वामदेवलाई प्रधानमन्त्री बनाउन प्रचण्डले चाले यस्तो खर्तनाक खेल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेव गौतम अहिले आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन् । त्यसो त बेलाबखत बेमौसमी र सार्वजनिक खपतका लागि चर्का कुरा गरेर चर्चामा आउने नेता गौतमको स्वभाव नै हो ।
राष्ट्रिय सभाको निर्वाचन नजिक आइरहेका बेला यसपटक नेता गौतमले आफू नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा आउन आग्रह गरेको सरकारी सञ्चार माध्यम रासससंगको अन्तर्वार्वामा बताएका छन् । उनको यो अन्तर्वार्तालाई विभिन्न अनलाइन र सामाजिक सञ्जालले महत्वका साथ प्रसारणसमेत गरेका छन् । तर, आफूचाहिं संविधान संशोधन गरी राष्ट्रिय सभाबाट समेत प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको खण्डमा मात्र राष्ट्रिय सभा सदस्यमा जाने उनको दाबी छ ।
नेता गौतमलाई प्रधानमन्त्री बनाउने गरी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत आश्वासन र सहयोग रहने नेता गौतमको दाबी रहेको छ । उनको यस अभिव्यक्तिलाई राजनीतिक क्षेत्र र बौद्धिक वर्गले बच्कनापन र हचुवा भनाइका रूपमा लिएको टिप्पणीहरू समेत यसबीचमा सार्वजनिक भएका छन् । स्वयम् उनका समर्थक र शुभचिन्तकहरूले समेत नेता गौतम यो भनाइ अवस्तुवादी र सामयिक नभएको तर्क गर्ने गरेका छन् ।
नेता गौतमको संघीय संसद्को यात्रा सहज नहुनुमा विभिन्न कारणहरू विद्यमान रहेका छन् । सर्वप्रथम त अहिलेको अवस्थामा नेपालको संविधान संशोधन हुने कुनै गुञ्जाइस नै छैन । अर्कोतर्फ नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीलगायतका संरचनामा नेता गौतमको झीनो हैसियत कायम छ । अर्थात् उनका समर्थकहरूको पंक्तिको वर्चस्व कम रहेको र पार्टीमा समूह आबद्धता (गुट) का हिसाबले पनि उनी कमजोर नै छन् ।
यसैगरी संसदीय दलमा समेत उनको कमजोर पकड छ । त्यसैगरी प्रधानमन्त्री आकांक्षीका रूपमा नेकपाका वरिष्ठ र जिम्मेवार नेताहरू नै संसद्मा निर्वाचित भएर आएका छन् । स्वयम् पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङजस्ता नेताहरू प्रतिनिनिधि सभामै रहेका छन् । र, यी सबै नेताहरूलाई नेकपाभित्र प्रधानमन्त्रीका लागि बलिया, सशक्त र योग्य दाबेदारका रूपमा समेत लिने गरिन्छ । यी विभिन्न कारणहरूले गर्दा अहिलेको अवस्थामा कुनै हिसाबले संघीय संसद्मा चुनिएर आए पनि नेता गौतमको प्रतिनिधि सभाको यस कार्यकालभरि प्रधानमन्त्री हुने सम्भावना झीनो मात्र देखिन्छ ।
तर, प्रधानमन्त्रीको दाबी गरेर आत्मरतिमा रमाउनुमै नेता गौतमको बानी नै हो कि भन्ने आशंकायुक्त टिप्पणी समेत यस सन्दर्भमा सुनिंदैछ यस्ता हल्का खालका अभिव्यक्तिले । जहाँसम्म कार्यकारी अधिकार पाएका प्रचण्डले नेता गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको भन्ने नेता गौतमको दलील छ, यसका पछाडि गौतमलाई साथ–सहयोग लिएर नेकपा चलाउँछु भन्ने प्रचण्ड–रणनीतिको उपज पनि हुन सक्छ । त्यसैले प्रचण्डले नेता गौतमको ‘कानमा गुलियो चिनी’ भरिदिएको पनि हुनसक्ने एकथरी विश्लेषकहरूको टिप्पणी रहेको छ ।
यसैगरी नेता गौतमले गत २०७४ सालको संघीय संसद्को निर्वाचनताका बर्दिया क्षेत्र नं. १ बाट उम्मेदवारी दिंदा वस्तुगत अवस्थाको कुनै विश्लेषण नै नगरी ‘आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको’ घोषणा समेत गरेका थिए । त्यसको असर निर्वाचन परिणाममा परेर देशव्यापी वामगठबन्धनका उम्मेदवारले विजय हासिल गरिरहेका बेला वामगठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता गौतमले नेपाली काँग्रेसका एक सामान्य स्थानीय नेता सञ्जय गौतमसंगै हार व्यहोर्नु प¥यो । यसलाई पनि वामदेवको हल्का र जिम्मेवारीपूर्ण बोध नभएको अभिव्यक्तिका रूपमा लिन सकिन्छ ।
यस्तो अभिव्यक्तिले नेता गौतमलाई हल्का र कमजोर मात्र सावित गरेको छैन, अपितु उनले आफ्नो राजनीतिक जीवनकै लागि अभीष्ट साँध्ने औजारका रूपमा रहेको मान्नेहरू पनि कतिपय नेकपामै छन् । आन्तरिक र बाह्य वातावरण अनुकूल नहुँदाहुँदै पनि नेता गौतमका यस्तो खाले अभिव्यक्तिले राजनीति, संगठन र कार्यकर्ताको तहमा नकारात्मकता मात्र सिर्जना गरेको छैन, यसले गर्दा उनी निरन्तर आरोलो यात्रामा लागिरहेको समेत प्रस्ट्याउँछ ।


