९२ रोपनी सरकारी जग्गा किर्ते गर्ने मालपोत अधिकृतसहित ६ पक्राउ
९२ रोपनी सरकारी जग्गा किर्ते आरोपमा मालपोत अधिकृतसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीकी ५० वर्षीया मीनाकुमारी थापा, गंगाजमुना–५ दानसिङका ४१ वर्षका रामकुमार सुयाल थापा, कैलालीको चुरे–६ का वर्ष ४६ का रामबहादुर शाह, काठमाडौंको नागार्जुन–७ का ५५ वर्षीय शिवप्रसाद रिमाल, गोरखाको सिरानचोक–१ का ५१ वर्षका बाबुराम शर्मा रेग्मी र ओखलढुंगाको चिसंखुगढी–८ का वर्ष ४६ का योगेन्द्र पोखरेल छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अनुसार उनीहरूले चन्द्रागिरी नगरपालिका–२ को किता नम्बर १०१ को सरकारी जग्गा किर्ते कागजात बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेका थिए । यीमध्ये रिमाल मालपोत कार्यालय कलंकीका तत्कालीन अधिकृत हुन् । अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुर र संगठन अपराध मुद्दामा अनुसन्धान कार्य सम्पन्नपश्चात् जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको ब्युरो प्रवक्ता वेलबहादुर पाण्डेले बताए ।
उनका अनुसार शाहको योजनामा मीनाकुमारीको नाममा नक्कली धनीपुर्जा बनाई त्यसलाई सुयल सञ्चालक रहेको हाउजिङ कम्पनीका नाममा बिक्रीको करारको कागजातसमेत भेटिएको छ । जग्गाको बिगो ५ करोड ८९ लाख ६० हजार कायम गरिएको उनले बताए ।



