मेयरसाप ब्रुमरले काम पाएन, काठमाण्डौको हिलोले तपाँईलाइ छोएन
काठमाडौ महानगरले सडकको फोहोर सफा गर्नको लागि ब्रुमर किनेको पाँच महिना नाघिसक्यो । फोहोर सफा गर्नको लागि किनिएको ब्रुमरले सफा गर्न भने अहिलेसम्म मौका पाएको छैन । त्यो अवस्था अउनुमा सडकको हालत गतिलो नभएर हो ।
काठमाडौंको सडक पहिलेकै अवस्थामा रहेको छ । न त पिच हुन सकेको छ न त पिच सकड नै राम्रो रहेको छ । सडकमा खाल्डाखुल्डी रहेको छ । यसले गर्दा सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाण्डौवासीको बाध्यता विद्यमान रहेको छ । नियमितजस्तो पानी परेकाले ब्रुमर सञ्चालन गर्न समस्या भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । तर पनि यसको सञ्चालन गर्न नसक्नुको मुख्य कारण भनेको सडकको स्तरउन्नति गर्न नसकेर नै हो ।
कामपाले ब्रुमर सञ्चालन गरेको पाँच महिना भयो, तर महानगरको सडकमा धुलो कम भएको छैन । कामपा वतावरण विभागका अनुसार हरेक दिनजसो पानी पर्दा ब्रुमरले नियमित सडक सफा गर्न पाएको छैन, जसका कारण जनअपेक्षाअनुसार धुलो कम हुन सकेको छैन् ।
दैनिक १० टन धुलो सङ्कलन गर्दै आएका सात यान्त्रिकका कुँचोले अहिलेसम्म संकलन गरिरहेको छ । सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको पनि महानगरले बताएको छ । महानगरले सुन्दर, स्वच्छ र सफा शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थाले पनि नगरवासीले सफा काठमाडौंको अनुभूति गर्न पाएका छैनन् । यसको मूल कारण भनेको काठकाडौंको सडक गतिलो नहुनु नै हो ।
स्थानीयका अनुसार मेयर विद्या सुन्दर शाक्य सडकको अवस्था यस्तो हुँदा पनि नआएको गुनासो गरेका छन् । उनले मेयर शाक्यले काठमाडौंको सडक यस्तो दुरावस्था देख्दा पनि देखेको नदेखेझै गर्ने गरेको बताए ।
गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच र त्यसको केही समयपछि चीनको सहयोगमा आएको दुई गरी सात ब्रुमर महानगरपालिकासँग छ । तर त्यसको पनि काठमाडौंको सडक सफा हुनसकेको छैन । सात वटै ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ ।
न्यूरोड, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजार लगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न त्यसलाई आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र कामपाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक सफा गर्दै आएको छ । सञ्चालनमा रहेका ब्रुमर १० करोड ८० लाख रुपैयाँमा ल्याइएको हो ।
ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रमरसहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।
खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनर्निर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौं भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको विभागले जनाएको छ ।
कानुनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडकहरु सडक विभागको मातहतमा रहेको छ । यसरी महानगर पालिकाको ब्रुमरले सडक सफा गर्न नसक्दा दैनिक आवत जावत गर्ने सर्वसाधारणलाई पनि विभिन्न खालको समस्या भएको छ ।


