उपसभामुख कांग्रेसले नपाउने, ओली-प्रचण्ड छलफलमा



हाम्रो इकोनोमि

 

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते आह्वान भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख चयनका लागि आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेबारे एक-दुई दिनमै सघन छलफल हुने भएको छ ।

नेकपा स्रोतका अनुसार सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय भइसकेको छ । नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुखलाई राजिनामा गराउन लागिएको पुष्टि गरे ।

तुम्बाहाम्फेले आफू सभामुख हुने निश्चित भएपछि मात्र राजिनामा दिने बताउँदै आएकी थिइन् । यद्यपि उनले सभामुख र उपसभामुख एकै दलको हुन नहुने संवैधानिक व्यवस्था आफूलाई थाहा भएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सबै प्रक्रिया मिलाएपछि निकास दिने बताइन् ।

प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्नुअघि नै उपसभामुखले राजिनामा दिने कि सभामुख निर्वाचनको कार्यक्रम बनाएर राजिनामा दिने भन्ने अझै टुंगो लागेको छैन । यद्यपि नेकपा स्रोतले भने पुस ४ गते संसद बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने र त्यसअघि नै उपसभामुखको राजिनामा आउने जनाएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर राजिनामा दिएपछि डेढ महिनादेखि सभामुख पद रिक्त छ । यसबीचमा विधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने काम उपसभामुख तुम्बाहाम्फेले गर्दै आएकी छन् ।

उनले गरेको सूचना आयोगका पदाधिकारी सिफारिसको निर्णय भने गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ । सभामुखले अध्यक्षता गर्ने बैठक उपसभामुखले गरेको भन्दै परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रतिनिधिसभाको बाँकी ३ वर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनमा कसलाई अघि बढाउने भन्ने बारेमा नेकपाभित्र औपचारिक छलफल नभएको महासचिव विष्णु पौडेलले बताएका छन् । उपसभामुखको राजिनामा आइसकेपछि नेकपाको बैठकमै यसबारेमा छलफल हुने नेताहरुको भनाइ छ ।

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ देखि बस्दैछ । त्यसअघि नै सभामुखमा कसलाई अघि सार्ने भन्नेबारे दुई अध्यक्षबीच छलफल हुने बताइएको छ । ओली र प्रचण्डले जसलाई सभामुख बनाउने सहमति गर्छन् उसकै नाम सम्भवतः सचिवालय र स्थायी कमिटी बैठकमा लगेर टुंगो लगाइने छ ।

सभामुखमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रमुख सचेतक देव गुरुङ र स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाम नेकपाभित्र चर्चामा छ । उपसभामुख तुम्बाहाम्फेलाई यसअघि नै प्रधानमन्त्रीले मन्त्री बन्न प्रस्ताव गरिसकेका छन् ।

प्रतिनिधिसभाको सभामुखमा पार्टीको स्थायी कमिटी तहकै नेतालाई पठाउने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा पहिलो बरियताका अध्यक्ष ओलीले सभामुखमा नेम्वाङलाई अघि सार्न खोजेका छन् । अबको संसद सञ्चालन झनै जटिल हुने भन्दै त्यसका लागि नेम्वाङ नै उपयुक्त पात्र रहेको ओली पक्षको भनाइ छ ।

उता अग्नि सापकोटाको लबिङ पनि निकै बलियो छ । अध्यक्ष प्रचण्डले सापकोटालाई अघि सार्ने अनुमान गरिएको छ । पछिल्लो समय सभामुखमा नेम्वाङ र सापकोटाका नाम दुई अध्यक्षबीच छलफलको एजेण्डा बन्ने सम्भावना छ । नेम्वाङले यसअघि आफू सभामुख नबन्ने प्रतिक्रिया दिँदा प्रधानमन्त्री ओलीले यसबारे बाहिर नबोल्न निर्देशन दिएका थिए ।

नेकपाका एक सचिवालय सदस्यले सभामुख कसलाई बनाउने भनेर पार्टीको स्थायी कमिटी बैठकमा छलफल नगराइने बताए । दुई अध्यक्षबीच समझदारी भएपछि त्यसैमा अघि बढ्ने पद्धति अनुरुप नै सभामुखको टुंगो ओली र प्रचण्डको छलफलबाटै लाग्ने उनको भनाइ छ । कतिपयले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउनेबेलै सभामुखको टुंगो लागिसकेको आशंका पनि गरेका छन् ।

यसैबीच नेकपाले उपसभामुख साना दललाई दिने भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसबाहेक आफ्नो सहयोगी दलबाट उपसभामुख चयन गर्ने नेकपाका एक नेताले बताए । उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत हुने भएकाले कांग्रेसलाई थप एक सदस्य दिन नचाहेको उनले प्रष्ट पारे ।

पुरुष सभामुख भएको अवस्थामा महिला उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको सम्भावना बढी रहेको नेकपा स्रोतले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावदेखि पछिल्लो उपचुनावमा समेत नेकपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएकाले उपसभामुख राजमोलाई दिने सम्भावना प्रवल छ ।

उपसभामुखमा सत्तारुढ समाजवादी पार्टीले पनि दावी गरेको छ । तर समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले सरकार र प्रधानमन्त्रीको सार्वजनिक रुपमै तीव्र आलोचना र आरोपहरु लगाउने गरेकाले ओली रुष्ट छन् ।

उपेन्द्र यादवलाई नै मन्त्रीबाट हटाउन लागेका प्रधानमन्त्रीले समाजवादीलाई उपसभामुख दिने सम्भावना नरहेको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...