सुखानी काण्डमा यसरी बाँचेका थिए प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएको फागुन ३ गते एक वर्ष पूरा भएको छ । साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँच जना योद्धालाई तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । नेपाली इतिहासमा सुखानी काण्डका नामले अंकित त्यही घटनाको जगमा प्रधानमन्त्री ओलीको सत्तारोहण यात्रा तय भएको हो ।

 

सुखानी काण्ड भएको बेला ओली झापाको सचिवबाट केही दिनअघि मात्रै निवर्तमान भएर सीपी मैनाली सचिव भएका थिए । झापा कमिटीका पहिलो सचिव आरके मैनालीले ‘नलेखिएको इतिहास’ पुस्तकमा उल्लेख गरेअनुसार सुखानी घटनामा पर्नबाट ओली संयोगले जोगिएका थिए । उक्त पुस्तकको सुखानीका ती सहीद खण्डको रामनाथ दाहालको सन्दर्भमा मैनालीले लेखेको छन् – “ उन्नत सोचका धनी रामनाथ चारपाने गाविसको प्रधानपञ्चमा उठेर थोरै मत अन्तरले पराजित भएका थिए, २०२४ सालमा । त्यही भएर होला, उनी क्रान्तिकारी हुँदाहुँदै पनि खुला राजनीतिमा बढी विश्वास गर्थे ।

 

हामी भूमिगत भइसकेका थियौं । तर, रामनाथ खुलै थिए । २०२९ साल मंसिर २९ गते मैले रामनाथलाई चिठी पठाए, “तुरून्त भूमिगत हुनुहोस् ।” त्यसपछि बल्ल रामनाथ र केपीले स“गै घर छोडे । घर छाडेको केही दिनपछि परिवारको हालचाल बुझ्न एक दिन अपराह्नतिर रामनाथ र केपी दुवैजना घरनजिक निक्लिएछन् । परैबाट उनीहरूले रामनाथको घरमा छ्याप्छ्याप्ती प्रहरी देखेछन् । “घरमा प्रहरी किन आएका रहेछन् । म बुझेर आउ“छु । तिमी यहा“बाट उता जा“दै गर,” केपीलाई जोगाएर आफू भने घरतिर लागेछन् ।”

 

त्यसरी ओलीलाई जोगाएका रामनाथस“ग ओलीको पुनः भेट भएन । सुखानी काण्डपछि ओली र मोहनचन्द्र अधिकारी भागेर भारतको कानपुर पुगे र नेपाल फर्किदा रौतहटबाट गिरफ्तारीमा परी १४ वर्ष जेल जीवन भोगे । जेलमा समेत ओलीको जीवन बालबाल बचेको थियो । फागुन २१ को सन्दर्भमा उपयोगी हुने ठानेर पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक ‘नलेखिएको इतिहास’ पुस्तकको एक अंश:

 

केपीका कहानी

केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीबी रोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो बिरामीका लागि हामीसँग पौष्टिक आहारका नाममा उसिनेको चामल र गान्टे मुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी साह्रै स्वादे मान्छे । उनी जे पाक्छ त्यही नखाने ।

 

फर्माइसी गरेर आफ्नै स्वादमा बाँच्न खोज्थे । जेलका कठिन दिनहरूमा समेत उनलाई थोरै किन नहोस्, स्वादिलो तरकारी चाहिन्थ्यो । त्यो नहुँदा गाँसै अड्केला जस्तो गर्थे । जेलमा कहाँबाट यस्ता मीठा चिज पाइनु ? टीबी र अल्सरले सिकिस्त भएपनि खाना खान बस्दा कहिले खुर्सानी माग्थे, कहिले घ्यू लेउ भनेर हैरान पार्थे । सिद्धान्तसँग खाना खान सकिँदैन, स्वादसँग मात्र खान सकिन्छ भन्ने तर्क गर्थे ।

 

केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भए पनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथै मुन्टो बटार्थे । चुरोट पाए मात्रै पिउँथे । आफ्नो पारिवारिक/आर्थिक परिवेशविपरीत थियो, उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन् । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई–तीन गाँस बढी खान्थे । केपीको यही सोखलाई पूरा गर्न हामीले मेसबाट दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था गराएका थियौं । त्यति बेला गैंडा नामक चुरोट चल्तीमा थियो ।

उनी त्यो चुरोट बिहानको खानाअघि र बेलुकाको खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु, केपीलाई जेलमा अलिकति खुसी बनाउनुपर्र्यो भने एक खिल्ली चुरोट दिनुपथ्र्याे । अनि मात्रै खिसिक्क हाँस्थे । नत्र सधैं पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार बनाएर बस्थे ।उनलाई बिमारले उठ्नै नसक्ने हालतमा पुर्र्यायो । रोगले थलिएका केपीले खाना नखाएपछि जीउमा हड्डी र करङ मात्रै देखिन थाल्यो । स्थिति दिनानुदिन खराब बनेर उठ्नसमेत अरुको सहारा चाहिने भयो । त्यसपछि मैले बिरामी स्याहार्न मेरो ढोका खोली पाऊँ भनेर जेलरलाई दरखास्त हालें ।

 

 

