ओसामा बिन लादेनका छोरा हम्जा मारिएको दाबी, ट्रम्पले भने– अहिल्यै केही भन्दिनँ



हाम्रो इकोनोमि

 

अल–कायदा प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी प्रशासनको सर्वाधिक खोजी सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए ।

उनी मारिएको स्थान र मिति भने खुलाइएको छैन । यसबारे पेन्टागनका अधिकारी बोलेका छैनन् ।

अमेरिकी प्रसारण संस्था एनबीसी न्युजका अनुसार तीन अधिकारीले हम्जाको मृत्यु भएको पुष्टि गरेको छ ।

उनीहरुले थप विवरण दिन अस्वीकार गरेका छन् । राष्ट्रपति कार्यालयमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्नेबारे बताउन अस्वीकार गरे । भने, ‘यसबारे अहिल्यै केही टिप्पणी गर्न चाहन्नँ ।’

सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोकेको थियो ।

त्यसअघि उनको मृत्यु भइसकेको अनुमान गरिएको छ । ओसामाका २० छोराछोरीमध्ये हम्जा १५औं सन्तान हुन् । ओसामाकी तेस्रो पत्नीबाट जन्मिएका हम्जा ३० वर्ष हाराहारीका थिए । अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ ।

‘जिहादी राजकुमार’का रुपमा लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देशमार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए ।

खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा बुवा ओसामाको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हम्जाले दिएको विदेश मन्त्रालयको दाबी छ ।

पाकिस्तानको अबोटाबादमा ओसामाको घरबाट बरामद गरिएका कागजातमा हम्जालाई अल–कायदाको उत्तराधिकारी बनाउन थालेको उल्लेख थियो ।

एक अर्को भिडियोमा हम्जाले अल–कायदाका वरिष्ठ व्यक्तिकी छोरीसँग विवाह गरेको देखिएको थियो । उनीहरु दुबै इरानमा बसेको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...