कर्मचारीको धम्कीले धम्किने मन्त्री किन कुर्सीमा बसिरहनुपर्‍यो –भोला पोखरेल



 

समायोजनका क्रममा खटाइएका ठाउँमा कर्मचारी गएनन् भन्ने मन्त्रीहरूको गुनासो छ । कर्मचारीले सरकारको निर्देशन किन पालना नगरेको हो ?

यो कुरा उठिरहेको छ । राज्य पुनःसंरचनाका क्रममा राजनीतिक पुनःसंरचनापछि प्रशासनिक पुनःसंरचना गर्ने र प्रशासनिक पुनःसंरचनालाई व्यवस्थापन गर्न मानव संसाधनको पनि पुनःसंरचना गर्नुपर्ने हुन्छ । त्यसपछि आर्थिक पुनःसंरचनाको कुरा आउँछ । यसमा पैसा विनियोजन गरेर माथिबाट तल पठाउने कुरा भयो । राजनीतिक पुनःसंरचना भनेको हिजो हामी एकात्मक शासन प्रणालीमा थियौं । आज हामी संघात्मक शासन प्रणालीमा गयौं । संघीयता व्यवस्थापन गर्न प्रशासनिक पुनःसंरचना पनि भयो । प्रशासनिक पुनःसंरचना भनेको मन्त्रालय माथिदेखि स्थानीय तहसम्म कर्मचारी पुर्याउनुपर्ने रहन्छ । प्रशासनिक कामकारबाही चलाउन कर्मचारी प्रशासन हिजो केन्द्रीय तहमा ठूलो संख्यामा थियो । यसलाई विनियोजन गरेर प्रदेश र स्थानीय तहमा पनि पठाउने भन्ने कुरा नै समायोजन हो । संविधानको धारा ३०२ ले कर्मचारीलाई समायोजन गरिनेछ भनेरै व्यवस्थापन गरेको हो ।

 

कर्मचारी पठाएका ठाउँमा किन गएनन् भन्ने सन्दर्भमा हामीसँग कति कर्मचारी छन् भन्ने हेर्नुपर्छ । निजामती कर्मचारी ७२ हजार हाराहारी छन् । स्थानीय तहमा १७ हजार । ७२ र १७ हजारले ८९ हजार । विकास आयोजनाका २–३ हजार छन् । ९१–९२ हजार कर्मचारी हामीसँग छन् । यी कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने भयो । १ लाख ३८ हजार दरबन्दी ओएनएम गरियो । माथिका कर्मचारी तल गएका छन् । तलका कर्मचारी तलै छन् । दरबन्दी हेर्दा अझै ४६ हजार कर्मचारी अपुग छ । यही कारण कर्मचारी तलकाले पनि आएनन् भन्ने, माथिकाले पनि कता पठायौ ? कता गए भन्ने अवस्था रह्यो । किनभने कुर्सीचाहिँ छ । त्यो पाँचवटा कुर्सी भएको ठाउँमा त एउटा कर्मचारी पुगेपछि चारवटा त खाली भए । त्यहाँ कर्मचारी पुगेनन् । किनभने, कुर्सी त हामीले पाँचवटा तयार गरेको हो । त्यसैले कर्मचारी स्थानीय तहमा काम गरेनन् भन्नेमा चाहिँ मेरो प्रतिप्रश्न छ– स्थानीय तह वा प्रदेशमा कर्मचारी जिम्मेवार छन् । हिजो द्वन्द्वकालमा सत्ता पक्षका कार्यकर्ता नपुगेका ठाउँमा कर्मचारी पुगेका छन् । त्यसैले जीवनलाई जोखिममा राखेर काम गर्ने कर्मचारी हो कि होइन ? कर्मचारी गएनन् भन्ने कुरा ठीक होइन ।

.

कतिपय कर्मचारी सिंहदरबार छाड्नै मान्दैनन् भन्ने पनि सुनिन्छ नि !

