भुटानी राजा जिग्मे भन्छन् : नेपालमा जन्मेकोले आफ्नो घर जस्तो लाग्छ
भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले नेपाल र नेपाली जनतासँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको खुलासा गरेका छन् । बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका राजदूत आचार्यसँग राजा जिग्मेले यस्तो खुलासा गरेका हुुन् । यसको मुख्य कारण भनेको उनको जन्म नेपालमा हुनु हो ।
तत्कालिन रानी छिरङ योङ दोनले हलेसी महादेवको मन्दिरमा पुजा गरी पुत्रप्राप्तिको कामना गरेअनुसार गर्भरहेपछि नेपालकै प्रसूति गृहमा रानीको इच्छाअनुसार सन् १९८० मा राजा जिग्मेको तात्कालिन युवराजका रुपमा जन्म भएको थियो । नेपालको प्रशुती गृहमा त्यति बेला पनि धेरै राम्रो प्रशुती सेवा थियो ।
त्यसबेलाका राजा वीरेन्द्रले भुटानी राजपरिवारलाई निकै सहयोग गरेका थिए । यसले दुई देशको आपसी सद्भाव निकै गहिरो बनाएको थियो । यो सम्बन्ध र सद्भाव केवल राजपरिवारमा मात्र सिमित नरहेर जनस्तरमै पनि गाढा बनेको थियो ।
राजा जिग्मेले राजदूत आचार्यले चढाएको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश आफैले वाचन गरेर सुनाएका थिए । प्रत्युत्तरमा भुटानी राजाले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाईसहित शुभकामना दिएका थिए । राजाले राजदूत आचार्यको कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए ।


