प्रधानमन्त्रीलाई मिर्गौला दिने को हुन् यी महिला ?



 

दुई हप्ताअघि अञ्जान घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । केपीका गाला सुन्निएर पुक्क भएका थिए । तर, हाउभाउले कत्ति पनि बिरामी देखिँदैनथे । चश्माको छेकोबाट हेर्दै प्रधानमन्त्रीले प्रश्न गरे,

‘नियमित स्वास्थ्य परीक्षण गरिरहेकी छ्यौ ?’

अञ्जानले ‘अँ’ भन्ने भावमा टाउको हल्लाइन्

एकछिनपछि फेरि प्रधानमन्त्री बोले, ‘तिमी चिन्ता नगर । अझ दुई/तीन वर्ष छोरीकै मिर्गौलामा बाँच्छु म ।’

अञ्जान नाताले प्रधानमन्त्री ओलीकी भाइबुहारी हुन् । तर, ओली जहिल्यै माया गरेर ‘छोरी’ भन्छन् ।

उता, डाक्टरलाई सुन्दाखेरि बाँच्नका लागि केपी ओलीसँग अब मात्र दुई विकल्प छन् – कि मिर्गौला पुनःप्रत्यारोपण या नियमित होमोडायलायसिस् । यता अञ्जान सुनाउँछिन्- खुसी र आँसुले कुँदिएको मिर्गौलाको गीत । अथवा कविता, कथा, फिल्म, उपन्यास जे भन्नुस् ।

यहाँ मुटुका मात्र गीत बन्छन् । अहँ ! मिर्गौलाका गीत कहिल्यै बनेनन् । तर, यहाँ मिर्गौलाको सुन्दर गीत छ । या तपाई‌‌ यसलाई कविता भन्न सक्नुहुन्छ । या कथा भन्न सक्नुहुन्छ । केही छैन, फिल्म नै भन्नुस् न ! शक्तिशाली फिल्मभन्दा कमजोर छैन प्रधानमन्त्री केपी ओलीको मिर्गौला कथा ।

उस्तै गीत छ, अञ्जान घिमिरेसँग । १२ वर्षदेखि प्रधानमन्त्री ओली अञ्जानकै मिर्गौलामा बाँचिरहेछन् । योभन्दा मिर्गौलाको सुन्दर गीत अर्को के हुन सक्छ ?

आजभन्दा १२ अघि ओर्लिऔँ ।

केपी शर्मा ओली बैंककबाट स्वास्थ्य परीक्षण गरेर फर्किएका थिए । ‘हालखबर कस्तो छ ?’, परिवारका सदस्यलाई चासो हुने नै भयो । भाइ ताराप्रसाद वली र बुहारी अञ्जान बालकोट पुगेका थिए ।

प्रधानमन्त्री ओली मुसुमुसु हाँसिरहेका थिए । दिनको समय । बाहिर घाम लागेको थियो । केपी ओलीले भने अन्धकार कथा सुनाए, ‘दुबै मिर्गौलाले काम नगर्ने भयो ।’

ला… ! अञ्जानलाई औडाहा भयो ।

मैले बचाउन पो सक्छु कि ! उत्तिखेरै अञ्जानको दिमागले यत्ति सोच्यो ।

बैठक कोठामा सन्नाटा छाएको थियो । अञ्जानले नै सन्नाटा चिरिन्, ‘मैले दिन्छु मिर्गौला ।’

ओलीेले नै हाँसेर उडाए, ‘दिन्छेस् तैंले । न ब्लड मिल्छ । बच्चाकी आमा ।’

तर, अञ्जान एकोहोरिइसकेकी थिइन् । अञ्जानले पनि हाँस्दै भनिदिइन्, ‘हेर्नु न ! कस्सैको मिल्दैन । मेरै मिल्छ ।’

जतिबेला अञ्जान भर्खर २२ वर्षमा टेक्दै थिइन् । उनका एक वर्ष नाघेका पहिलो छोरा भर्खर पाइला चाल्न सिक्दै थिए । कुरा फेरि मिर्गौला झिक्ने छ । कसले पत्याओस् !