उपसचिव, सहसचिव र सचिवले सिंहदरबार छाड्न मान्दैनन् । अन्य कर्मचारीले होइन । उहाँ ठूलाबडाहरूले नमानेका कारण यस्तो गुनासो आएको होला । स्थानीय तहका प्रमुख प्रकाशकीय अधिकृत, प्रदेशको सचिव केन्द्रबाट पठाउने र एउटा मन्त्रालयमा चार जना सचिव राख्ने काम भयो ।

जुन नीति ल्याइयो त्यसमै त्रुटि थियो । शाखा अधिकृत, नासु, खरिदार गएनन् भन्ने प्रश्न रहेन । सचिवहरू जानै मानेनन् भन्ने हुनुपर्ने हो । यो प्रश्न अलिक मिलेन कि ! ३०–३५ जना सचिव गएनन् भन्दैमा स्थानीय तह र प्रदेशमा रात–दिन काम गरिरहेका कर्मचारीलाई यस्तो आरोप लगाउन मिल्दैन । सचिव मात्रै हुन्, अन्य कर्मचारी सिंहदरबार छाडेरै गाउँ–गाउँमा पुगेका छन् ।

 

कर्मचारी एकै कार्यालयमा २४ वर्षसम्म बसिरहेका छन् । यो कसरी सम्भव भयो ?

यो अवस्था अझै छ । २०६६ सालमा निजामती सेवा ऐनले मापदण्ड बनाउने भनेको थियो । एउटा मान्छे एउटा अड्डामा बसिरहे अनियमितता हुन्छ भन्ने तर्कसँग म सहमत छु । मालपोतमा एउटै बस्नु हुँदैन । गृहमा एउटै बस्नु हँुदैन । हुलाकमा पनि एउटै बस्नु हुँदैन । एउटा मान्छे एउटै अड्डामा, एउटै कुर्सीमा बसिहरनु हुँदैन । त्यो स्थानीय तहमा होस् या प्रदेशमा, कर्मचारीको सरुवा भइरहनुपर्छ ।

दुई या तीन वर्ष कति बस्ने हो । लामो समय को बसेका छन् ? सरकारले पीआईएस हेर्नुपर्छ । एउटै मन्त्रालय वा कार्यालयमा लगातार बसिरहेको छ भने त्यसलाई निकालेर अर्को ठाउँमा पठाउनुपर्छ । अरू कर्मचारीलाई पनि त्यो कार्यालयको अनुभव दिनुपर्छ । खटिएर काम गर्ने कर्मचारीलाई सरकारले सेवासुविधामा वृद्धि पनि गर्नुपर्छ । गाउँ–गाउँमा घामपानी र चिसो नभनी खटिने कर्मचारीलाई हेर्दै नहेर्ने अनि काठमाडौंमा बसेर सुविधा लिनेहरूलाई मस्ती गर्न दिने परिपाटी छ ।

स्थानीय तहमा खटिने कर्मचारीलाई सेवासुविधा दिइएको छ्रैन । त्यो भनेको सरकारले कर्मचारीबीच गरेको पूर्वाग्रह हो । त्यसमाथि खटिरहेका कर्मचारीलाई गाउँमा गएनन्, काम गरेनन् भन्ने अनि सिंहरबारको चौघेराबाहिर नजानेले यस्ता कुरा भनेपछि उहाँहरूले माथि फर्केर थुकिरहनुभएको छ । त्यो थुक आफ्नो नाकमा झरिरहेको छ ।

 

कर्मचारीले मन्त्रीलाई धम्कीसम्म दिन्छन् भन्ने चर्चा छ नि !

यो कुरा मलाई थाहा छै्न । कर्मचारीले धम्की दिँदा धम्किने मन्त्री किन बसिरहनुपर्यो कुर्सीमा । कर लगाएको छ र ? छैन नि ! कर्मचारीलाई मोटिभेसन गर्ने हो मन्त्रीले । कसले धम्क्यायो भन्ने कुरा आउनुपर्यो नि । किन धम्क्यायो भन्ने कुरा पनि आउनुपर्यो । कानुन हातमा लिन पाइँदैन । मन्त्रीज्यूले पनि लिन पाउँदैन । कुनै कर्मचारीले पनि लिन पाउँदैन । कोही पनि नागरिकले कानुन हातमा लिन पाउँदैन । कानुन हातमा लिएर कानुनको मालिक म हुँ भन्न मिल्दैन ।

 

सरकार कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच जहिले नि द्वन्द्व किन ?

कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व दुईवटा आआफ्नो शक्ति हो । एउटा ‘इलेक्सन’ र अर्को ‘सेलेक्सन’बाट आएको हो । राजनीतिक सरकार र कर्मचारी सरकार दुईवटा माध्यमबाट पुगेका शक्ति हुन् । ‘इलेक्सन’ भएकाले मलाई चाहिँ जनताले पठाएको हो, यो सेलेक्सन केही होइन भन्ने हुन्छ । सेलेक्सनले मेरेटोक्रेसीलाई हेरेको हुन्छ । त्यसैले आआफ्नो ठाउँमा दम्भ देखिन्छ । एकले अर्कोलाई हेप्न खोज्ने होइन । दुवै पक्ष मिलेर काम गर्नुपर्छ । तर, यहाँ नमिलेर द्वन्द्व चलिरहेको छ । एकले अर्कोलाई हेप्ने र दमन गर्ने कार्य भइरहेको छ । नेताले कर्मचारी चलाउन खोज्ने र कर्मचारीले राजनीतिक सरकार चलाउन खोजेपछि द्वन्द्व भइरहेको छ ।

 

नियम पालना नगर्ने राजनीतिक सरकार छ, जो त्यसलाई जनताले छान्ने बेला गलत गरेका रहेछन् भन्ने हो । मुख्य कुरो शासन चलाउने भनेकै राजनीतिक सरकारले हो । शासन चलाउने राजनीतिक नेताहरूले बाँचुन्जेल होइन आवधिक रूपले हो । कहिलेकाहीं राजनीतिक नेताहरूमा के देखिन्छ भने अब यो शासन यो सत्ता मेरा लागि मात्रै हो । मेरा लागि मात्रै बनाइदिएको हो । कुरा कुर्सीमा गएर बसेपछि देखिन्छ नि ! त्यो कुरा देखिसकेपछि त्यहाँनिर मात्रै होइन, सबै ठाउँमा द्वन्द्व देखिन्छ । कतिपय पार्टीमा द्वन्द्व देखिने गरेको छ । यस्तो द्वन्द्व कुनै पनि ठाउँमा हुुनुहुँदैन । यसले दुइटै शक्ति कमजोर हुन्छन् । राज्य कमजोर हुन्छ । त्यसैले हामीले भन्दै आएको दुवै शक्तिलाई स्पष्ट रूपमा अधिकार छुट्याउनुपर्छ । कर्मचारीले कहाँसम्म जाने ? राजनीतिक सरकारले कहाँसम्म जाने ? के–के काम ककसले गर्ने हो भन्ने छुट्याएर एकले अर्कोलाई हेप्ने र दबाब दिने कुराको अन्त्य गर्नुपर्छ ।

राजनीतिक नेतृत्वले कर्मचारीलाई दासका रूपमा हेर्ने प्रवृत्ति छ । कर्मचारी कसैको दास होइन । कर्मचारीले कर्मचारीतन्त्रका ऐन, नियम, काम, कर्तव्य र अधिकारबारेमा मन्त्रीहरूलाई स्पष्ट रूपमा भन्ने काम गर्नुपर्छ । कतिपय माथिल्लो स्तरका कर्मचारी मन्त्रीहरूको दास भएर राजनीतिक नियुक्ति खान पाइएला भन्ने मानसिकता बोकेर द्वन्द्व निम्त्याउने काम गरिरहेका छन् । यस्ता थुप्रै समस्याबाट माथि उठी सबै पक्ष मिलेर अगाडि बढ्न तथा सबल र समृद्ध राज्य निर्माणमा लाग्न आवश्यक छ ।

 

राणा शासन ढल्यो, प्रजातन्त्र आयो । कर्मचारी परिवर्तन नहुँदा राजनीतिक उपलब्धि टिकेन । पञ्चायत गयो, बहुदलदेखि गणतन्त्र आयो, कर्मचारी पुरानै भए । अहिले संविधान कार्यान्वयनमा पनि कर्मचारी नै बाधक भए भन्ने छ । यस्तै हो र ?

