चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडाैंमा
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ आज (सोमबार) काठमाडाैं आईपुगेका छन् । आजबाट काठमाडौंमा शुरु हुने चिनियाँ कम्युनिष्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरक्रियाका लागि सोङ आएका हुन् । उनी थाइल्याण्डबाट आज दिउँसो १२ः२५ मा त्रिभुवन विमानस्थल आईपुगेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराएका छन् ।
नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा सोङ नेपाल आएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै ४० जना काठमाडौं आइसकेका छन् ।
सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच पहिलो पटक वैचारिक छलफल हुन लागेको हो । यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपालि चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो ।
राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ । २३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका छन् । दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन्, जसलाई चीनमा माओत्सेतुङपछिकै वैचारिक विकास मानिएको छ ।
काठमाडौंको होटल याक एन्ड यतिमा असोज ६ र ७ गते हुने कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने जनाइएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुई कार्यपत्र प्रस्तुत हुनेछन् ।
नेपालका तर्फबाट प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सैद्धान्तिक अवधारणा र यसको विकासक्रमबारे सम्वोधन गर्ने कार्यक्रम छ भने चिनियाँ पक्षबाट प्रस्तुत हुने तीन वटा कार्यपत्र राष्ट्रपति तथा पार्टी महासचिव सी चिङफिङले अघि सारेका महत्वाकांक्षी विकास अवधारणा र पार्टीको सैद्धान्तिक अवधारणाबारे हुनेछन् ।
‘दुबै देशका कम्युनिष्ट पार्टीबीच रहेका समानता र भिन्नताबारे कार्यकर्तालाई प्रष्ट हुने अवसर मिल्ने छ’, विदेश मामिला विभाग उपप्रमुखले भने, ‘यसबाट चीनले कसरी पार्टी चलाइरहेको छ भन्ने थाहा हुनुका साथै उनीहरुको विकास अवधारणाबारे पनि जानकारी हुनेछ ।’
कार्यक्रमकै बीचमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच समझादारीपत्रमा हस्ताक्षर हुने योजना छ । नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले दुई पार्टीबीचको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् ।
यसअघि चिनियाँ कम्युनिष्ट पार्टीले तत्कालीन एमाले र माओवादीसँग अलग–अलग सम्बन्ध राख्दै आएकामा नेकपा बनेपछि नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्न लागिएको थाहा भएको छ ।


