पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पति रोक्का
पदमा रहँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पति रोक्का भएको छ ।
बस्न्यातले पदमा रहँदा अनियमितता गरेको भेटिएछि उनको सबै सम्पति रोक्का गरिएको सम्पति शुद्विकारण विभागले जनाएको छ । विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्वा दायर गर्ने तयारी गरेको बुझिएको छ ।
‘सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ,’ प्रधानमन्त्री कार्यालयमा बस्न्यातबारे भएको ब्रिफिङमा सहभागी एक अधिकारीले बताए ।
उनका अनुसार प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावसायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको अनुसन्धानले पुष्टि गरिसकेको छ । रोकाको लगानी रहेको म्यानपावर कम्पनी र एक सहकारीमार्फत बस्न्यातले आफ्नो अकुत आर्जन व्यवस्थापन गरेको जानकार स्रोतको दाबी छ । ‘अहिलेसम्मको अनुसन्धानका आधारमा बस्न्यात, उनका छोरा र व्यवसायी रोकामाथि सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर हुने निश्चित छ,’ स्रोतले भन्यो, ‘अन्य तीन जना नातेदारमाथि पनि मुद्दा जाने सम्भावना देखेका छौं, निश्चित भइसकेको छैन ।’
सरकारी सेवामा रहँदा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको मामिलामा मात्रै रहेर यसअघि उनी आफैं प्रमुख रहेको अख्तियारले समेत छुट्टै छानबिन गरिरहेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव छादा बस्न्यातले फर्जी मोहीका नाममा बालुवाटार, ललिता निवासको विवादित जग्गा हस्तान्तरण गर्न भूमिका खेलेको आरोपमा अख्तियारले उनीमाथि मुद्दा दायर गर्ने निश्चित भइसकेको छ ।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेसँगै अख्तियारले अकुत आर्जनको विषयमा मुद्दा’ अघि बढाउने सम्बन्धित स्रोतले बतायो ।


