के छ, ओली–प्रचण्डबीच गोप्य समझदारीमा ?



हाम्रो इकोनोमि

 

उपचारका लागि सिंगापुर पुग्नु अगाडि पार्टीको आन्तरिक समिकरणमा ‘यूटर्न’ ल्याएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टी भित्र बलियो रुपमा देखा परेका छन् ।

एकाएक यस्तो अवस्था कसरी आयो ? खास–खास बेलामा साथ दिँदै आए पनि ओलीसँग तीव्र आक्रोशित भएका नेकपा नेता बामदेव गौतमलाई मात्र होइन् दूरी बढाउँदै गएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाललाई समेत आफ्नो पक्षमा तान्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली कसरी सफल भए त ? यो कौतुहलको विषय भएको छ । यस विषयमा अनेक अड्कल बाजी र अनुमान गरिएको छ ।

नेकपाका विशेष स्रोतका अनुसार ओलीले पछिल्लो समयमा पार्टी र सरकार सञ्चालनमा नतिजा ल्याउने गरी काम गर्नको लागि फूकि–फूकि अत्यन्तै चलाख पूर्ण ढंगले आफ्नो योजनाहरु कार्यन्वयनमा ल्याइरहेका छन् ।

यसैको पछिल्लो उदाहरण हो, पार्टी भित्रको आन्तरिक समिकरणमा व्यापक उथलपुथल । नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष ओलीले समग्र बस्तुस्थितिको मूल्यांक गरी कदम चाल्दै अर्का पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र गौतमसँग छुट्टाछुट्टै वार्ता गरी आफ्नो साथमा ल्याइ आफ्नो योजना कार्यान्वयन गराएका छन् ।

पार्टीका युवा तथा लोकप्रिय नेता योगेश भट्टराईलाई पर्यटन मन्त्री बनाउनदेखि पार्टीमा निकै रस्साकस्सी भएको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेललाई ल्याएर ओलीले आफ्नो योजना कार्यान्वयन गरेको सन्देश प्रवाह गरेका छन् ।

त्यसैगरी पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको वान–टू–वान वार्तापछि प्रचण्ड समेत ओलीलाई बोकेर हिड्न थालेका छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच केही गोप्य समझदारी भएको छ । जुन समझदारी सार्वजनिक नगर्ने सहमती भएको समेत बताइन्छ । स्रोतले बताएअनुसार मूलरुपमा ओलीले पार्टीको अध्यक्षका हैसियतले पार्टीको नितीगत विषय हेर्ने छन् भने बैठक आयोजनादेखि पार्टीका सम्पूर्ण काम प्रचण्डले गर्ने सहमती भएको छ । साथै पार्टी काम प्रचण्डले हेर्ने र पाँच वर्षसम्म ओलीले नै सरकार चलाउने सहमती पनि दुई अध्यक्ष बीच भएको छ ।

अध्यक्ष प्रचण्डलाई सघाउने गरी नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव आएको हो । त्यस्तै गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ बाट चुनावमा उठाइ एक पटक प्रधानमन्त्री बनाउने सहमती पनि गरेको बताइन्छ ।

उता तत्कालिन एमालेका पूर्व अध्यक्ष झलनाथ खनाललाई वरियतामा अघि ल्याएर भावी राष्ट्रपतिको रुपमा अघि सार्ने संकेत ओलीले दिएका छन् ।

दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनमा अझ प्रभावकारी काम गर्ने गरी केही एजेण्डामा समेत सहमती भएको छ । जुन सहमती अनुसार ओली उपचारबाट स्वदेश फर्केपछि जनता र कार्यकर्ताले अनुभुत गर्ने गरी परिणाममा देखिने एक नेताले बताए ।

वरिष्ठ नेता खनाल गौतमलाई कास्की दुईबाट उठाउने विषयलाई नकादैनन् । खनाल भन्छन्–यो विषयमा सचिवालयमा चर्चा भइरहेको छ । उहाँ संसदमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेता हो । सचिवालयले उहाँलाई संसदमा ल्याउनुपर्ने आवश्यकता महशुस गरेको छ । तर, निर्णय चाहि भएको छैन । त्यस्तै पार्टी र सरकार सञ्चालनमा केपी कमरेडले सरसल्लाह गर्नु जिम्मेवारी बाँडफाँड गर्नु स्वभाविक प्रक्रिया हो ।

उता पार्टी महासचिव विष्णु पौडेल पार्टीको पछिल्लो समिकरणका विषयलाई स्वभाविक मान्छन् । उनी भन्छन्–कमरेड प्रचण्ड हाम्रै अध्यक्ष हुनुहुन्छ । दुई जना अध्यक्ष बसेर पार्टी र सरकारका विषयमा छलफल गर्ने, आवश्यक निर्णय लिने स्वभाविक प्रक्रिया हो । प्रधानमन्त्री सरकार सञ्चालन र अन्य महत्वपूर्ण काममा रहनुपर्दा आपसी परामर्समा अध्यक्ष प्रचण्डले प्रधामन्त्री काठमाडौं रहँदा पनि अबका दिनमा पार्टीका बैठक र अन्य कामहरु गर्न सक्नुहुन्छ ।

त्यस्तै गौतमलाई कास्कीबाट उठाउने सम्बन्धमा पार्टी महासचिव पौडेलले पार्टीले आवश्यक ठान्यो भने उहाँलाई निर्णय गर्न सक्ने बताउँदै भने–अहिलेसम्म न उहाँले इच्छा व्यक्त गर्नुभएको छ न त पार्टीले नै निर्णय गरेको छ । आवश्यक पर्यो भने पार्टीले निर्णय गर्छ ।

नेकपा भित्र देखिएको पछिल्लो समकिरणबाट नेता माधवकुमार नेपाल भने विच्किएका छन् । ओलीको पछिल्लो योजनाबाट आक्रोशित भएका नेता नोट अफ डिसेन्टदेखि बैठकमा समेत आफ्नो आक्रोश पोखेका हुन् । केही समय अघिसम्म अध्यक्ष प्रचण्डसँग मिलेर अध्यक्ष ओलीलाई कर्नरमा पार्ने योजना बनाइरहेका नेपाललाई पछिल्लो समिकरणले झड्का दिएको छ । नौ सदस्य नेकपा सचिवालयमा अहिले अध्यक्ष ओलीका पक्षमा प्रचण्डसहित छ जना छन् भने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’बीचमा देखिएका छन् । बादल भने भित्रि रुपमा ओलीका योजनालाई साथ दिँदै आएको बताइन्छ । यो अवस्थामा नेपाल भने एक्लै देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...