अर्को दिन अञ्जानले ओलीलाई फोन गरिन्, ‘म जचाउँन आउँछु । मैले नै दिन्छु मिर्गौला ।’ केपी ओली मानिरहेका थिएनन् । तर, उनी जबरजस्त बालकोट पुगिन् ।

फेरि ओलीले सम्झाए, ‘यस्तो कुरामा ख्याल ठट्टा गर्नु हुँदैन । अरुले पनि दिन सक्छन् नि ! तिमीले बाबुलाई हेर्नुपर्छ ।’

अञ्जान मान्नेवाला थिइनन् । भनिन्, ‘बाबु हेर्ने अरु छन् । बरु जँचाउन जाऔँ ।’

अञ्जानको जिद्दीका अगाडि केपी ओलीको अडान पनि काम लागेन । ओलीले भने, ‘उसोभए श्रीमान, आमा, बाबासँग सल्लाह गर ।’

‘अरुले नदिए पनि के भोर । मिर्गौला त मेरो हो नि !’ यत्ति भनेर अञ्जान बाहिरिइन् ।

अञ्जानले आमासँग त कुरा गरिदिन् । बाबा काठमाडौंमा सँगै थिए । अञ्जान सुनाउँछिन्, ‘बाबालाई सुनाएँ । बाले दे दे नानी, यस्तो काम गर्ने अवसर त जहिले तहिले मिल्दैन भन्नुभयो । त्यसो भन्दाखेरि उर्जा नै थपिँदोरहेछ । श्रीमानले त आफ्नो दाइलाई बचाउन नदिने कुरै भएन ।’

परीक्षण भयो । सबैथोक मिल्दै गयो । अञ्जान भन्छिन्, ‘मिल्दै गएपछि त अझ उर्जा थपियो । म यस्तो तरिकाले गएकी थिएँ कि कसैले रोकेर रोकिनेवाला थिइनँ ।’

‘जेठाजुलाई मिर्गौला प्रदान गर्न यति धेरै केले हौसला प्रदान गर्‍यो ?’

भित्तामा टाँसेको केपी ओलीको फोटो हेर्दै हामीले सोध्यौं ।

बौद्ध नयाँबस्तीको अञ्जान घिमिरेको फ्ल्याटमा छौँ हामी । बेडरुममा । बेडरुमका सामाग्री असरल्ल छन् ।

कुरा गर्दै जाँदा अञ्जान बेडबाट सोफामा सरेकी छिन् । छोराछोरी अर्को कोठा छिरेका छन् ।

अञ्जान झट्ट उत्तर भेट्टाउँदिनन् । जवाफ फर्काउँछिन्, ‘खै ।’

बरु उनले खुशी साट्न थालिन्, ‘जब प्रत्यारोपाणका लागि मेरो मिर्गौला योग्य भयो, त्यतिबेला म एकदमै खुशी भएकी थिएँ । साधारण मान्छेलाई बचाउँदा त खुशी भइन्छ भने झन यत्रो देश हाँक्ने नेतालाई बचाउनु त भाग्यको कुरा हो ।’

सबै कुरा मिलेपछि केलाई पर्खिनु ? १५ दिनमै अञ्जान र केपी ओलीको परिवार भारतको अपोलो हस्पीटलतर्फ लाग्यो । त्यतिबेला केपीले अञ्जानलाई भनेका थिए, ‘तँ जिद्दी रहिछस् । तेरो जिद्दीले जित्यो ।’

०००

०६४, साउनको अन्तिम हप्ता । अप्रेशन सफल भयो । अञ्जान होस्मा आउँदा आइसियुमा थिइन् । ‘मेरो मिर्गौला लिएपछि दाइ कस्तो हुनुभयो होला त ?’ होस आउनेवित्तिकै ओलीलाई देख्ने तीब्र इच्छा भयो । डाक्टरले भेटमा रोक लगाएका थिए । तर, मान्छेको मनमा त कसैले टाँचा लाउन सक्दैन । अञ्जानको मन उडेर केपी ओलीसँग मात्र बसिरहेको थियो ।

डाक्टरले एक हप्ता हस्पीटल बस्नुपर्छ भनेका थिए । तोकिएको भन्दा दुई दिनअघि नै अञ्जान डिस्चार्ज भइन् । तर, एक झल्को केपी ओलीलाई नभेटी उनको मनले कहाँ मान्नेवाला थियो र !

अञ्जान डाक्टरको पछिपछि लागिन् । केपी ओली शैयामै सुतिरहेका थिए ।

१२ वर्ष अघिको घटना सुनाउँदै गर्दा अञ्जानका आँखा टिल्पिलाए । एकछिन् सिलिङतिर हेरिन् । एकछिन रोकिइन् र भनिन्, ‘मलाई देख्नेवित्तिकै उहाँले गहभरि आँशु पार्नुभयो । उहाँको आँशु देखेपछि मैले पनि थामिन सकिनँ । उहाँले आँशु पुछ्दै भन्नुभयो म ठीक छु । घाउ पाक्छ, अलि केयर गर्नु ।’ तर, अञ्जान केही बोल्नै सकिनन् । उनले त्यो दुई मिनेटजतिको आनन्द जीवनमा सायदै भेटेकी छिन् ।

अञ्जान थप्छिन्, ‘एउटा आफ्नो सन्तानलाई जन्म दिँदा खुशी भएकी थिएँ । अर्को, देशको सन्तानलाई बचाउँदा ।’

साँच्चिकै कसैको जीवन रक्षा गर्नुको जत्तिको आनन्द अरु केमा होला ?