यो कुरा केही समयअघि एक जना पूर्वप्रधानमन्त्रीले कतै भनेको समाचार मैले सुनेको र पढेको थिएँ । उहाँले कुन प्रसंगमा कसरी कुरा उठाउनुभो, म त्यतातिर जान चाहन्नँ । उहाँले उठाएको कुराको खण्डन गर्न पनि चाहन्नँ । कर्मचारीतन्त्रले कहिलेकाहीं सरकारलाई असहयोग गरेका उदाहरण छन् । टे«ड युनियनले असहयोग गर्यो । जति बेला राजा ज्ञानेन्द्र शाह सत्तामा थिए त्यति बेला राजनीतिक दलहरू आन्दोलनमा थिए । राजाले चुनाव घोषणा गरे ।

 

निर्वाचनमा असहयोग गर्छौं भनेर हामीले ट्रेड युनियनका तर्फबाट आह्वान गर्यौं । हामी निर्वाचनका कार्यक्रममा सहभागी भएनौं । त्यो निर्वाचनमा कोही पनि नखटिने र नजाने भनेर सबैलाई निर्देशन दियांै । तलदेखि माथिसम्मका कुनै कर्मचारी पनि निर्वाचनमा खटिएनन् । राज्यले घोषणा गरेको निर्वाचन थियो त्यो । तर, त्यसले जनताको पक्षमा परिणाम ल्याउन सक्दैनथ्यो भन्ने हो । ठूलो संख्यामा राजनीतिक दलहरू पनि असहयोग गर्दै आन्दोलन गरिरहेका थिए । हामी पनि त्यसमा सहभागी भयौं ।

२०४७ सालमा पनि पञ्चायतविरुद्ध आन्दोलनमा गयौं । त्यो हेर्ने हो भने कि हामीलाई दुरुपयोग गरियो भन्नुपर्यो । त्यति खेर कर्मचारीलाई दुरुपयोग गरियो भनेर घोषणा गर्नुपर्यो । होइन भने कर्मचारीले त्यसबाहेक संविधान पालना नगर्ने भनेका छैनन् । लोकतन्त्र, नागरिक अधिकारलाई संरक्षण गर्छु म, त्यो लोकतन्त्रलाई प्रवद्र्धन गर भनेर शासकहरूको ध्यानाकर्षण गर्न हामी आन्दोलनको मोर्चामा सहभागी भयौं । त्यति खेर हामी राजनीतिक हिसाबले कांग्रेस–कम्युनिस्टले सञ्चालन गरेको नागरिक आन्दोलनमा लाग्यांै । र त गणतन्त्र आयो । पहिले लोकतन्त्र पनि त्यसरी नै आयो ।

 

सिंहदरबारका कर्मचारी परिचयपत्र फुकालेर गएका थिए । हरेक चोटि आन्दोलनको मोर्चामा कर्मचारी सहभागी भए ।
नेपालको प्रशासनिक इतिहास हेर्ने हो भने सरकारी कर्मचारीले नागरिक हक, नागरिक प्रशासन निर्माणका लागि ज्यानको कुर्वानी गरेका छन् । कृष्णलालले ज्यान त्यागे । मनोज झपेन्द्रले ज्यान त्याग्नुभयो । सुरेन्द्र विश्वकर्माले ज्यान त्यागे । थुप्रै कर्मचारीले जनजीविका, नागरिक प्रशासन निर्माण, लोकतन्त्र निर्माणका लागि, देशमा निजामती कर्मचारीमा देखिएको भ्रष्टाचार, अनियमितता, विकृति अन्त्य गर्नका लागि जीवनको कुर्वानी गरेका छन् । त्योे कुर्वानी त्यति खेरको कानुन नमानेको भन्ने तरिकाले संविधान नै कार्यान्वयनमा असहयोग गरियो भन्नु एकदम गलत छ । यस्ता अभिव्यक्ति जिम्मेवार व्यक्तिबाट दिइनु शोभनीय हँुदैन ।

 

