बारा र पर्साका हावाहुरी प्रभावितलाई ८ सय ६९ घर हस्तान्तरण



हाम्रो इकोनोमि

 

बारा र पर्सामा हावाहुरी (टोर्नाडो) प्रभावितका लागि नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

वीरगञ्जमा आयोजित कार्यक्रममा हस्तान्तरणका लागि नमुना घर प्रयोग गरिएको थियो । ०७५ चैत १७ गते आएको हावाहुरीबाट घर पूर्ण क्षति भएका ८ सय ६९ वटा परिवारको घर निर्माण गरेको नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाले जानकारी दिए ।

सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखे पनि अविरल बर्षा, निर्माण सामाग्री समयमा उपलब्ध नभएको, सडक राम्रो नभएको र विवादित घरहरुको कारणले समयमा काम नसकिएको जनाएको छ ।

 

प्रमाणीकरण पछि घटे लाभग्राही

नेपाल सरकारले नेपाली सेनालाई पूनः निर्माणको जिम्मा दिएपछि नेपाली सेनाले पर्सा र बारामा १२ वटा क्लस्टर बनाएर काम शुरु गरेको थियो । जग खन्ने, छानोसम्म ब्लक लगाई झ्याल ढोका हाल्ने, ट्रस जडान गरेर छानो हाल्ने र घरको फिनिसिङ गरेर घर निर्माण सम्पन्न गर्ने गरी चार चरणमा सेनाले काम गरेको थियो ।

प्रभावितका लागि २ वटा कोठा, एउटा शौचालय, सानो भान्साकोठा र बरण्डा भएको ३ सय ४८ दशमलव ६ वर्गफिटको आकर्षक घर निर्माण भएको छ । जग्गा नपुग हुनेलाई विभिन्न ५ डिजाइनका घर बनाइएको र जग्गा नभएकालाई स्थानीय सरकारसँग समन्वय गरेर घर निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

शुरुमा ५ सय घर पूर्ण क्षति भएको अनुमान गरी वर्षायाम अगावै निर्माण गरिदिने गरी नेपाली सेनालाई जिम्मा लगाए पनि पछि १४ सय ५३ घर पूर्ण क्षति भएको विवरण आएको थियो । ०७६ साउन २६ गतेसम्म तीन चरणमा १४ सय ५३ वटै घर निर्माण गर्ने योजना अनुसार तयारी गरिएको थियो । ०७५ चैत २१ गते बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीबाट क्षति भएका घर पुनःनिर्माण गर्न सेनालाई जिम्मा दिएको थियो ।

तर वास्तविक पीडित छुटेको गुनासो आएपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले छानबिन गरेको थियो । सबै क्लस्टरमा क्षति भएको घर पुन प्रमाणिकरण गर्दा ४८ प्रतिशत घर संख्या घटेको नेपाली सेनाले जनाएको छ ।

दर्ता छुट भएका प्रभावितको निवेदन संकलन, स्थानीय जनप्रतिनिधि, क्लस्टर कमाण्डर र स्थानीय प्रहरी प्रमुखको टोलीले प्रमाणीकरण गर्दा २ सय २ जना वास्तविक पीडित छुटेको पाइएको थियो ।

 

विनियोजित रकममा ५३ प्रतिशत बचत

घर निर्माण गर्दा विनियोजित रकममा ५३ दशमलब ८३ प्रतिशत बचत भएको नेपाली सेनाले जनाएको छ । विभिन्न जनहितको कार्यसमेत समावेश गरी शुरुमा विनियोजित रकमबाट आधा खर्चमा काम पुरा भएको दावी उसले गरेको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले दिएको जानकारी अनुसार सेनालाई १४ सय ५३ घर बनाउन सरकारले ८२ करोड १८ लाख ९० हजार ३ सय ४३ रुपैयाँ निकासा गरेको थियो । तर ८६९ वटा मात्रै घर निर्माण गरिएपपछि रकम वचत भएको हो ।

घर निर्माणमा ४४ करोड २४ लाख ५५ हजार ८ सय ९६ रुपैयाँ खर्च हुने देखिएको कार्यदलका कमाण्डर विनयबिक्रम राणाले बताए । मन्त्रिपरिषदले एउटा घर निर्माण गर्न ५ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ ८८ पैसा छुट्याए पनि ४ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...