कानुन मन्त्रालयपनि छोडेनन् यादवले
प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता गरेको मन्त्रीमण्डल पुनर्गठनप्रति गम्भीर असहमती राख्दै आएका सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अन्ततः कानुन, न्याय तथा संसदीय मन्त्रालयको पदवहाली गरेका छन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई उनीसँग सरसल्लाह नगरी प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारीमा ल्याएका थिए ।
यसपछि असन्तुष्ट बनेका यादवले आज (सोमबार) कानुन मन्त्रालयमा वहाली गर्दै प्रधानमन्त्री ओली प्रति व्यंग्य पनि गरेका छन् । पदवहाली गर्दै यादवले प्रधानमन्त्री ओलीले आफूलाई धेरै नै माया गरेर कानुन निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको कानुन मन्त्रालयको जिम्मेवारी दिएको बताए ।
पटक–पटक सरकार छाड्ने घुर्की लगाउदैै आएका समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले कानुन मन्त्रालयको जिम्मेवारी लिने कि नलिने भन्ने विषयमा पार्टी भित्र ठूलै छलफल भएको थियो ।
पार्टीको पदाधिकारीहरुको बैठकमा समाजवादी पार्टी सरकारबाट बाहिरिए राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारमा जाने आशंकासहित अहिलेनै सरकार छाड्न नहुने निष्कर्षमा यादव पुगेका थिए ।