अर्को कुरा उहाँहरूले कसरी अध्ययन गरिराख्नुभएको छ भन्ने पनि हो । राजनीतिक नेतृत्वले परिचालन गर्नका लागि कर्मचारी प्रशासन मोटिभेसन फ्याक्टर हो । कर्मचारी प्रशासनलाई जति मोटिभेसन गर्न सकिन्छ त्यति राज्यले उत्पादनशील काम गर्न सक्छ । कर्मचारीलाई आकर्षण गर्न सकिएन भने राज्यले सफलता हासिल गर्न सक्दैन । त्यसैले सबै दोष कर्मचारीकै हो भन्ने निष्कर्षमा पुग्ने हो भनेदेखि राज्यले अहिले घोषणा गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई हामीले सार्थकतामा पुर्याउन सक्दैनौं ।

राज्यका घोषित नीतिहरू सफल हुन सक्दैनन् । राज्यका घोषित कार्यक्रमहरू, जनताका इच्छाआकांक्षा राज्यले पूर्ति गर्न नसक्दाको अवस्था भनेको २०४६ सालमा पनि त प्रजातन्त्र आएको थियो नि ! २०५२ सालमा हामीले धोका पायांै । त्यसपछि ठूलो विद्रोहको सामना गर्नुपर्यो देशले । हो त्यस्तै विद्रोहको सामना गर्नुपर्ने दिन पनि आउन सक्छ । त्यसैले कर्मचारीतन्त्रविरुद्ध उत्रिनु भनेको गलत हो ।

 

संघीयता कार्यान्वयनमा कर्मचारी बाधक छैनन् भन्ने हो तपाईको भनाइ ?

कसरी कर्मचारी बाधक भए ? सरकारले जहाँ खटाउँछ त्यहाँ गएको छ । हाजिर गराउँदैनन्, कर्मचारी फर्केर आएको छ । वैशाख–जेठदेखि कर्मचारीले तलब खान पाएका छैनन् । एक/एक वर्षदखि तलब नखाएर काम गरिराखेका छन् । भोको पेटले काम गरेर कति रिजल्ट ल्याउन सकिन्छ र ! अनि कर्मचारीलाई दोष लगाउने ? मैले गलत ढंगले कर्मचारीलाई खटाइरहेको छु भने उसले सोच्नुपर्यो कि परेन ?

 

संविधानले दिएका अधिकार पनि केन्द्रतिर तान्ने काममा कर्मचारी लागेको भन्ने अर्को आरोप छ नि !

कुन अधिकार तानेको छ त कर्मचारीले ? म अर्को प्रश्न गर्न चाहन्छु– सचिव या महानिर्देशकको तहमा निर्णय भएर स्थानीय तह वा प्रदेशमा दिइएका कुन अधिकारलाई माथि तानियो ? त्यो कुरा प्रस्ट भन्न सक्नुपर्यो नि उहाँहरूले । आवेगमा आएर भन्न मिल्दैन । कुन निर्णय कुन तहको कर्मचारीले गरेर तलको निर्णयलाई माथि ल्याइयो त ? त्यसको प्रमाण देखाउनुपरेन ? प्रमाणबिना हावाको तालमा कर्मचारीले यस्तो गरे, यस्तो गरेनन् भनेर भन्न मिल्दैन । यस्तो अभिव्यक्ति दिने काम कोही कसैबाट नहोस् ।

 

स्थानीय तह र प्रदेशमा समायोजन भई गएका कर्मचारीले केही दिनअघि लोकसेवाले गरेको अधिकृतको विज्ञापनमा हामीलाई समावेश गर्नुपर्छ, नभए हामी आन्दोलन गर्छौं भने । किन यस्तो ?

