यसरी फायर खोल्ने भए गच्छेदारले कांग्रेसमा



हाम्रो इकोनोमि

 

क्रियाशील सदस्यता, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र ईकाईदेखि केन्द्रसम्म आफूले चाहेअनुसार नभए पार्टी ब्रेक गर्ने चुनौति नेतृत्वलाई दिईरहेका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार समूहको व्यवस्थापन पार्टी सभापति शेरबहादुर देउवाको लागि टाउको दुखाई र तनवाको विषय बनेको छ ।

आफूलाई भन्दा अर्का उपसभापति विमलेन्द्र निधीलाई बढी विश्वास गरेकोमा समेत गच्छेदार देउवासँग असन्तुष्ट छन् । गत आम निर्वाचनको पूर्व सन्ध्यामा गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांग्रेसमा सशर्त विलय भएको थियो । तर ती शर्तहरु पालनामा ढिलाई हुँदै गएपछि गच्छदार समूह असन्तुष्ट बनेको बताईन्छ ।

समायोजनले पूर्णता नपाएसम्म नेपाली कांग्रेसद्वारा आयोजना हुने कुनै पनि कार्यक्रममा भाग नलिने भन्दै गच्छदार समूहले कांग्रेस नेतृत्वलाई चेतावनी दिएको छ ।

स्रोतका अनुसार पार्टी एकीकरणका बेला गच्छदारले आफ्नो समूहबाट २५ हजारको नामावली पठाएका नेतृत्वलाई बुझाएका छन् । यो नामावलीलाई छनविन गर्ने निर्णय नेपाली कांग्रेसले यसअघि नै गरिसकेको छ । यसैगरी निकट भविष्यमा हुन गइरहेको वडा समिति तथा पालिका समिति गठनमा गच्छेदारका क्रियाशील सदस्यहरुले भाग लिन पाउने कि नपाउने ? भन्ने मुद्दा पनि धेरै पेचिलो बन्दै गएको छ ।

नेपाली कांग्रेसका अधिकांश नेताहरुले आगामी १४ औं महाधिबेशनको प्रयोजनका लागि हुने वडा तथा पालिका महाधिबेशनमा मात्रै गच्छेदारका क्रियाशील सदस्यहरुले भाग लिन पाउने अडान राख्दै आएका छन् । सभापति देउवा पनि यही अडानको पक्षमा छन् । यस विषयमा समेत गच्छेदारले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । गच्छदारलाई पार्टी उपसभापति तथा संसदीय दलको उपनेता बनाउने तर अन्य नेता कार्यकर्ताले भने १४ औं महाधिबेशनसम्म पर्खनु पर्ने अवस्था उत्पन्न भएपछि असन्तुष्टि बढेको गच्छेदार निकट एक सदस्यले बताए । उनले गच्छेदार समूहको माग सम्बोधन नभए पार्टीमा रहने कि नरहने भन्ने विषयमा आफूहरु छलफलमा रहेको बताए ।

यदि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गच्छदारसँग लागेर कांग्रेस फुटाउ तिमीहरुलाई मन्त्री बनाइदिन्छु’ भनेर बचन दिने हो भने गच्छदार सफल हुने अवस्था छ । भित्रभित्रै गच्छेदारले यो गृहकार्य गरेको हुनसक्ने अनुमान पनि गरिएको छ । त्यस्तै समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवसँग पनि गच्छेदारको बाक्लो भेटघाट र कुराकानी भईरहेको छ ।

तथापी गच्छेदारको यो असन्तुुष्टि कुन बेला कसरी प्रकट हुन्छ, हेर्न बाँकी छ । गच्छेदारको असन्तुष्टि अभिव्याक्तिमा नभएर ‘एक्सन’ मार्फत प्रकट हुने गरेको विगतको नजीरलाई हेर्दै कतिपयले कडा कदम चाल्न सक्ने बताउछन् । कुनैबेला गिरिजाप्रसाद कोइरालाका अत्यन्त निकटस्थ रहेका गच्छेदार कोइरालाले छोरी सुजातालाई अघि सारेपछि असन्तुष्ट बनेका थिए ।

यो असन्तुष्टि अभिव्यक्तिको माध्यमबाट प्रकट मात्र गरेनन् एकाएक शेरबहादुर देउवा पक्षमा लागेर कोईरालालाई चक्मा दिए । त्यसो त शेरबहादुर देउवासँग पनि उनको लामो समयसम्म सहकार्य चलेन । देउवासँगै पार्टीमा रहँदा पनि गच्छेदारले आफ्नो असन्तुष्टिलाई अभिव्यक्तिबाट नभएर ‘एक्सन’बाटै जवाफ फर्काउदै उनले सभापति देउवाविरुद्ध संसदीय दलको नेता पदमा उमेदवारी दिन पुगे ।

२०६४ सालको संविधानसभा निर्वाचनमा गच्छेदारलाई कोइराला र देउवाले टिकट वितरण गर्ने समितिमा राखेनन् । त्यसपछि असन्तुष्ट गच्छदारले कोइराला र देउवा दुवैलाई आफ्ना १५ जनाको लिष्ट बुझाउँदै भने– यिनीहरुले टिकट पाउनु पर्छ । तर कोइराला र देउवाले १५ मध्ये पाँच जनालाई मात्रै टिकट दिए । तत्काल गच्छेदारले फायर खोले कांग्रेसको ठूलै जत्था लिएर उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम प्रवेश गरे । आफूले भनेका १५ जनालाई नै फोरमबाट टिकट दिलाएर चुनाव समेत जिताए ।

यसरी एक्सनबाट आफ्नो असन्तुष्टि प्रकट गर्ने गच्छेदारले यतिबेलाको आफ्नो असन्तुष्टिलाई देउवाले समयमै संवोधन नगरे अप्रिय निर्णय लिने चेतावनी सभापति देउवालाई दिइसकेका छन् । गच्छेदारको चेतावनी के होला ? नेपाली कांग्रेसभित्र यो प्रश्न निकै पेचिलो बनेको छ । गच्छेदार नेपाली कांग्रेस विभाजन गरेर बाहिरिन सक्ने अनुमान धेरैले गरेका छन् ।

तर पार्टी विभाजनका लागि ४० प्रतिशत सांसद चाहिन्छ । गच्छदार सँग ५ जना मात्रै रहेको छ । बाँकी २० जना कसरी जुटाउलान ? भन्ने प्रश्न महत्वपूर्ण हो । तर, नेपाली कांग्रेसका ६३ जना सांसदको सूचीमा उमेश श्रेष्ठ, विनोद चौधरी, सूर्यबहादुर केसी, कुमार खड्का जस्ता अवसरको खोजी गरिरहेकाहरुको संख्या निकै ठूलो छ ।

उता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने उपसभापति गच्छेदारका मागहरुलाई नेतृत्वले सकारात्मक ढंगले लिएको बताउछन् । उनले भने – उहाँले उठाएका विषयमा नेतृत्वबीच छलफल चलिरहेको छ । केन्द्रीय समितिको बैठकले आवश्यक निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...