जब अञ्जान अपोलो हस्पिटलबाट निस्किइन् । उनलाई छोराको मायाले अत्याउन थाल्यो । यसअघि कहिल्यै पनि छोरासँग यति लामो सयम बिछोडिएकी थिइनन् । छोरालाई माइतमा आमाको जिम्मा छाडेर अपोलो पुगेकी थिइन् उनी । त्यसैले भारतमा उनी लामो समय रोकिन सकिनन् । सिधै काठमाडौंको डेरा आइपुगिन् ।

भक्तपुर नयाँ ठिमीमा थियो अञ्जानको डेरा । दुई कोठा थिए । श्रीमानले सहकार्यमा प्रेस चलाएका थिए । यही थियो जिविकाको मेलो । श्रीमानलाई तत्काल काममा नफर्की सुखै थिएन ।

करिव २० दिनपछि ओली पनि काठमाडौं ओर्लिए । अञ्जान हतारिँदै बालकोट पुगिन् । सदाजस्तै ओली खुशी देखिन्थे । अञ्जान भन्छिन्, ‘केही पारिवारिक गफ भए । बच्चा लगेर गएको थिएँ । त्यसपछि उहाँ बच्चसँग खेल्न थाल्नुभयो ।’

यता केपी ओलीसँगै अञ्जानमा पनि मिडियामा छाएकी थिइन् । तर, अनेक हल्लाहरुले बजार तातेको थियो । कतिले भन्थे, ‘केपी ओलीले मिर्गौला किनेका हो रे !’ तर, अञ्जानको परिवार आफ्नै जीवनलाई व्यवस्थित गर्ने धुनमा थियो ।

प्रेसबाट घाटा ब्यहोर्नुपरेको थियो । अञ्जान मदन भण्डारी बोर्डिङ स्कुल पढाउन थालिन् । श्रीमानले किराना पसल चलाउन थाले । चार वर्षपछि छोरी जन्मिइन् ।

बोर्डिङको तलब कति नै हुन्छ र ?

अञ्जानले पढाउन छाडिन् । किराना पसलको क्षेत्रफल बढाइन् ।

यतिबेलासम्म अञ्जानहरु खरिबोट दक्षिणढोकामा डेरा सरिसकेका थिए । किराना पसल पनि त्यहीँ थियो । तर, किराना पसलले मात्र परिवार धान्न धौधौ पर्‍यो । अञ्जानले श्रीमानलाई कतार पठाइन् ।

एक दिन अञ्जानले भर्खर पसलको सटर खोलेकी थिइन् । उनको पसल छेउमा मासु पसल थियो । केही छिनमा उनै मासु पसले अञ्जानको पसल अगाडि उभिए र सोधे, ‘तपाईले मिर्गौला कतिमा बेचेको दिदी ?’

अञ्जान अवाक् बनिन् । एउटा मिर्गौलामाथिको मुटु चसक्क भयो । आँखाबाट आँशु खसे । अञ्जान अमिलो बन्छिन्, ‘त्यो क्षण सम्झँदा अहिले पनि रुन मन लाग्छ । जीवनमा सबैभन्दा नरमाइलो लागेको क्षण थियो त्यो ।’

र, पनि अञ्जान आफूलाई रोक्न सकिनन् । चिच्याइन्, ‘तपाईको दाइ भाइको मिर्गौला फेल भएपछि तपाईले बेच्नुहुन्छ ?’ ती युवाले भने, ‘सरी ।’ मान्छेलाई मारिसकेपछि भनेको सरीको के अर्थ ?

अञ्जान जब-जब यस्ता कुरा सुन्थिन्, उनलाई लाग्थ्यो, ‘मान्छेबाट मानवता हराइसकेछ ।’

र, पनि अञ्जान जब केपी ओलीसँग पुग्थिन् । ओली उभिएको देखेर सारा पीर बिर्सन्थिन् । शरीरभर खुशी शयर गर्थ्यो  ।

तर, कहिल्यै आफ्नो घरमा खाना पकाएर खुवाउन भने पाएकी छैनिन् अञ्जानले । भन्छिन्, ‘उहाँलाई कहिल्यै फुर्सद हुँदैन । दुईपटक राधिका भाउजूसँग आएर कालो चिया मात्र खाएर फर्किनुभएको छ ।’

०००

त्यसपछि पनि केपी ओलीसँग पटक-पटक भेट भयो अञ्जानको । उनले प्रायः परिवारसहित बोलाउँछन् । र, जहिल्यै भेट्ने वित्तिकै ओली प्रश्न गरिहाल्छन्,

‘स्वास्थ्य जाँच नियमित छ ?’