उहाँहरूको माग जायज छ । सरकारले कर्मचारी समायोजन त्रुटिपूर्ण तरिकाले गरेको छ । त्यति खेरको अवस्थामा भएका दरबन्दीमा कर्मचारीले रोजर माथि या तल बस्न पाउने अधिकार थियो । संघमा दरबन्दी छैन भनेर कर्मचारीलाई स्थानीय र प्रदेशमा पठाइयो । संघमा अहिले १ हजारभन्दा बढी कर्मचारी कसरी खाली भयो ? त्यसैले प्रस्टसँग यो सरकार कर्मचारीप्रति पूर्वाग्रही छ ।

यो तरिकाले मूलतः शाखा अधिकृतभन्दा तलका कर्मचारीसँग सरकार पूर्वाग्रही भयो । ट्रेड युनियनको अधिकार प्रयोग गर्ने ठाउँका कर्मचारीसँग पूर्वाग्रही छ । ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति र अहिले अधिकृतको विज्ञापनको कुरा ठ्याक्कै मेल खान्छ । त्यसैले हिजो समायोजन गर्दा रिटायर्ड भएका कर्मचारीलाई उहाँहरूले संघमा राख्नुभएको छ । रिटायर्ड भएका कर्मचारीलाई संघमा राख्ने अधिकार कसले दियो उहाँहरूलाई ? काम गर्ने कर्मचारीलाई जबर्जस्ती स्थानीय तह र प्रदेशमा पठाउने काम पनि उहाँहरूले नै गर्नुभएको छ ।

 

हामीले एक तह प्रमोसन गरे कर्मचारी तल जान्छन् भनेका थियौं । तर, उहाँहरूले मनोमानी गरेर के गर्नुभयो भन्ने अहिले पनि देखिराखेको छ नि ! समायोजनका बेला कर्मचारीलाई किन दरबन्दी लुकाएर स्थानीय तह र प्रदेशमा पठाइयो त ? यसको उत्तर उहाँहरूले दिनुपर्छ । त्यसमा गल्ती भएको छ नि ! तल गएका कर्मचारीले हाजिर गर्न पाएका छैनन् । बिनादरबन्दी कर्मचारी पठाइएको छ । माथि चाहिँ दरबन्दी खाली राखिएको छ । त्यसपछि गुनासो सुनुवाइको नाटक गरिएको छ । गुनासो सुनुवाइमा शाखा अधिकृतकै कुरा भन्ने हो भने ७५ जना रिटायर्ड भएका कर्मचारी उहाँहरूले समायोजन गरिदिनुभयो ।

 

कानुनमा भनिएको छ, कम अवधिका कर्मचारीले रोज्नुपर्दैन । तर त्योभन्दा बढी अवधि भएका कर्मचारी रोज्नुपर्ने भनेको छ । त्योभन्दा बढी भएका कर्मचारीले रोजेनन् भने स्थानीय तहमा पठाउने भनेको छ । तर, समायोजन गर्ने क्रममा उहाँहरुले के गर्नुभयो भने सफ्टवेयरको नाटक देखाएर एक वर्षभन्दा बढी भएका कर्मचारीलाई फारम नभराएर उहाँहरूले संघमा राख्नुभएको छ ।

यो गुनासो कसले छानबिन गर्ने हो ? कसले बुझ्ने हो ? कुरा कसले सुन्ने ? न प्रधानमन्त्रीले सुन्नुहुन्छ न मन्त्री सुन्नुहुन्छ । उहाँहरू कर्मचारीलाई घोक्र्याउनुहुन्छ । यस्ता गतिविधि उहाँहरूले बन्द गरी कर्मचारीलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ । यस्तो द्वन्द्व समाधान गर्ने उपाय के छ भने अब कर्मचारीलाई गालीगलोज गर्ने काम शासकले छाड्नुपर्छ । शासक भनेका मन्त्री र सचिवहरू हुन् । उहाँहरू झन्डा हल्लाउनुहुन्छ, गाडी चढ्नुहुन्छ, तलका कर्मचारीलाई धम्काउने काम गर्नुहुन्छ । काम पनि गरिराखेको छ गाली पनि उनीहरूले खाने ? यस्तो सह्य हुन सक्दैन ।

अब संघीय निजामती सेवा ऐन आउँदै छ । कर्मचारीले खाइपाइ आएका कुरा भनेको हिजोको कानुनमा करार हो । त्यसलाई बिनापूर्वाग्रह सेवासुविधा दिनुपर्छ । कर्मचारीलाई पेन्सन नदिने, कर्मचारीलाई दसंै खर्च नदिने, कर्मचारीलाई थप सेवासुविधा नदिने भन्ने अभिव्यक्ति उहाँहरूले फिर्ता लिनुपर्छ ।

