लुक्ला मा हवाई दुर्घटना
नयाँ वर्षकै दिन दुई जनाको मृत्यु हुने गरी लुक्लामा भएको हवाइजहाज दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि भएको निष्कर्ष निस्केको छ ।
छानविन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा पाइलटले समयमै उचित निर्णय लिन नसक्दा जहाज दुर्घटना भएको उल्लेख छ ।
जहाजका दुबै इन्जिन कन्ट्रोल गर्ने ‘पावर लिभर’ लाई सही तरिकाले उपयोग गर्न नसक्दा जहाज दायाँतर्फ मोडिएको र पाइलटले त्यसलाई सच्याउने निर्णय लिनु अगाडि नै जहाज दुर्घटनामा परेको छानविन आयोगको निष्कर्ष रहेको छ ।
मन्त्रालयस्रोतका अनुसार जहाज, इन्जिन तथा अन्य सबै अवस्था सही थियो । कुनै पनि उपकरणमा खराबी थिएन । पावर लिभर नामक उपकरणका माध्यमबाट दुबै इन्जिनलाई कन्ट्रोल गरिन्छ । कारणबस् यसले दुबै इन्जिनमा काम नगर्दा जहाज दायाँतर्फ मोडिएको थियो ।
त्यसको दुई–तीन सेकेण्डमै दुर्घटना भयो । यदि फराकिलो धावनमार्ग भएको भए या भिरालो संरचना नभएको भए पनि पाइलटसँग जहाज नियन्त्रणमा लिनसक्ने समय हुने र जहाज दुर्घटना हुने सम्भावना टर्ने सम्भावना रहेको आयोगको निष्कर्ष रहेको छ ।
१ वैशाख २०७६ मा भएको समिट एयरको ९एन–एएमएच, एलइटी–४१० वायुयान दुर्घटनामा पर्दा एक प्रहरी र को–पाइलटको निधन भएको थियो । लुक्ला विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको जहाज धावन मार्गमा चिप्लिएपछि ग्राउण्डमा रहेका प्रहरी असई रामबहादुर खड्कालाई किचेको थियो भने समिटकै को–पाइलट सुदीप ढुंगानाको निधन भएको थियो । धावनमार्गबाट चिप्लएको जहाजले मनाङ एयरको हेलिकोप्टरलाई किचेको थियो ।
दुर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानविन आयोग गठन गरेको थियो ।
प्रारम्भिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड तथा नेपालको प्रचलित कानून बमोजिम सम्बन्धित मुलुक तथा निकायमा पठाएर ६० दिनसम्म राय सुझाव लिने र त्यसका आधारमा अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रालयले जानकारी गराएको छ ।


