नेकपा नेता थापा भन्छन तथ्य आफै बोल्छ
* नेपाल एयरलाइन्सले २0७६ असोज १ गतेदेखि ७0 बर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५0 प्रतिशत छुटको घोषणा गरेको छ । यो एउटा स्वागतयोग्य कदम हो !
** केहीअघि नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईद्वारा गठित विज्ञहरू सम्मिलित कार्यदलले असोज १ गते नै नेपाल वायुसेवा निगम हाल ५ अर्ब २१ करोड ७६ लाख नोक्सानमा रहेको र ४0 अर्ब ऋणको व्ययभार पनि खेपिरहेको तथ्य समेटिएको प्रतिवेदन बुझाएको छ ।
निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एअर बस विमान रहेको र ३ अर्ब ६0 करोड ७0 लाख जिन्सी सम्पत्ति रहेकोसमेत उल्लेख छ ।
*** हाल निगमका अन्तर्राष्ट्रिय उडानका लागि उपलब्ध ४ जहाजहरुको सरदर उडान क्षमता १५-१६ घण्टा हो । तर दैनिक सरदर ८-११ घण्टा मात्र उड्ने गर्दा नेपाल एयरलाइन्सले मुनाफा कमाउन नसकेको कार्यदलको निष्कर्ष रहेको छ । कार्यदलले निगमलाई कम्पनी बनाएर संचालन गर्नसमेत सुझाव दिएको छ। यसो भन्नुको मतलब निगमको निजीकरण गर्न नै मार्गप्रशस्त गरिएको हुनुपर्छ !
नेपाल वायुसेवा निगम यति ठूलो आम्दानी(मुनाफा?)को अवस्थबाट गुज्रिरहेका बखत संभवतः संसारमै पहिलोपटक यहाँ थालिएको छ – ज्येष्ठ नागरिक यात्रुहरूको लागि ५0 प्रतिशत हवाई भाडामा सहुलियत दिने कार्यक्रम ! यो खासमा अत्यन्त लोकप्रिय कार्यक्रम हो । यसको जति प्रशंसा गरे पनि कम हुन्छ !
यस बिषयमा अब संभवतःहार्वर्ड र क्याम्ब्रिज विश्वविद्यालयका रिसर्च फेलोहरू र व्यवस्थापन विषयका प्राध्यापकहरु नै केसस्टडी गर्न नेपाल आउने (र, नेपाल भ्रमण बर्ष सन् २0२0 सफल पार्न योगदान गर्नेसमेत) ढोका खुलेको छ । कार्यदलले पक्कै पनि यति राम्रो र प्रतिवेदन बुझाउनुअघि नै निगमले कार्यान्वयन आरम्भ गरिहाल्ने खालको उच्च कोटीको सुझाव अवश्यमेव दिएकै हुनुपर्छ । यसनिम्ति कार्यदललाई विशेष ध्यवाद दिनैपर्छ !
नेपालमा थालिएको यस कार्यक्रमलाई अब ७00 भन्दा बढी वाइडबडी जहाज रहेको चाइना साउदर्न, ४00 बढी जहाज रहेको चाइना एयर, २२५ भन्दा बढी जहाज रहेको रसियाको एरोफ्लोट, थाई एयरलाइन्स, कतार एयर, टर्किस र एयर इण्डियालगायत सबै हवाई सेवाहरूले अविलम्ब अनुकरण गरी आआफ्ना ज्येष्ठ नागरिक यात्रुहरूलाई सुविधा र सहुलियत दिने घोषणा गरेर आशिर्वाद लिन अवश्य नै सिक्ने छन् । नेपालको निजी क्षेत्रका वायुसेवा संचालकहरुको घोषणा र अफर त दशैंको उल्लासका सम्मुखसम्म आइहाल्ने नै छ ।
सगरमाथाको देश नेपालले थालनी गरेको यो कामको सिको गरेर कार्यान्वयन गर्न देशविदेशका वायुसेवा संचालकहरुलाई खासमा कुनै प्रकारको समस्या नै छैन । त्यसैले, नेपालको यो थालनी सिङ्गो विश्वको लागि एउटा नमुना र प्रेरक कार्यक्रमका रूपमा विशेष लोकप्रिय बन्ने दृढ विश्वास गर्न सकिन्छ । उर्जावान मन्त्रीले निगमलाई एक रुपियाँ भए पनि संचालन मुनाफामा लैजाने कार्यक्रमसहित ५0 प्रतिशत सहुलियतको यो बजारीकरण प्याकेज पनि साथसाथै ल्याएको भए यस सुनौलो कदममा अझ मखमली सुगन्धसमेत थपिने पक्का थियो ।
तैपनि अब वाह (!) नेपाल एयरलाइन्स भन्ने अवस्था हाम्रो पालामा नै बन्ने भयोजस्तो छ । किनकि १५ लाख ज्येष्ठ नागरिकले त वाह भन्न थालिनै सके ।
(नेपाल सरकार, अर्थमन्त्रालयले यसमा पक्कै पनि सहमति प्रदान गरेको नै होला ! किनभने बजेट वक्तव्यमा यति लोकप्रिय कार्यक्रम समेटिन छुट र भूल त भएकै थियो !)