अहिले जे नहुनुपर्ने हो, त्यही भइरहेको छ । यी सबै कुरा समाधानका लागि कि कर्मचारीसँग टेबलमा बसेर चित्त बुझाउनुपर्यो कि उहाँहरू आफू चित्त बुझ्ने ठाउँमा आउनुपर्यो । अहिलेका सामान्य प्रशासनमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । हेरौं कस्तो हुन्छ ! कर्मचारीमाथि धारे हातै लगाउनुपर्ने अवस्था बन्यो भने मैले पनि त तपाईंलाई धारे हातै लगाउनुप¥यो नि त !

 

एसिया प्यासिफिक क्षेत्रको पब्लिक सर्भिस एलाइटको इन्चार्ज हुनुभयो । यो कस्तो संस्था हो ? नेपालका कर्मचारी र देशलाई यसले के फाइदा हुन्छ ?

यसको नाम ट्रेड युनियन इन्टरनेसनल पब्लिक सर्भिस एन्ड एलाइट हो । कर्मचारीका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । विभिन्न देशका संस्थाको साझा संगठन हो । यसको माउ संगठन भनेको विश्व ट्रेड युनियन महासंघ हो । यस संस्थाले सरकारी कर्मचारीलाई संगठित गर्दै आएको थियो । पछि आईएओको स्थापना भयो । त्यसअघि स्थापना भएको हो विश्व ट्रेड युनियन महासंघ । त्यो आईएओमा पनि यसले आफ्ना नीतिनियमलाई इन्टरभेन्सन गर्यो ।

 

नेपालमा पनि हामीले २०४८ सालको कर्मचारी आन्दोलनपछि अन्तर्राष्ट्रिय सम्बन्ध खोज्न थाल्यौं । त्यति खेरको लिडरसिप विश्वनाथ प्याकुरेल, सीताराम नेपाललाई सम्झिन्छु । उहाँहरूको नेतृत्वमा भारतको ट्रेड युनियनसँग सम्पर्क गरेका थियौं । भारतमा अल इन्डिया स्टेट गभरनेन्स इम्प्लाइज फेडेरेसन भन्ने संस्था थियो । त्यसको महासचिवसँग सम्पर्क भएर उहाँले हामीलाई अन्तर्राष्ट्रिय सम्पर्कमा ल्याउनुभयो । त्यसरी हामी जोडिन सफल भयौं ।

 

त्यसपछि हामी चौधौं अधिवेशसम्म आइपुग्दा सार्क फोरम गठन गर्ने भनेर सार्क रिजनमा एउटा सरकारी कर्मचारीको एउटा संगठन बनाऔं भन्ने कुरा पोखरामा घोषणा पनि गर्यांै । त्यसपछि हामीले टीयूवाईको सदस्यता पनि लियांै । दसौं कांग्रेसमा हामीले भाग लियौं । नेपालको निजामती कर्मचारी संगठनले ११ आंै सम्मेलनमा भाग लिएन । १२ औं सम्मेलनमा आइपुग्दा हामीले लेवी पनि तिरेनछौ । झन्डै चार वर्ष हाम्रो सम्पर्क गुमेको अवस्था थियो । विश्वास दिलाउन मलाई एक वर्षजति लाग्यो । ।

 

लामो अभ्यासपछि नेपालमा १२ औं सम्मेलन भयो । त्यसमा नेपाललाई उपाध्यक्ष दिने वातावरण बन्यो । बैंक, बिमा क्षेत्रमा काम गर्ने छुट्टै टे«ड युनियन बनाउने निर्णय गरियो । नेपालका शिक्षकको पनि प्रतिनिधित्व भएको छ । भारतमा हालै सम्पन्न सम्मेलनमा सहभागी भएर शिक्षक आएका छन् । पेन्सनवालाको छुट्टै संगठन बन्यो । त्यसमा नेपालका कर्मचारीको पनि प्रतिनिधित्व छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्