‘समयमा परीक्षण गरेन भने उहाँ खुब रिसाउनुहुन्छ’, अञ्जान सुनाउँदैछिन् ।

त्यसपछि ओली अञ्जानका छोराछोरीसँग खेल्न थाल्छन् । बच्चाहरु देखेपछि ओलीको अनुहार छुुट्टै चमकले चुलिन्छ । बच्चाहरुसँगै खुशी हुन्छन्, रमाउँछन् । अञ्जान भन्छिन्, ‘बच्चासँग रमाउने उहाँको स्वाभाव नै हो । कहिलेकाँही बाटोमा बच्चाहरु देखे पनि रोकिएर कुरा गर्न थाल्नुहुन्छ । बच्चासँग चाँडै हेलमेल हुने स्वाभाव छ ।’

०००

घर्‍याक्क ढोका उघि्रयो । अञ्जानका श्रीमान आइपुगेछन् ।

अचेल श्रीमानले विज्ञापन एजेन्सी सञ्चालन गर्छन् । घडीले साँझको सात बजाएको छ । यति नै बेला हो श्रीमान घर र्फकने ।

अञ्जान पनि छ बजे मात्र घर फर्किएकी थिइन् । उनको पनि राष्ट्रपति कार्यालयमा जागिर छ । टेलिफोन अपरेटरको । यति नगरे कसरी फ्ल्याटको भाडा तिर्नु । नौ कक्षा पढ्दै गरेका छोरा अर्पण र तीन कक्षा पढ्दै गरेकी छोरी अभिलाशालाई कसरी हुर्काउनु ।

श्रीमान ताराप्रसाद किचनमा छिरे । तर, हाम्रो कुरा सक्किएकै छैन । प्रसंग प्रधानमन्त्रीमा पुग्यो ।

अञ्जान हाँस्दै भन्छिन्, ‘जब उहाँ प्रधानमन्त्री हुनभयो नि ! त्यतिबेला ममा खुशीको सीमा थिएन । मिर्गौला नदिएकाहरु त खुशी भए भने म कति खुशी भए हुँला ।’
त्यो खुशीलाई शव्दचित्रमा वर्णन गर्न सक्दिनन् अञ्जान । मान्छेहरु लिएर मात्र खुशी हुने प्रयासमा हुन्छन् । हेर्नुस् त दिएर झन् कति खुशी भइँदोरहेछ ।

त्यतिबेलै अञ्जानले केपी ओलीले गरेको एउटा आग्रह सम्झिइन् ।

एकदिन ओलीले भनेका थिए, ‘मबाहेक परिवारमा कोही पनि राजनीतिमा आएनन् । तँ आइज न छोरी ।’ त्यतिबेला अञ्जानले पछि गरौँलाले भनेर टारिन् । तर, त्यो पछि कहिल्यै आएन । उनलाई गृहस्थी सम्हाल्नै ठिक्क भयो ।

‘छोरीको राजनीतिमा खुब रुचि छ । उसलाई नै अगाडि बढाउँछु’, अञ्जान बोल्छिन् । आफूले गुमाएको सबथोक सन्तानका भागमा परोस् भन्ने सोच्छन् आमा-बाबु ।

०००

आजभोलि प्रधानमन्त्रीसँग भेट्दा नमीठो लाग्छ अञ्जानलाई । भलै प्रधानमन्त्रीको ऊर्जामा २० को १९ नै भएको किन नहोस् । ‘तपाईंको स्वास्थ्य कस्तो छ ?’, चाहेर पनि ओलीलाई सोध्न सक्दैनिन् अञ्जान । ‘मैले कसरी सुन्न सक्छु कि मेरो मिर्गौलाले काम गरेको छैन भनेर । मलाई त अझै २० औँ वर्ष मेरै मिर्गौलाले काम गरिरहोस् भन्ने लाग्छ’, अञ्जानको चहकिलो अनुहार क्षणभरमै मधुरो बन्छ ।

तर, ओलीले आफ्नो आराम र खानामा समय नै नदिएको देख्दा झन् दुःख लाग्छ उनलाई । ‘उहाँले खानाको टाइमिङ र आरामलाई समय दिने मात्र भए पनि अहिलेको अवस्था आउँथेन होला’, अञ्जान भन्छिन्, ‘उहाँलाई अरु सबथोक थाहा छ तर, आफ्नो स्वास्थ्यबारे थाहा छैन ।’

अञ्जानले भगवानसँग प्रार्थना गरिरहेकी छिन्, ‘भगवान ! अझै मेरै मिर्गौलाले काम गरोस् । रफ्तारमा काम गर्नेबेला बिरामी भएर अल्झन नपरोस् ।’

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी