मन्त्री भट्टराईले भने निगमको टिकटका बक्यौता राख्ने कसैलाई छाडिन्न
नेपाल वायु सेवा निगमको सञ्चालक समितिको बैठक राखी चाँडै नै टिकटका बक्यौता रकम उठाउने तयारी गरिएको छ ।
पर्यटन, नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारी निकाय, शक्तिशाली व्यक्ति वा जो कोहीले तिर्न बाँकी रकमलाई छुट दिन नसिकने बताउँदै निगमको सुधारका निम्ति कठोर निर्णय गरिने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलगायत शक्तिशाली व्यक्तिहरू र कतिपय सरकारी निकायले निगमको बक्यौता रकम तिरेका छैनन् । मन्त्री भट्टराई स्वयम्ले नै पूर्वराजाले मात्रै चार करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको खुलासा गरेका थिए ।
व्यक्ति अथवा सरकार कसले तिर्ने त्यस विषयमा पनि सञ्चालक समितिको बैठक बसेपछि निर्णय हुने उनले बताएका छन् ।
यतिमात्र नभएर निगमको सुधारका निम्ति र नयाँ जहाज खरीद गरी व्यावसायीक हिसाबमा बलियो बनाउन सार्वजनिक नीजि लगानी मोडालिटीका विषयमा पनि छलफल अगाडि बढेको उनले जानकारी दिएका हुन् ।
एउटा अन्तरवार्ताका क्रममा मन्त्री भट्टराईले त्यस्तो जानकारी दिएका हुन् । निगम सुधारका निम्ति बनेको कार्यदलको प्रतिवेदन केही दिन अघि बुझेका भट्टराईले अब निगमलाई बलियो बनाउनका निम्ति कुनै कसर बाँकी नराख्ने पनि उल्लेख गरेका छन् ।
‘६ वटा कार्यदलले सुझाव पढेको छु । यो कार्यदल अन्तिम हो पनि भनिएको छ । त्यहि सुझाव समय सान्दर्भिक छ । मन्त्रालयको तर्फबाट अध्ययन गरी कतिपय निर्णय मन्त्रिपरिषद्मा जान्छ । तत्काल व्यवस्थापनको विषय कार्यान्वयनमा जान्छ’, उनले भनेका छन् ।
कर्मचारी संचय कोष, नागरिक लगानी कोषलगायतसँग पनि छलफल गरी सार्वजनिक नीजि साझेदारी अन्तर्गत कम्पनी मोडलमा जाँदा सहभागीता कस्तो हुन्छ भन्ने विषयमा छलफल हुने बताएका मन्त्री भट्टराईले आर्थिक विशेषज्ञसँग पनि छलफल गरिने जानकारी दिएका छन् ।
‘कम्पनीमा रुपान्तरण गर्ने हो, दिर्घकालिन हिसाबले व्यवस्थापकीय मोडालिटी खोज्ने विषयमा अघि बढ्नका लागि सबै पक्षसँग परामर्श गरी राय संकलन गरिनेछ’, उनले भनेका छन्,‘व्यवस्थापन, आन्तरिक व्यवस्थापन बढाउन सरकारले विशेष भुमिका खेल्छ । त्यसबेला नीजि देशी तथा विदेशी कम्पनीले खोज्नेछन् ।’


