रेशम चौधरी कारागारमुक्त हुने प्रचण्डको संकेत



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको टीकापुर घटनाको मुद्दामा कारागारमा रहेका रेशम चौधरी चाँडै बाहिर आउने संकेत दिएका छन् ।

सुनसरीमा आइतबार जितिया पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले टीकापुर घटनाका मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइसकेको जानकारी गराएका छन् । उनले टीकापुर घटनाका विषयमा केही दिनअघि मात्र बालुवाटारमा छलफल भएको जानकारी गराएका छन् ।

‘यहाँ टीकापुर घटनाको पनि सन्दर्भ आयो । भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुठा मुद्दाहरू खारेज गर्ने सैद्धान्तिक निर्णय गरेका छौं र खारेजीको प्रक्रियामा अघि बढिएको छ,’ प्रचण्डले भने, ‘मलाई विश्वास छ केही समयपछि झुठा मुद्दाहरू खारेज हुन्छन् । थारूहरू जो अहिले पनि बन्दी अवस्थामा रहेका छन् । उनीहरू मुक्त हुन्छन् ।’

सम्वोधनका क्रममा टीकापुर घटनाकाको मुद्दामा अहिले जेलमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि स–सम्मान जेलमुक्त हुने प्रचण्डले संकेत गरेका छन् ।

‘जनताको मतबाट जितेका माननीयहरूलाई स–सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु,’ प्रचण्डले भने । आफूले नेतृत्व गरेको माओवादी आन्दोलनका क्रममा जेल परेकाहरू अहिले पनि जेलमै रहेकाले टीकापुर घटनामा जेल परेकाहरूको पीडा आफूले बुझेको प्रचण्डले बताए ।

‘मेरै आन्दोलनका दर्जनौं साथीहरू अहिले पनि जेल छन् । त्यो पीडा मभित्र कति धेरै होला त्यो बुझिदिन आग्रह गर्दछु,’ उनले भने । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही मुद्दामा चौधरीसहित ५८ जनाविरूद्ध अदालतमा मुद्दा परेको थियो ।
कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरीलाई जन्मकैदको सजाय तोकेको छ ।

न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एक जनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको छ । चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ ।

उनीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ । तीमध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ । पुर्पक्षका लागि जेलमै रहँदा चौधरीले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत उम्मेद्वारी दिएका थिए । उनी कैलाली १ बाट भारीमत ल्याएर सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...