र भुँइमा पानी कै डिजाइन छ। भित्तामा माछा, जलपरी लगायत चित्र। त्यहाँ पुग्दा पानीको बुलबुल आवाज सुन्नुहुन्छ।

अर्को कोठा ‘स्पेस रुम’ हो, ‘साइन्स फिक्सन’ मन पराउनेले यो कोठा छान्दा हुन्छ। संगीत पनि त्यस्तै हुँदा अकै संसार पुगेको जस्तो महशुस हुन्छ।

‘पछि यहाँको सिलिङमा छुट्टाछुट्टै भागमा बत्ती बाल्न मिल्ने बनाइनेछ,’ सुन्दरले भने।

अर्को कोठा ‘स्केरी रुम’ अर्थात् डरलाग्दो कोठा। कोठा छिर्नुअगाडि त्यहाँ रूखको ढोकाबाट छिर्नुपर्छ।

‘छिर्दाखेरि नै अलिकति असहजता होस् भनेर त्यस्तो बनाएको,’ उनले भने, ‘हामीकहाँ भूत, आत्माको विश्वास छ। त्यही भएर यस्तो थिम पनि राखेको। यहाँ बनाइएको भूतका चित्र आफैंमाथि आइरहेको हुन् कि भन्ने भ्रम हुन्छ।’

अर्को कोठा हो- सांगीतिक। नारायणगोपालदेखि लता मंगेश्कर र अन्जु पन्तसम्मका चित्रले भिरिएको। एउटा गितार छ, आउने ग्राहकले बजाउन सक्छन्।

‘पछि एलसिडी टिभी राख्छौं र मनपरेका गीतका शब्द त्यसमा हेर्न सकिन्छ। यो कोठामा गाउँदै बस्ने हो,’ सुन्दरले भने।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्