मन्त्रीका कारण होइन, हुलहुज्जत गर्नेकै कारण उडान ढिला



 

शनिबार दक्षिण कैलालीको टीकापुर पार्कमा डल्फिन महोत्सव आयोजना गरिएको थियो । प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ।

आइतबार (आज) संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुपर्ने भएकाले भट्टराईलाई शनिबारै धनगढी विमानस्थलबाट काठमाडौं फर्कनुपर्ने थियो । तर, आयोजकले कार्यक्रम ढिला शुरू गरिदिए  । ढिलो सुरु भएपछि सकिन पनि ढिलो हुने नै भयो ।

धनगढीबाट काठमाडौं फर्कन असम्भव देखिएपछि नेपालगञ्ज विमानस्थलबाट काठमाडौं फर्कने चाँजोपाँजो मन्त्रीको सचिवालयले मिलायो । मन्त्री भट्टराईको सचिवालयका अनुसार नेपालगञ्ज विमानस्थलबाट अन्तिम उडान साँझ ६ः२५ को थियो । त्यतिबेलासम्म आइपुग्न भनेको थियो बुद्ध एअरले ।

बीच बाटोमै थाहा भयो– बुद्ध एअरको विमान नेपालगञ्ज आउन नै ढिला भयो । विमान ६ः३२ मा मात्र नेपालगञ्ज एअरपोर्टमा अवतरण भयो । ६ः४० मा यात्रुले बोर्डिङ पास लिन थाले । भट्टराईको सचिवालय भन्छ– बोर्डिङ शुरू भएपछि मन्त्रीसँग बुद्ध एअरका कर्मचारी र विमानस्थल प्रमुखको कुराकानी भएको थियो र ६ः५० सम्म आइपुग्न अन्तिम समय दिइएको थियो ।

सबै यात्रुको बोर्डिङ हुन १० मिनेट लाग्ने र त्यहीबीचमा मन्त्री आइपुग्ने कर्मचारीले अनुमान गरेका हुनसक्ने सचिवालय बताउँछ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही र उनका केही साथी पनि सोही विमानबाट काठमाडौं फर्कंदै थिए । उनीहरुले मन्त्रीका कारण बोर्डिङ ढिलाइ भएको थाहा पाए । ६ः४९ मा विमानबाट ओर्लिएर उनीहरुले नै हुलहुज्जत गर्न थालेको मन्त्रीको सचिवालयको जिकिर छ ।

निर्धारित तालिकाअनुसार ६ः५० मै विमान उडेको भए मन्त्री छुट्ने थिए, किनभने त्यतिबेलासम्म मन्त्री विमानस्थल आइपुगेकै थिएनन् ।  तर ज्ञानेन्द्र शाहीलगायत जहाजबाट ओर्लिएर रनवेमै नाराबाजी गर्न थालेपछि विमान उड्न नपाएको मन्त्रीको सचिवालयको तर्क छ ।

“६ः५६ मा हामी आइपुगेका थियौं । ६ः५८ मा जहाजभित्र पसेका थियौं । ७ः०१ मा विमान उडेको थियो, ८ः०५ मा काठमाडौं अवतरण भएको थियो । मन्त्रीका कारण जम्माजम्मी २० मिनेट ढिला भएको हो,” सचिवालयको प्रष्टीकरण छ ।

जहाजभित्र यात्रुलाई मर्का पर्नेगरी दुर्व्यवहार हुनु दुखद्

मन्त्री भट्टराईलाई रनवेदेखि नै दुर्व्यवहार शुरू भएको सचिवालयको जिकिर छ । “सीधै पारस शाहको हस्ताक्षर प्रकरणसँग जोडेर मन्त्रीलाई दुर्वचन बोलियो ।  तैँ होइनस् पारस शाहविरुद्ध हस्ताक्षर गर्ने ? भनियो । हामीले नियत बुझ्यौँ,” सचिवालय भन्छ ।

ज्ञानेन्द्र शाही नियोजित रूपमा प्रस्तुत भएको र उनले भनेझैं दुई घण्टा जहाज डिले नभएको सचिवालयको तर्क छ । “आफैँ रनवेमा आएर नाराबाजी गर्ने, हुलहुज्जत गर्ने, जहाजभित्र क्रू सदस्यलाई डिस्टर्ब हुनेगरी तथानाम भन्ने, पञ्चायतको नाम लिएर गणतन्त्रको हुर्मत लिने ! उहाँहरूको नियत प्रष्ट हुँदैन र ?,” सचिवालय भन्छ ।

जहाजभित्र रहेका यात्रुलाई समेत मर्का पर्नेगरी मन्त्रीलाई दुर्व्यहार हुनु दुखद् रहेको सचिवालयको भनाइ छ । “समयको व्यवस्थापन नहुँदा यात्रुलाई पर्न गएको मर्काप्रति भने हामी क्षमाप्रार्थी छौं,” मन्त्रीको सचिवालय भन्छ, “आगामी दिनमा समयको ख्याल हुनेछ ।”

मन्त्री भन्छन्– संसदमै जवाफ दिन्छु

मन्त्री भट्टराई भने शनिबारै सामाजिक सञ्जालमा प्रष्टीकरण दिइसकेकाले अतिरिक्त जवाफ दिनु नपर्ने बताउँछन् । यद्यपि प्रश्न उठिसकेकाले संसदमै सबैकुरा प्रष्ट्याउने उनले जानकारी दिए । “धेरै त मैले फेसबुकबाटै प्रष्ट पारिसकेको छु । अझै अन्योल छ भने संसदमा पनि यसबारेमा बोल्छु,” उनले बाह्रखरीसँग भने ।

आइतबार (आज)को प्रतिनिधिसभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित विषयमा आफूले जवाफ दिने कार्यसूची रहेको मन्त्री भट्टराईले बताए । यही मेसोमा हिजोको घटनासँग जोडिएका सन्दर्भ प्रष्ट पार्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्