धन्न जेलरले ढोका खोलिदियो । यसपछि मैले सिकिस्त भइसकेका केपीलाई स्याहारें । मैले केपीको शरीरमा नछोएको कुनै अंग छैन । दिसा गर्न जाँदा उनी आफ्ना कपडासमेत खोल्न नसक्ने अवस्थामा पुगेका थिए । मैले उनको अन्डरपाइन्ट खोलिदिने देखि दिसा धोइदिनेसम्म गरें । उनी दिसा आफैं धुन्छु त भन्थे तर हात कामेर मलद्वारामा पुर्र्याउनै नसक्ने भइसकेका थिए । मैले उनलाई नुहाइदिने देखि शरीरमा तेल घस्नेसम्म गरि दिएँ ।

 

कपटक हप्ता दिनसम्म लगातार बाडुली लागे पछि केपीको मुखबाट ह्वालह्वाली रगत आयो । केन्द्रीय कारागार अस्पतालका डा. पुष्कल भारतीले तुरून्तै औषधि दिएर निको पारिदिए । जेलमा छँदा मलाई घरबाट महिनामा दुई/तीन सय रूपैयाँ आउँथ्यो । पैसा आउन कहिले काहीँ तीन महिना पनि लाग्थ्यो । नारद वाग्ले र नरेश खरेलको घरबाट पनि फाट्टफुट्ट केही रूपैयाँ आइरहन्थ्यो, वर्षमा दुई/तीनपटक । हामी तीनजनाबाहेक अन्य कसैकोबाट एक सुको आउँदैनथ्यो । यही रकम जम्मा पारेर केपीलाई कुखुराको एउटा अन्डा दैनिक ख्वाउन थाल्यौं । यसपछि उनी क्रमशः तंग्रिन थाले ।

 

जेलभित्र प्रेम उप्रेती, दधिराम उप्रेती, छविलाल राजवंशी, भेटला राजवंशीलाई पनि टीबीले सताएको थियो । उनीहरू टीबीग्रस्त भएको समयमा मलाई लागेको टीबी भने बिसेक भइसकेको थियो । रकम जम्मा पारेर केपीलाई कुखुराको एउटा अन्डा दैनिक ख्वाउन थाल्यौं । यसपछि उनी क्रमशः तंग्रिन थाले

 

वास्तवमा केन्द्रीय कारागारका डा. पुष्कल भारतीले केपीको ज्यान बचाइदिएका हुन् । केपीको मात्र किन, डा. भारतीले राखेको सदाशयताले मलगायत धेरैको ज्यान जोगिएको थियो । उनको ससुराली झापाका चिया उद्योगी गिरी बन्धुहरू रहेछन् । झापालीसँग नाता जोडिएकाले उनी हामीप्रति उदार बनेका थिए वा उनमा मानवीय भावना उर्लिएको हो ? हुन त डा. भारती अन्य कैदीहरूलाई समेत एकदमै ध्यान दिएर उपचार गर्थे ।

 

पछि म स्वास्थ्यमन्त्री भएको बेला डा. भारती मन्त्रालयमै कार्यरत रहेछन् । त्यसबेला एउटा आयोजनाको प्रमुख बनाइदिएको थिएँ । दुई अर्ब रूपैयाँको यो आयोजनाले गाउँगाउँमा प्राथमिक स्वास्थ्य केन्द्र भवन बनाउने लक्ष्य राखेको थियो । म मन्त्री हुँदा आयोजना सञ्चालन गर्ने समिति नै बन्न सकेको थिएन । अघिल्ला मन्त्री र कर्मचारीबीच कसको मान्छे उक्त समितिको प्रमुख बनाउने भन्ने झगडाले चार वर्षदेखि तानातान भएर समिति नबनेको रहेछ ।

 

मैले केपी, मलगायतलाई जेलमा अहोरात्र सहयोग गरेका व्यक्तिलाई नै परियोजनाको प्रमुख बनाउनु उपयुक्त ठानें । उनी वामपन्थी होइनन् । डाक्टर भए पनि कुशल प्रशासक रहेछन् । उनले कुशल काम गरेर देखाइदिए ।

 

भारतीलाई परियोजना प्रमुख बनाउँदा पाँचबर्षे योजनाको समयावधि एकवर्ष मात्रै बाँकी थियो । एकवर्षमा त्यति ठूलो आयोजनाको काम फत्ते गर्नु चानचुने कुरा थिएन । तर, नियुक्ति भएको नौ महिनामा डा. भारतीले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका सबै प्रक्रियाहरू पूरा गरिदिए । योजना रनिङफेजमा पुग्यो । दाता विश्व बैंकले योजनाको अवधि थप्यो ।

 

चार वर्षमा हुन नसकेको काम नौ महिनामै गरेको देखेर डा. भारतीको कार्यशैली, क्षमता र इमानदारीप्रति विश्व बैंकका प्रतिनिधिहरूसमेत चकित बनेका थिए । जेलमा केपी र मेरो ज्यान बचाइदिने डाक्टर भारतीले लाखौं नेपालीको स्वास्थ्य जाँच गर्ने भवन पनि बनाइदिए । यता भारतीकै मेहनतले बाँच्न सफल केपीले भने प्रधानमन्त्री भएर विकास र समृद्धिको सुन्दर सपना देखाइदिए ।

 

(पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक ‘नलेखेको पुस्तकबाट उद्धृत, फागुन २१ को सन्दर्भमा हामीले यो सन्दर्भ पाठकलाई पस्किएका हौँ ।)

फोटो केपी ओलीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...