ठूला माछा समाउँने योजनामा अख्तियार, को को जाँदैछन जेल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका कतिपय कर्मचारीले आत्महत्या गर्दा नीतिगत तहदेखि ठूला भ्रष्टाचारमा मुछिएका माथि अनुसन्धान हुन सकेको छैन ।
मालपोत कार्यालय कलंकीका निलम्बित कर्मचारी ( नायब सुब्बा) हरी आचार्यले आत्महत्या गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका ९ को रातामाटे जंगलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
उनको सुसाइड नोटमा आफू ‘भ्रष्टाचारको मुद्दामा बेकसुर रहेको, परिवारलाई आफ्नो कारणले तनाव भएको’ उल्लेख थियो । त्यतिमात्र होइन अख्तियार प्रमुख आयुक्त नविन घिमिरेलाई दुई सय वर्ष बाँच्नसमेत मृतकको शुभकामना सुसाइड नोटमा थियो ।
९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङको नामा नामसारी गरेको अभियोगमा आचार्यसहित अन्यलाई आयोगले विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
यस्तै, ललिता निवास प्रकरणमा अख्तियारमा बयान दिइरहेका मालपोतका पूर्व खरिदार युक्त श्रेष्ठले आत्महत्या गरेका थिए । बालाजुको माछापोखरीमा रहेको एक भवनको आठौं तल्लाबाट हाम्फालेर श्रेष्ठले आत्महत्या गरेका थिए ।
अख्तियारको अनुसन्धानमा परेपछि सामाजिक प्रतिष्ठा गिरेको भन्दै उनले आत्महत्या गरेका थिए ।
अख्तियारको छानबिन प्रकरणमा परेका कतिपयले आत्महत्या गर्ने क्रम रोकिएन । घुस र साना भ्रष्टाचारमा मुछिएका तल्लो ओहदाका कर्मचारी, कतिपय गल्ती नगरेकाले पनि आत्महत्या गर्न छाडेनन् ।
यो क्रममा त्रिभुवन विश्वविद्यालयका एक पूर्व कर्मचारी रामबहादुर पाण्डेले त्रिपुरेश्वरको राधा भवनबाट हाम फालेर आत्महत्या गरे । पाण्डेविरुद्ध अख्तियारले विद्यार्थीको परीक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।
ठूला र नीतिगत तहका भ्रष्टाचारमा घिमिरे नेतृत्वको अख्तियारले सक्रियता नदेखाएको, परेका उजुरीमाथि गहन र मिहिन अनुसन्धान नभएको असन्तुष्टि नागरिक तहमा देखिएको छ । पछिल्लो पटक ललितानिवास प्रकरणमा नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकै नाम मुछिएको प्रकरणमा पनि अख्तियारले छानबिनको तदारुकता नदेखाउँदा झनै उसमाथिको विश्वासमा ह्रास आउन थालेको छ ।
घिमिरे आफैं पनि सत्तारुढ नेतामाथि छानबिन गर्नका लागि तयार नरहेको, बयानको तयारी गरिरहँदा अवस्था विग्रन सक्ने भनेर नेपाललाई नबोलाइएको विवरणहरू सतहमा आएको थियो ।
यतिमात्र होइन, अख्तियारका जिम्मेवार पदाधिकारीले नै राजनीतिक दल र तिनका नेतामाथि छानबिन थालिए आफूहरूको जागिर नै जान सक्ने भनेर दिएको भनाईले पनि ठूला प्रकरणमा अख्तियार चुक्ने र साधारण कर्मचारीको आत्महत्याको क्रम नरोकिने आँकलन र अनुमान धेरैले गरेका छन् । सर्वसाधारण चर्चामा रहेका वाइडबडी, ललितानिवास प्रकरण, एनसेल प्रकरणमा अख्तियारको गहन अध्ययन र अनुसन्धान नहुनुलाई शंकास्पद हिसाबले बुझिन थालेको छ ।
यस्ता प्रकरणमा आदेश दिनेको काम गरेका व्यक्तिमाथि छानबिन र मुद्दा दायर गर्ने तर ति हाईप्रोफाइल व्यक्तिमाथि अनुसन्धान नहुने विषयमा अख्तियार विवादमा छ ।
त्यसो त भ्रष्टाचार निवार र नियन्त्रणको जिम्मेवारी पाएको संवैधानिक अंगका एक जना आयुक्त राजनारायण पाठककै भ्रष्टाचारप्रकरण सतहमा आएपछि उनले राजीनामा दिनु परेको थियो । अख्तियारले छानबिन गरेको भनिए पनि उनीमाथि गहन हिसाबले अनुसन्धान नभएको भन्ने असन्तुष्टि सतहमा देखिएकै छ ।
‘अख्तियार आफैं विवादमा तानिएका कतिपय प्रकरण छन् । त्यस्ता ठूला प्रकरणमा उसले कुनै पनि प्रकारको नजिर स्थापित गर्न सकेको छैन । बरु, साधारण मानिसको आत्महत्या बढ्नुले शंका उब्जाएको छ’, एक जना पूर्वसचिव भन्छन्,‘अख्तियारमा विश्वसनियता भन्ने नै देखिएन ।’
साना कर्मचारी जसलाई साना माछा भनेर बुझिन्छ तर त्यसका आदेशकर्ता ठूला माछालाई कुनै पनि अनुसन्धान नहुनुप्रति सर्वसाधारणको रोष छ । कतिपयले नजिरका रुपमा देखिएका अख्तियारका कारण आत्महत्या गरेकाहरूको सन्दर्भ जोड्दै सोध्छन्– के सुन, करछली, अर्बौं घोटालाका मुख्य आदेशकर्ता ठूला माछाले आत्महत्या गर्लान् ?


