दशगजामा भारतीयले चौकी बनाए, नेपाल सरकार बेखबर



हाम्रो इकोनोमि

 

 

 

सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नियमविपरीत स्थापना गरेको हो । भारतको उत्तर प्रदेश र विहारसँग जिल्लाको सीमा जोडिएको छ ।

पाल्हीनन्दन गाउँपालिका–५ को चिमनटोलादेखि सुस्तासम्म दशगजा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दशगजा क्षेत्रमा सुरक्षा पोस्ट निर्माण गरेको बताए । त्यसबारे सम्बन्धित निकायलाई कूटनीतिक रूपमा जानकारी गराउने बताए । ‘अधिकांश स्थानमा दुवै पक्षबाट पालना गर्नुपर्ने नियम पूरा भएको छ,’ उनले भने, ‘एकरदुई स्थानमा दशगजा छुने गरेर अस्थायी पोस्ट भएको भेटिएपछि तत्काल हटाउन भनिएको छ ।’

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । भारततर्फ भने एसएसबीका १० भन्दा बढी पोस्ट छन् । सीमा क्षेत्रमा बीओपी कम भएपछि अहिले पाल्हीनन्दन गाउँपालिकाको गेर्मीमा अर्को पोस्ट स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरी बल पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए । त्यसपछि भुजहवामा राख्ने गरी जिल्लास्थित सुरक्षा समितिबाट प्रस्ताव गरी पठाइएको छ । जिल्लास्थित सुरक्षा अधिकारीको संयुक्त अनुगमन टोलीले दशगजा क्षेत्रमा निर्माण गरिएका केही सीमास्तम्भ (पिलर) हरूको रङरोगन मेटिएको अवस्थामा पाएको छ । केही स्तम्भका नम्बर मेटिएको छ ।

सीमा क्षेत्रमा १३ वटा प्रमुख र तीवटा सहायक गरी १६ वटा सीमास्तम्भ छन् । सनहीदेखि कुडियासम्म ती स्तम्भ छन् । सीमास्तम्भको मर्मत सम्भार दुवै देशले गर्नुपर्ने प्रावधान छ । सुस्ताको २४ किमि क्षेत्रमा सीमास्तम्भ छैन । सीमास्तम्भ नभएका ठाउँमा खोला, रूख वा अन्य जैविक सीमाको भर पर्नुपरेको छ । त्यसले गर्दा जोतभोगका विषयमा सीमावर्ती क्षेत्रका बासिन्दाबीच पटक–पटक विवाद हुने गरेको छ ।

सीमा छुट्याउनै हम्मे

बाँकेको नरैनापुर गाउँपालिकाको हुलासपुर्वा गाउँपारि भारतीय बजार छ । त्यहीँ नेपाल–भारत सीमा छुट्याउने दशगजा छ । दशगजामै बस्ती छ । वारिपारि दुवैतर्फका बासिन्दाले बसोबास गर्नै नमिल्ने जग्गामा घरटहरा हालेका छन् । बस्ती बाक्लिँदै गएपछि अहिले उक्त क्षेत्रमा दुई देशबीचको सीमा छुट्याउन हम्मे पर्छ ।

नेपाली भूमिमा आएका भारतीयहरू घाम अस्ताएपछि घाँस–दाउरा, वस्तुभाउसँगै फर्कन्छन् । यहाँको बस्तीले गर्दा दुई मुलुकका सीमा प्रष्ट छुट्टिंदैनन् । नरैनापुरकी सबानो शेख चार वर्षअघि भारतीय बुहारी भएर भित्रिइन् । अहिले डेढ वर्षकी छोरी हुर्काइरहेकी छन् । उनलाई कहिल्यै नेपाल छाडेर आएजस्तो लाग्दैन । आँगन पार गर्नासाथ नेपाल टेकिन्छ । पाँच मिनेटको दूरीमा रहेको माइती पुगेर न्यास्रो मेटाउँछिन् । ‘दिनमा एकपटक माइती पुग्छु,’ उनले भनिन्, ‘परदेशमा बिहे भए पनि नेपालमै छु जस्तो लाग्छ ।’ स्थानीय नौसाद अलि शेख भारतमा काम गर्छन् । फुर्सदमा सीमावारि नेपालगन्ज आउँछन् । ‘हामी दैनिक नेपाल आवतजावत गर्छौं,’ उनले भने, ‘साथीभाइ, इष्टमित्र सबै यतै छन् ।’

अधिकांश दशगजामा बसोबास गरिरहेकाहरू कुन मुलुकका हुन्, पत्ता लगाउन मुस्किल पर्छ । स्थानीय ५५ वर्षीय इलियास शेख पुस्तौंदेखि दशगजामा बस्छन् । सीमास्तम्भले मात्र भूमि छुट्याउँछ । भारतमा भन्दा नेपालमा उनका नातेदार बढी छन् । ‘नेपालतर्फ बढी आवतजावत हुन्छ,’ उनले भने । यहाँ भारतीय र नेपाली रुपैयाँ चल्छ । स्थानीयले दुवै मुलुकको मुद्रा साँचेर राख्ने गरेको बताए । ‘नेपालगन्जमा नभए बहराइचमा उपचार गर्न जान्छौं,’ उनले भने, ‘सामान्य बिरामी हुँदा नेपालगन्जमै सजिलो हुन्छ ।’ आफ्ना दुई छोरीको बिहे बाँकेको जमुनी र सोनवर्षामा भएको उनले बताए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजामा बस्ती बसाउन पाइँदैन । यहाँ भने सीमा क्षेत्रमा दुईतर्फी बस्ती छ । सीमा संवेदनशीलताबारे जानकारी नभएकाले घर बनाएको उनीहरूले बताए । ‘वर्षौंदेखि यहीं बसेका छौं । कसैले हट्न भनेका छैनन्,’ ककरदरीकी सहजादी शेखले भनिन् ।
जिल्लाका सीमावर्ती बासिन्दाले दशगजामा पशुचौपाया चराउनेदेखि माटो झिक्न खनेर खाल्डो बनाएका छन् । ‘सँगै जन्मिएर हुर्कियौं,’ बाँकेको हुलासपुर्वाका २९ वर्षीय रामानन्द यादवले भने, ‘देश फरक भए पनि एउटै परिवार जसरी बसेका छौं ।’ उनी भारतीय गाडी चढ्छन् । निर्वाध चलाउन पाइने भएकाले भारतीय गाडी प्रयोग गर्दै आएका हुन् । बिहे पनि भारतमा गरेका छन् । उनका बाबुको ससुराली पनि सीमापारि हो । ‘सबै काम उतै हुन्छ,’ यादवले भने, ‘सामान पनि सस्तो, जान पनि सजिलो ।’ नरैनापुर गाउँपालिकास्थित घोडादौडिहामा सीमामा टहरा बनाइएको छ । उनीहरू मिलेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...