अकुत सम्पत्ति आर्जन गरेका हजारभन्दा बढी राजस्व कर्मचारी अख्तियारको फन्दामा



हाम्रो इकोनोमि

 

राष्ट्रिय अनुसन्धान विभाग राअवि ले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व भन्सार र कर प्रशासन समूहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ ।
अख्तियारको आग्रहमा राअविले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व समूहका कर्मचारी, उनीहरूका परिवार र नातागोताको चलरअचल सम्पत्ति विवरण बटुलेको हो । अख्तियारले निजामती, प्रहरी र राअविको संयुक्त संयन्त्रलाई ‘सूक्ष्म निगरानी समूह’ नाम दिएर शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको स्रोतले जनाएको छ ।

 

भ्रष्टाचार अनुसन्धान तथा नियन्त्रणमा निगरानी समूह सक्रिय रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘अख्तियारले सुशासन कायम गर्न स्टिङ अपरेसन र सूक्ष्म निगरानी समूहलाईसक्रिय बनाएको छ,’ कोइरालाले भने, ‘दुवै संयन्त्रले तोकिएको कार्यक्षेत्रमा रहेर काम गरिरहेका छन् ।’ समूह प्रमुख आयुक्त नवीनकुमार घिमिरेको प्रत्यक्ष निर्देशन र नेतृत्वमा सक्रिय छ ।

 

हरेक वर्ष सरकारलाई बुझाई अद्यावधिक गरेको सम्पत्ति विवरण र नातागोतासहित कर्मचारीका नाममा रहेको सम्पत्ति विवरण मेल नखाएपछि पहिलो चरणमा राजस्व समूहमा कार्यरतहरूको सम्पत्ति संकलन गरिएको हो ।

 

राअविमार्फत संकलन गरिएको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अख्तियारलाई पठाएको छ । स्रोतका अनुसार राअविले ०७६ साउनदेखि कर्मचारीको सम्पत्ति विवरण संकलन थालेको थियो । राअविले विवरण संकलन गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संघीय संसद् सचिवालयमा ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिएको थियो । विधेयकमा संगठित, आर्थिक र अन्य किसिमका अपराध रोक्न राअविलाई सशक्त बनाइने उल्लेख छ ।

 

‘भन्सार र राजस्व तथा कर कार्यालयमा बसेका बहालवाला तथा अवकाशप्राप्त कर्मचारी र भन्सार एजेन्टको आर्थिक विवरण राअविबाट समेत मागेका थियौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘शंकास्पद कर्मचारी र भन्सार एजेन्टको सम्पत्ति विवरण पाइसकेका छौं, यसबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’ भन्सार, राजस्व र कर कार्यालय कर्मचारीका लागि कमाइका हिसाबले आकर्षक अड्डा मानिन्छन् ।

 

०७४ फागुन ११ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयअन्तर्गतको राअवि तथा अर्थमातहतका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको छ । मन्त्रिपरिषद्को उक्त निर्णयपछि अख्तियार, राअवि, सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागका अधिकारीले बैठक नै बसेर सहकार्य गर्ने सहमति गरेको स्रोत बताउँछ । ‘प्रथम श्रेणीका कर्मचारी रहेका युनिटमा केन्द्रबाटै र बाँकीमा जिल्ला तथा प्रदेशस्थित गुप्तचर संयन्त्रले शंकास्पद कर्मचारी र व्यापारीका विवरण संकलन गरेका छन्,’ स्रोतले भन्यो, ‘सरकारले म भ्रष्टाचार गर्दिनँ भन्ने नीति लिएको छ, यही नीतिलाई सफल बनाउन शंकास्पद व्यक्तिको विवरण संकलन गरिएको हो ।’

 

०३२ सालमै राअविमा आन्तरिक सुरक्षातर्फ भ्रष्टाचार नियन्त्रण, सुशासन र राजस्व चुहावटलगायत विषय हेर्ने गरी ‘राजस्व महाशाखा’ गठन गरिएको थियो । राअविका पूर्वप्रमुख देवीराम शर्माले बहुदल र पञ्चायत पक्षधर सबैले उक्त महाशाखालाई निष्क्रिय बनाएका कारण अकुत सम्पत्ति नियन्त्रण र आर्थिक अपराधसम्बन्धी सूचनामा राअवि कमजोर बनेको प्रतिक्रिया दिए । उनले आफू संगठनमा हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री ९हाल दिवंगत० खुमबहादुर खड्काले राअविलाई अख्तियारसँग मिलेर काम नगर्न र गर्ने भए गृह मन्त्रालयको स्वीकृति लिन निर्देशन दिएको स्मरण गरे ।

 

अख्तियारका पदाधिकारीले दरबारसम्म उक्त विषयको जानकारी गराएपछि प्रधानमन्त्री र गृहमन्त्रीले निर्देशन फिर्ता लिएका थिए । ‘०५८ देखि ०६३ सम्म जति पनि मानिसलाई भ्रष्टाचार मुद्दा लाग्यो, धेरैको अनुसन्धानमा गुप्तचरले महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो,’ शर्माले भने, ‘पछिल्लोपटक पुनः अख्तियार र गुप्तचरबीच समन्वयका आधारमा अनुसन्धान गर्ने परिपाटी थालनी भएको छ, यसले सुशासनका क्षेत्रमा सकारात्मक नतिजा दिनेछ ।’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...