डेंगु नियन्त्रणमा सरकार असफल हुनुका ५ कारण



हाम्रो इकोनोमि

 

दुई साताअघि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘डेंगु नियन्त्रण बाहिर गइसक्यो । मन्त्रालय एक्लैले नियण्त्रण गर्न सक्दैन । सेना प्रहरी परिचालन गरेर डेंगु नियन्त्रण गर्नुपर्ने अवस्था आइसक्यो ।’

मन्त्री यादवको यो अभिव्यक्ति आउँदा काठमाडौंमा भर्खर डेंगु संक्रमितहरू भेटिन थालेका थिए ।  ५६ जिल्लामा डेंगु फैलिसकेको थिएनन् । डेंगुकै कारण ६ जनाले ज्यान गुमाएका थिएनन् ।

तर, मन्त्री यादवले अभिव्यक्ति दिएको २ सातामा ६ जना डेंगु संक्रमितले ज्यान मात्र गुमाएनन्, डेंगु राज्यको नियन्त्रण बाहिर नै गइसक्यो । डेंगु नियन्त्रण गर्न असफल भएको भन्दै संसदमा सरकारमाथि प्रश्न उठेको छ ।

पहिलो कारण : स्वास्थ्यमन्त्रीको मौनता

मौनता र उपेन्द्र यादव यतिबेला पर्यायवाची जस्तै छन् । सचिव विवाददेखि बर्ड फ्लूसम्म उनी चुप छन् । उनले त्यही सिलसिलालाई डेंगु महामारीमा पनि निरन्तरता दिएका छन् ।

स्वास्थ्य मन्त्रालय मन्त्री यादव डेंगु नियन्त्रणमा मौन रहेको स्वीकार गर्न तयार छैन । स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ‘उहाँ (मन्त्री यादव) यतिबेला सम्बन्धित निकायसँग छलफलमा व्यस्त छन् । डेंगु नियन्त्रण गर्न निर्देशन दिइसकेका छन् ।’

के निर्देशन दिए त ? खोज र नष्ट गर भन्ने बाहेक अरू निर्देशन दिएको थाहा छैन ।

दोस्रो कारण : मन्त्रालयसँग पूर्वयोजनाको अभाव

डेंगु नेपालको लागि नयाँ महामारी होइन । हरेक वर्ष डरलाग्दोसँग डेंगु फैलिने गरेको छ । आर्थिक वर्ष ०६०/६१ मा एकजना मात्र डेंगु संक्रमित भेटिएकामा आ व ०६६/०६७ मा यो संख्या ९१५ पुग्यो । डेंगु संक्रमित पाँच जनाको ज्यान पनि गयो ।

यस्तै आव ०७२/७३ मा एक हजार ५२९ जना र ०७५/०७६ मा तीन हजार ४२५ संक्रमित भेटिएका थिए । सरकारकै तथ्यांकले हरेक वर्ष डेंगु संक्रमितहरु बढेको देखाउँछ । तर, स्वास्थ्य मन्त्रालयले तथ्यांक हेरेर न कुनै योजना बनायो, न त डेंगु नियण्त्रण गर्ने प्राविधिक तयार गर्नमा जुट्यो । स्वास्थ्यमन्त्री यादवले इन्टोमोलोजिष्टहरुलाई समेत (किट विज्ञान विशेषज्ञ) वेवास्ता गरे ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. केदार सेञ्चुरी आफू निर्देशक पूर्व तयारी गर्ने गरेका कारण डेंगुको महामारी फैलिन नपाएको बताउँछन् । उनी महानिर्देशक हुदाँ बर्दिया, चितवन, तराईका केही जिल्लामा डेंगु देखिएको थियो । त्यतिबेला तत्काल स्वास्थ्यकर्मी र प्राविधिक टोली पठाइएको थियो ।

‘कुनै महामारी फैलिँदा के गर्ने भनेर योजना बनाएका हुन्थ्यो, जस्का कारण महामारी फैलनासाथ एक्शनमा उत्रिन्थ्यौं र नियन्त्रण गर्न सजिलो हुन्थ्यो’ सेञ्चुरी भन्छन्, ‘अहिले कुनै योजना नबनाएका कारण डेंगु नियन्ण बाहिर गएको देखिन्छ ।’

