‘स्मार्ट लाइसेन्सको ढिलाइले सरकारकै बेइज्जत भयो, अब एकै दिनमा पाउने बनाउँछौँ’



हाम्रो इकोनोमि

 

 

सवारीचालक अनुमतिपत्रलाई अत्याधुनिक बनाउने भन्दै सरकारले  ४ वर्ष अघिदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गर्‍यो । पर्याप्त तयारी र कार्ड छाप्ने भरपर्दो मेसिनबिना सुरु गरिएको स्मार्ट लाइसेन्स वितरणको काम अहिले रमिता बनेको छ । माग भए जति कार्ड छाप्ने मेसिन नहुँदा सेवाग्राहीले २ वर्षसम्म यातायात व्यवस्था विभागले दिएको रसिदका भरमा सवारीसाधन चलाउनुपरेको छ ।

सरकारले स्मार्ट लाइसेन्स छपाइ तीव्र बनाउन यसै महिनाको सुरुदेखि नै मास प्रिन्टर चलाउने भनेको थियो । तर प्रतिघन्टा साढे ४ सय वटासम्म स्मार्ट लाइसेन्स छाप्न सक्ने मास प्रिन्टरमा अझै सिस्टम जडान नहुँदा छपाइ सुरु भएको छैन । मास प्रिन्टर सञ्चालनमा आएपछि अहिले बाँकी रहेका ६ देखि ७ लाख लाइसेन्स ३ महिनामा वितरण गरिसक्ने र त्यसपछि एक महिनामै लाइसेन्स पाइने यातायात व्यवस्था विभागले जनाएको छ । राज्यले एउटा लाइसेन्स दिन पनि २ वर्षसम्म लगायो भनेर नागरिकको पारो तातेको छ । यसै विषयमा अर्जुन पोख्रेलले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालसँग गरेको कुराकानी :

मास प्रिन्टर आयो, अब स्मार्ट लाइसेन्स छपाई फटाफट हुन्छ भन्नुभएको थियो, छपाइ किन सुरु भएन ?

मेसिन आएको त झण्डै २ महिनाजति भयो, मेसिन सिंगै आउने होइन । विभिन्न भागको रुपमा आएको मेसिन जडान गर्नै समय लाग्यो । अहिले बल्लबल्ल मेसिन जडान सकिएको छ । हामीले अहिले मेसिनमा डाटा राख्ने काम गरिरहेका छौँ ।

विभिन्न यातायात कार्यालयबाट आएका डाटा इन्ट्रिगेसनको काम भैरहेको छ । डाटालाई सर्भरमा राख्ने काम भर्खरै परीक्षणको काम भैरहेको छ । हामीले ३/४ सय कार्ड छपाई गरेर परीक्षण गरिरहेका छौँ । १/२ दिनमा परीक्षणको काम सकिन्छ, त्यसपछि हामीले मास प्रिन्टरमार्फत फटाफट स्मार्ट लाइसेन्स प्रिन्ट गर्छाैँ ।

तपाइँहरुले लाइसेन्स दिन नसक्दा केही नागरिकले २ वर्षदेखि रसिदको भरमा सवारीसाधन चलाइरहनुभएको छ, उहाँहरुले लाइसेन्स कहिले पाउनुहुन्छ ?

यो प्रश्नको  जवाफ दिँँदा दिँदा म हैरान भैसकेँ । लाइसेन्स नपाउनेहरुले अबको ३ महिनाभित्र पाइसक्नुहुन्छ । मैले तपाइँसँग भन्नकै लागि यो कुरा भनेको छैन, गर्नको लागि भनेको हो । मैले हाम्रो यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि कार्ययोजना पेश गर्दा मास प्रिन्टर सञ्चालनमा आएपछि ३ महिनामा पुराना लाइसेन्स वितरण गरिसक्ने  योजना पेश गरेको छ । त्यसपछि हाम्रो माग भन्दा मेसिनको छपाइ क्षमता धेरै हुने भएकाले एकैदिनमा प्रिन्ट गरेर लाइसेन्स दिन सकिन्छ ।

काठमाण्डौ बाहिरको हकमा हप्ता दिन लाग्न सक्छ । किनकी बाहिरबाट यहाँ डाटा आउनुपर्‍यो, हामीले छपाइ गर्नुपर्‍यो अनि पठाउनुपर्‍यो । तर काठमाण्डौमा त एकैदिनमा लाइसेन्स पाउने अवस्था आउँछ ।

तपाइँहरुले यसरी प्रतिबद्धता जनाएको त धेरै भयो । नागरिकलाई कहिलेसम्म यसरी आश देखाएर खिस्रिक्क पार्ने ?

यो अलिकति प्राविधिक विषय पनि हो । तपाइँ हामी सबैलाई थाहा छ, गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र छाप्न ल्याएको मेसिन तयार गर्न ६ महिना लगायो । ६ महिनापछि बल्ल छपाइ सुरु भयो । हुन त राष्ट्रिय परिचयपत्र वितरण गर्न निकै हतारो नभएर पनि ढिलाइ भएको होला । तर हामीले त मेसिन ल्याएको २ महिनामा परीक्षण नै गरिसक्यौँ । चाँडो हामी गरिरहेका छौं । तर नागरिकले सोचेअनुसार चाँडो भएको छैन  ।

नागरिकलाई त प्रक्रियासँग मतलब छैन, नतिजासँग मतलब छ । हामीले स्मार्ट लाइसेन्स बेलैमा वितरण गर्न नसक्दा सरकारकै बेइज्जत भएको छ,  हामी यो कुरामा सिरियस छौँ । अब जति गाली खानुपर्छ ३ महिनामा गाली खान्छौँ, त्यसपछि हामी नागरिकको गाली खाने अवस्थामा हुने छैनौँ ।

यो तपाइँको पक्का बाचा नै हो ?

यो पक्का बाचा नै हो । मेसिनमा कुनै ठूलो खराबी आएन भने ३ महिनामा हामीले पुराना सबै लाइसेन्स वितरण गरिसक्छौँ । त्यसपछि त माग भन्दा हाम्रो मेसिनको क्षमता धेरै हुन्छ, समस्या हुन्न ।

यो समस्या आउला भन्ने त पहिल्यै अनुमान गर्नुपर्थ्यो । आजको यो समस्यालाई हिजो किन कल्पना गरिएन र मेसिन खरिदमा किन ढिलाइ भयो ?

हिजो नसोचेकैले यस्तो समस्या आयो । म त यहाँ आएको धेरै भएको छैन । अहिले ६ देखि ७ लाख लाइसेन्स प्रिन्ट हुँन बाँकी छन्, नागरिक रसिद देखाएर हिँड्नुपरेको छ । आजको कुरा हिजो नै सोचेको भए आज भयावह समस्या आउने नै थिएन । तर अब हामीले भोलिको लागि सोच्दैछौँ । थप मास प्रिन्ट मेसिन ल्याउनलाई हामीले यसै वर्ष टेन्डर गर्ने तयारी गरिरहेका छौँ । त्यो मेसिन आएपछि नागरिकले ट्रायल पास गरेको १ घन्टामा नै लाइसेन्स प्रिन्ट हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...