दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी



हाम्रो इकोनोमि

सरकारको कार्यसम्पादन अत्यन्त फितलो भएको महसुस गरेका प्रधानमन्त्री ओली सक्षम नेताहरूलाई मन्त्री बनाउने टुंगोमा पुगेका छन्। त्यसैले उनी विगतमा सक्षम सावित भएका पूर्वमन्त्रीहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मालाई मन्त्री बनाउने निष्कर्षमा पुगेका हुन्।

नेकपा स्रोतका अनुसार, पूर्वअर्थमन्त्री पाण्डेलाई फेरि अर्थमन्त्री बनाइने संभावना छ। यदि ईश्वर पोखरेललाई अर्थमन्त्री बनाइयो भने भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाण्डेलाई दिइने भएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। वर्तमान मन्त्रीहरूको अक्षमताका कारण सरकार नै असफल हुन थालेपछि प्रधानमन्त्री ओलीले कठोर निर्णय लिन लागेका हुन्।

सत्तारुढ दल नेकपा उच्च स्रोतका अनुसार, नेकपाको असोज २९ गते हुने चियापानको एक–दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने छ। उक्त पुनर्गठनमा अहिले मन्त्री रहेकामध्ये पाँच जनासम्म पनि दोहोरिने संभावना कम रहेको स्रोतको दाबी छ।

नेकपा स्रोतका अनुसार, वर्तमान सरकारमा रहेका मन्त्रीमध्ये उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल चाहिँ अर्को महत्वपूर्ण मन्त्रालयसहित रहिरहने छन्। साविक एमालेबाट मन्त्री भएकामध्ये उपप्रधामन्त्री पोखरेललाई अर्थ वा भौतिक योजना वा गृह मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने संभावना रहेको स्रोतको दाबी छ।

साउन १५ गते मात्र मन्त्री भएका पर्यटनमन्त्री योगेश भट्टराईलाई हटाइने छैन भने एक वर्षअघि मन्त्री भएका कानूनमन्त्री भानुभक्त ढकाल पनि कायमै रहने संभावना रहेको उक्त स्रोतको भनाइ छ।

त्यसबाहेक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पनि मन्त्रालय फेरेर सरकारमा राखिरहने संभावना छ। भीम रावललाई प्रधानमन्त्रीले मन्त्री बनाएमा प्रदीपकुमार ज्ञवालीको मन्त्रालय फेरिन सक्ने जनाएकाे छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सरकारबाट हट्ने संभावना कम रहेका मन्त्रीमा पर्छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग पटक-पटक बादललाई हटाउन आग्रह गर्दै आएका छन् तर प्रधानमन्त्रीले भने उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री बादलसँग मात्र सल्लाह गरी सरकार सञ्चालन गर्दै आएको स्रोतको दाबी छ। सम्बन्ध केही चिसिएकाले प्रचण्डलाई प्रभावहीन सावित गर्न पनि बादललाई नहटाउने संभावना रहेको छ।

उर्जामन्त्री भएकोवेला लोडसेडिङ हटाएर चर्चामा आएका जनार्दन शर्मा पूर्वगृहमन्त्री पनि हुन्। बादललाई हटाएर उनलाई गृहमन्त्री बनाउने प्रचण्डको योजना छ। यदि बादल कायमै रहेमा भने प्रधानमन्त्री ओलीले उनलाई उर्जा वा खानेपानीमन्त्री बनाउने संभावना पनि छ। काठमाडौंमा मेलम्ची ल्याउनुपर्ने महत्वपूर्ण जिम्मेवारी उनलाई दिने संभावना रहेको स्रोतको दाबी छ।

यसबाहेक नेकपा स्थायी कमिटी सदस्य भीमबहादुर रावल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, देव गुरुङ, प्रभु साह तेली, अग्निप्रसाद सापकोटा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल पनि संभावित मन्त्रीको सूचीमा छन्। पूर्वगृहमन्त्री रावललाई मन्त्री बनाइएमा परराष्ट्र मन्त्रालय दिने संभावना रहेको स्रोतको दाबी छ।

यसबाहेक साविक एमालेबाट चुनाव जितेका संखुवासभाका राजेन्द्र गौतम मन्त्री हुने सूचीमा छन्। उनलाई सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनाउने प्रवल संभावना रहेको स्रोतको भनाइ छ। त्यसबाहेक दोलखाका पार्वत गुरुङ, काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, मकवानपुरका विरोध खतिवडा पनि संभावित मन्त्रीकाे सूचिमा छन्।

उपत्यकाबाटै भक्तपुरका महेश बस्नेत पनि मन्त्रीको दौडमा छन्। त्यस्तै रुपन्देहीकी राधा ज्ञवाली, नेकपा सचेतक शान्ता चौधरी, नारदमुनी राना थारू पनि मन्त्रीका प्रवल दाबेदार मानिएका छन्।

प्रधानमन्त्री ओलीले यसपटक मन्त्रिमण्डल पुनर्गठन गर्दा साविक एमाले वा माओवादी केन्द्र भन्ने देखिने गरी नभई पार्टी एकताको सन्देश दिने गरी गर्ने पनि नेकपा स्रोतको दाबी छ। पार्टी एकताकाे काम लगभग टु‌गिएकाले अब सरकार पुनर्गठन हुन लागेकाे हाे। यसअघि माओवादीबाट मन्त्री भएकाको मन्त्रालय फेरेर साविक एमालेलाई र एमालेबाट मन्त्री भएकाको मन्त्रालय झिकेर साविक माओवादीकालाई जिम्मेवारी दिने ती नेताले जानकारी दिए।

‘प्रधानमन्त्रीजी दशैँअघि नै मन्त्रीहरूलाई विदा गरिदिने पक्षमा हुनुहुन्थ्यो, फेरि दशैँपछि गरौँ कि भनेर थाती राख्नुभएको जस्तो लाग्छ,’ ती नेताले भने, ‘अब दशैँको चियापानको एक–दुई दिनमै मन्त्रिमण्डल हेरफेर हुन्छ होला। चिनियाँ राष्ट्रपतिको भ्रमण भयो भने पनि त्यतिञ्जेल सकिइसक्छ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...