प्रचण्डको गृहजिल्ला चितवनमा ओली समूह पत्तासाफ, नेपाल समूहको बहुमत



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका ७ स्थानीय तहका ९८ वडा कमिटीको नेतृत्वमा भागबन्डा गरेको छ । साविक नेकपा एमालेले र माओवादी केन्द्रवीच वडाको नेतृत्वमा भागबन्डा गरिएको हो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वटा वडामा पूर्वएमाले र १४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति गरेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिकाका १३ वडामध्ये ७ वटा पूर्वएमाले र ६ वडा पूर्वमाओवादीको भागमा परेको छ । यस्तै, खैरहनी नगरपालिकाका १३ मध्ये ७ वटा पूर्वएमाले र ६ पूर्वमाओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्व माओवादीको भागमा ८/८ वडा परेका छन् ।

कालिका नगरपालिकाका ११ वडामध्ये ६ वटा पूर्वएमाले र ५ वटा पूर्वमाओवादीको भागमा परेको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका ७ वडामध्ये ४ वटा पूर्वएमाले र ३ वटा पूर्वमाओवादी केन्द्रको भागमा परेको अध्यक्ष परियारले जानकारी दिए । यस्तै, माडी नगरपालिकाका ९ वडा मध्ये ५ वटामा पूर्वएमालेले र ४ वटा वडा कमिटीको नेतृत्व पूर्वमाओवादीले गर्ने भएका छन् ।

 

कमिटीमा यसरी भयो सहमति

स्थानीय तहका कमिटीहरुमा कसै ६०/४० को हाराहारीमा त कतै एकाध अंकले तलमाथि हुने गरी पूर्वएमाले र पूर्वमाओवादीवीच एकता टुंगो लगाइएको छ ।

कुल १२५ सदस्यीय भरतपुर महानगर कमिटीमा पूर्वएमालेका भागमा ६५ र पूर्वमाओवादीको भागमा ६० जना सदस्य रहने सहमति भएको छ ।

महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो नलाग्दै नगर कमिटीका सदस्यहरुको भागवण्डा गरिएको छ । महानगरपालिकाको इञ्चार्ज भने महानगरपालिकाकी मेयर रेनु दाहाल छिन् ।

इच्छाकामना गाउँ कमिटीमा ४० जना पूर्वएमालेका र ३५ जना पूर्वमाओवादी केन्द्रका सदस्य रहने छन् । यस्तै, माडी नगरपालिकामा ४० जना पूर्व एमाले र ४१ जना पूर्वमाओवादीका सदस्य नगरकमिटिमा रहने छन् ।

पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्वएमालेका तर्फबाट ४३ र पूर्वमाओवादीबाट ३८ जना रहने गरी नगर

कमिटी गठन गर्ने निर्णय भएको अध्यक्ष परियारले जानकारी दिए । बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुंगो लगाएको छ ।

क्षेत्र नम्बर १ र २ को प्रतिनिधि सभा क्षेत्र समन्वय समितिको संयोजक पूर्वएमालेको भागमा र क्षेत्र नम्वर ३ पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

प्रदेश सभा क्षेत्र समन्वय समिति अन्तर्गत चितवन १ (क) मा पूर्वमाओवादी केन्द्र, १ (ख) मा पूर्वएमालेबाट संयोजक रहने पक्का भएको छ ।

यस्तै क्षेत्र नं २ (क) मा पूर्वमाओवादी, २ (ख) मा पूर्वएमालेले नेतृत्व गर्ने सहमति भएको छ ।

क्षेत्र नं ३ (क) मा पूर्वएमाले र ३ (ख) मा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको नेकपाले जनाएको छ ।

नेकपा चितवनले अझै ७ वटा स्थानीय तहका इञ्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय, सचिवालय, विभिन्न विभाग, र जनवर्गीय संगठनको टुंगो लगाउन बाँकी छ ।

ओली समूहको ‘नोट अफ डिसेन्ट’

नेकपा चितवनको दोस्रो बैठकका निर्णयप्रति केपी ओली समूहले असहमति जनाएको छ ।

पूर्वएमालेका जिल्ला अध्यक्षसमेत रहेका हालका पार्टी सचिव कृष्णभक्त पोखरेल र जिल्ला इञ्चार्ज कृष्ण खनालले पूर्वएमाले खेमालाई सिध्याउने गरी वडा विभाजनमा सहमति गरेको आरोप केपी ओली पक्षको छ ।

बैठकमा पूर्वएमाले चितवनकी सचिव एवं राष्ट्रिय सभा राष्ट्रिय हित सरोकार समिति सभापति पार्वती रावलले बैठकका निर्णयमा असहमति जाहेर गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेकी छिन् ।

रावलले पार्टीको महत्वपूर्ण निर्णयका लागि हुने छलफलमा सहभागी नगराई एकलौटी ढंगबाट हचुवाका भरमा निर्णय गर्न खोजिएको भन्दै आपत्ति जनाएकी हुन् ।

दोस्रो जिल्ला कमिटी बैठकमा उनले फरक मत पेश गर्दै पार्टीलाई योगदान दिने नेता–कार्यकर्तालाई जिम्मेवारीमा ल्याउनुपर्ने धारणा राखेकी थिइन् ।

पार्टीभित्रका इमान्दार र क्रियाशील नेता– कार्यकर्तालाई पाखा लगाउने र क्रियाशीलता टुटाउने हिसावले एकलौटी सहमति गरिएको भन्दै नेतृ रावलले बैठकका निर्णयमा सहमत हुन नसकिने जनाइन् ।

पार्टीका केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्षहरुसँग एकपटक पनि सरसल्लाह नगरी बैठकमा नबोलाएर अपमानजनक निर्णय गरिएको नेतृ रावलको धारणा छ ।

स्थानीय तहका कमिटीको नेतृत्व नै चयन नभएको सन्दर्भमा वडा– वडा भागवण्डा गर्नु सम्वन्धित कमिटीमाथिको हस्तक्षेप हुन जाने ओली समूहका अर्का नेता रामप्रसाद न्यौपानेले बताए ।

ओली पक्षले जिल्लामा पूर्वमाओवादी केन्द्रको वास्तविक हैसियतभन्दा पनि बढी वडाहरुमा नेतृत्व दिएको भन्दै माधव नेपाल पक्षको आलोचना गरेको छ ।

गत स्थानीय तहको निर्वाचनमा पूर्वमाओवादी केन्द्रले भरतपुर महानगरपालिकाका २९ वडा मध्ये ३, माडी नगरपालिकामा ९ मध्ये ३ र इच्छाकामना गाउँपालिकामा एउटा गरी कुल ७ वटा वटामा मात्रै जितेको हुनाले उसले थोरै वडाको मात्रै नेतृत्व पाउनुपर्ने ओली पक्षको भनाइ छ ।

उता, रावलको भनाइको खण्डन गर्दै जिल्ला कमिटीको बैठकमा अध्यक्षका तर्फबाट आफूले गरेको प्रस्ताव केही असहमतिका बीच बहुमतले पारित भएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बताए । नेकपाको जिल्ला कमिटीमा साविक एमालेका तर्फबाट माधव नेपाल समूहको बहुमत छ । केपी ओली समूहको झिनो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...