तेस्रो कारण : संघीयतालाई दोष दिएर इपिडिमियोलोजी पन्छिनू

डेंगु लगायतका किटजन्य रोग नियन्त्रणका लागिमन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रकोप रहेको क्षेत्रमा औषधि पठाउने तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यलयहरुलाई निर्देशन दिने कार्य गर्ने गर्थ्यो ।

तर, संघीयता संरचनामा गएसँगै त्यो अधिकार आफूहरुलाई नरहेको भन्दै महाशाखा पन्छिएको छ । महाशाखाकाअनुसार अहिले स्थानीय तह र केन्द्र सरकारबीच यस्ता विषयमा के कसरी काम गर्ने स्पष्ट मापदण्ड समेत बनेको छैन ।

स्थानीय तहलाई निर्देशन दिने अधिकारसमेत नभएकाले रोग निन्त्रणको पहल गर्न नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक कर्ण बताउँछन् ।

डा. लालको तर्क छ, रोग नियन्त्रणको जिम्मेवारी स्थानीय तहको हो । महाशाखालाई आउने बजेट नीति निर्माण र तालिमका लागि हो । उनी भन्छन्, ‘डेंगु नियन्त्रण गर्न हामी आफैंले पनि काठमाडौँ महानगरपालिकालाई गुहार्नुपर्छ ।’

तर, देशभर प्रकोप बढ्दा अधिकार छैन भनेर इपिडिमियोलोजीका अधिकारीहरु पन्छिन नमिल्ने डा सेञ्चुरीको तर्क छ । ‘हाम्रो जिम्मा होइन, बजेट छैन भनेर पन्छिन मिल्दैन, बजेट नभएपनि सबै निकायसँग समन्वय गर्नुपर्छ’ उनी भन्छन्, ‘यो अवस्थामा विशेष रुपमा नलागेसम्म डेंगु नियन्त्रण गर्न गाह्रो छ।’

चौथो कारण : खोज र नष्ट गर कार्यक्रम प्रभावकारी नहुनू

डेंगुको प्रकोप बढेसंगै स्वास्थ्य मन्त्रालयले खोज र नष्ट गर नारा अघि सारेको छ । त्यही कार्य्रक्रमको अनुरुप काठमाडौँ भक्तपुर र ललितपुरको केही क्षेत्रमा फगर मेशिन चलाइयो । चिकित्सकहरुकाअनुसार वस्तीमा फगर मेसिन चलाएर डेंगु सार्ने लामखुट्टे र त्यसका लार्भा नष्ट हुन्न । किनकप् डेंगु सार्ने एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टे विशेष गरी झाडीमा भन्दा घरमा बस्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि वस्तीमा फगर मेसिन चलाउनु गलत भएको बताउँछन् । उनकाअनुसार डेंगु गराउने लामखुट्टे त घरभित्र मानिसहरु सँगै हुन्छ । त्यसैले वस्तीमा फगर मेसिन चलाएर मानव स्वास्थ्यमा असर पर्छ तर घरभित्र बसेको लामखुट्टेलाई केही असर हुन्न ।

पाँचौ कारण : दक्ष जनशक्तिको अभाव

डेंगु नियण्त्रण गर्नको लागि दक्ष र तालिम प्राप्त इन्टोमोलोजिष्टहरु चाहिन्छ । उनीहरुले डेंगु जस्ता प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्छन् । डेंगुको औषधि कसरी गर्ने भन्नेबारेमा उनीहरुलाई मात्र राम्रो जानकारी हुन्छ ।

तर, स्वास्थ्य मन्त्रालयले इन्टोमोलोजिष्टको दरबन्दी छुट्याएको छैन । डेंगुजस्तो रोग नियन्त्रण गर्ने कामका विशेषज्ञसहितका करीब ८० जनाको समूहलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवकै पालामा गत वर्ष जगेडामा राख्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...