आँप खाँदै हुनुहुन्छ, अब होशियार हुनुहोस्
आँपलाई फलफूलको राजा मानिन्छ । आँप पाक्ने सिजन आउनै बाँकी छ । तर फलफूल बजार भने आँपले पहेँलपुर भइसकेको छ । प्राकृतिक रुपमा असार–साउनमा मात्र पाक्छ आँप । तराईमा आँप काँचै छ, पहाडमा त भर्खर चिचिला लागेको छ । तर बजारमा आँप उपभोक्ताले खाइनसक्नु आइसकेको छ । डल्ले , सिंधुरे , चिउरी सबुजा, मालदह, दशहरी, बम्बै, कलकतिया र सरिह कुन खाने ? व्यापारीले विभिन्न किसिमका आँप बेचिरहेका छन् ?
उपभोक्ता पनि बेमौसममै आँप खान पाउँदा दंग छन् । कहाँबाट आउँछन् यस्ता आँप ? कसरी पकाइन्छ यसलाई सिजन अगावै प्रश्न टड्कारो छ, सवाल गम्भीर । उपभोक्ताको स्वास्थ्य जोखिममा छ तर भन्ने कहाँ, सुन्ने कसले ? बेमौसमी आँप बाहिरी मुलुकबाट आउने गरेको छ । किसानले आँप काँचै टिपेर व्यवसायीलाई दिन्छ्न्, । व्यवसायीले विभिन्न रसायन प्रयोग गरेर त्यसलाई पहेँलो देखिने गरी गलाउँछन् । खानेबेला नहुँदै रसायनबाट गलाइएको आँप बजारमा ओइरिएको छ । उपभोक्ताले यस्तै आँप खाइरहेका छन् ।
बाहिरबाट आउने विभिन्न विधिबाट छिटो पकाइएका बेमौसमी आँपले फलफूलबजारमा सिजन अगावै स्थान ओगट्छन् । त्यसबाट एकतातिर देशभित्रका व्यावसायिक आँप उत्पादकलाई निराश बनाउँछ । अर्कातिर उपभोक्तामाथि खेलवाड । उपभोक्ताले आँपसँगै पैसा तिरेर बिषादी खाइरहेका छन् ।
स्वास्थ्यकर्मीहरुले आँप पकाउन प्रयोग गरिएको बिषादीले विभिन्न स्वास्थ्य समस्या हुनसक्ने चेतावनी दिइरहेका छन् । तर रोकिएको छैन, बिषादीयुक्त आँपको उपभोग । यस्ता आँपप्रति किन मौन छ, प्रशासन ? यसमा कसले कसलाई कारबाही गर्ने र ?
चासो आँप कसरी पाक्यो , बजारमा किन चाँडै आयो भन्ने मात्र होइन । चिन्ता स्वास्थ्यको हो, सवाल स्वाभिमानको । जनस्वास्थ्यप्रतिकोउच्च सतर्कता नै राष्ट्रिय स्वाभिमान हो । हामीले हाम्रै स्रोत र उत्पादनमा जनताको स्वास्थ र स्वाभिमान कायम राख्नुपर्छ । हामी पेटले होइन शिरले बाँच्नुपर्छ ।