प्रधानमन्त्री ओलीले गरे नेपालकै पहिलो सुरूङमार्गको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास गरेका छन्। सोमबार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ टोटीटोलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरूङमार्गको शिलान्यास गरेका हुन्।
धादिङको सिस्नेखोलाबाट सुरू हुने सुरूङमार्ग टोटीटोलमा आइपुग्छ। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर सुरूङमार्ग बन्न लागेको हो।
आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापानीज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको छ। ४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी काम सुरू गरिने उनले बताए। जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बन्न लागेको हो।
यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन टीबीएमको प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिनेछ । यो सुरूङमार्ग बनेपछि नेपालको मोटर गुड्ने पहिलो सुरूङमार्ग बन्ने छ ।
अप्रिल २०२३ सम्ममा आयोजना सक्ने लक्ष्य लिइएको छ।


