हजुरआमाले हुर्काएका प्रधानमन्त्री ओली, राजनीतिमा सँधै प्रतिस्पर्धा मात्रै
शक्तिशाली सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भाषण जति तिखो छ, उनको जीवन र संघर्ष त्यति नै घोचिएर अघि बढेको भेटिन्छ ।
सार्वजनिक जीवनमा उनले जति आलोचना खेपीरहेका छन्, त्यो भन्दा बढीचाहिँ संघर्षका दौरानमा यातना खेपेका थिए । त्यसैले उनको राजनीतिक संघर्षमा बारम्बार आइरहने प्रसङ्ग हो, १४ बर्ष जेल ।
राम राज्य निर्माण र लंकाबाट रावणको बहिर्गमनका लागि भगवान रामले पनि १४ बर्ष वनबासको जीवन बिताएका थिए । ओली भगवान त होइनन् तर लोकतान्त्रिक प्रजातन्त्रको स्थापनका लागि उनले १४ बर्ष जेलनेल भोगे । र त एउटा भाषणमा उनले मिडियाकर्मीलाई सम्बोधन गर्दै भनेका छन्,‘यो व्यवस्था ल्याउनका लागि हामीले जेलनेल भोगेका छौं, हामी लडेका छौं । अनि हामीमाथि नै प्रश्न उठाएपछि यसो होइन है भाइबहिनी भनियो ।’
चार बर्षको हुँदा आमाको निधन भएपछि हजुरआमा राममायाबाट हुर्किएका ओलीको राजनीतिक जीवन झापामा सरेपछि सुरु भएको थियो । राजनीतिमा अविचलित ओलीको नीजि जीवनमा बाबु मोहन प्रसादको योगदान बलियो रह्यो । तर, उनले आमा मधुमायाको मायाचाहिँ लामो समयसम्म पाउन सकेनन् । त्यसैले हजुरआमाको काखमा हुर्किन परेको थियो ।
गुठी विधेयकविरुद्ध ओलीलाई लक्षित गरी ‘ससुरालीले बेइमान’ भनेको दुश्प्रचारको वाण फ्याँकियो । तर, पत्नी राधिका शाक्यसँगको उनको भेट र लगनगाँठो गासिनुको कारण र घटनाक्रम नै अलग छ । १४ बर्ष जेल बसेर कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका बेला पत्नी शाक्यसँग उनको भेट भयो । चिनजान भयो, प्रेम भयो र केही समयपछि बिह भएको थियो ।
उनले औपचारिक शिक्षा भने कक्षा आठमा हुँदा नै छाडेको चर्चा छ । तर, स्वअध्ययनमा भने ओली जत्तिको अब्बल कोही छैन । त्यसैले नेपाली कांग्रेसका सांसद तथा विद्वान नेता प्रदिप गिरी पनि ओलीको तिक्ष्णता र अध्ययनबाट लालयित छन् । उनले सदनमा नै सम्बोधनका क्रममा भनेका थिए,‘विद्वान प्रधानमन्त्री, ज्ञानको भण्डार छ उहाँसँग । तर कसरी अन्यको कुरामा आउनु भयो ?’
हुन पनि प्रधानमन्त्रीत्वको दोस्रो कार्यकालमा युरोपका विभिन्न भ्रमण होस् वा नेपालका सम्मेलनहरूमा ओलीले दिएको गज्जबको भाषण र टेलिभिजनहरूलाई दिएको अन्तरवार्तामा उनको अध्ययन गज्जब रहेको प्रतीत भएको थियो ।
१८ बर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीको सदस्य भए । आवद्ध भएको बर्षमा नै तत्कालिन पञ्चायत सरकारले उनलाई गिरफ्तार गरेको थियो । जेल परेर निस्किए दुई बर्षभित्र उनी जिल्ला कमिटी सदस्य र झापा क्रान्तिका एक प्रभावशाली नेताका रुपमा स्थापित भए ।
त्यसको एक बर्षपछि पञ्चायत सरकारले जेलमा राख्यो, उनी १४ बर्षसम्म जेलनेलमा परे । जेलबाट निस्कनासाथ उनी, केन्द्रीय सदस्य हुँदै लुम्बीनि अञ्चलको इञ्चार्ज भए । सायद, यसैले उनलाई सहयोग गर्ने विष्णु पौडेल, प्रदिप ज्ञवालीलगायत सोही अञ्चलका नेताहरू उनका प्यारा भएका हुन् ।
उनले स्पर्धालाई कहिले पनि चुनौति ठानेनन् । झापामा निरन्तर चुनाव जित्ने मध्येमा पर्छन्, पहिलो संविधानसभाको निर्वाचनबाहेक । उनले सरकारमा जाने मौका तत्कालिन लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा थियो । त्यो अल्पमतको पालामा उनी गृहमन्त्री भए । ‘शालिन र भद्रमात्र होइन, एक जनालाई पनि गोली नलागेको कार्यकालका गृहमन्त्री ओली थिए’ भन्ने अहिलेसम्म चर्चा चलिरहन्छ । त्यसबेलाका प्रहरी अधिकारीले पनि उनको सम्झना सोही विषयमा गर्दै आएका छन् ।
यस्तै, दरबारसँग पनि उनको घनिष्ठ सम्बन्ध हुनुको कारण हालै दरबारको दुखान्त लेखेका तत्कालिन राजा वीरेन्द्रका एडीसी रहेका सुन्दरप्रताप रानाले पनि उल्लेख गरेका छन् । उनलाई राजा वीरेन्द्रले तोकिएको समय भन्दा बढी दोब्बर कुराकानी गर्न रुचाउँथे ।
प्रतिस्पर्धाका प्रतिमूर्ति
ओलीले जीवनमा कसैले मनोनित गरेर वा दान दिएर कुनै पद लिएका छैनन् । उनले प्रतिस्पर्धालाई नै झेलेर आएका कारण बारम्बार उनमा त्यसको ह्याङ्गोभर देखिनु स्वभाविक हो । यसैले उनी संख्याको कुरा गर्छन् ।
पार्टी नेतृत्वमा आउनका लागि तत्कालिन एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा लडे । तर, पराजित भए । उनले पार्टीभित्रको संघर्षमा हार मानेनन् । त्यसबेला तत्कालिन एमाओवादीविरुद्ध खरो उत्रिने नेताका रूपमा स्थापित भए, पार्टीमा जिम्मेवार भूमिका नभए पनि उनलाई ‘प्रभावशाली’ नेता भनी मिडियाले टिप्पणी गरेका थिए ।
‘त्यसबेला वाइसीएलसँग लड्न, संघर्ष गर्नका निम्ति ओलीकै प्रभावले काम गरेको थियो अरुमा बल थिएन’, ओली निकटस्थहरू भन्छन्,‘उहाँको जीवन त्यसरी नै बनेको हो, राजनीतिक जीवन त अझ त्यसैले बनाएको हो ।’
उनले पार्टीभित्र र बाहिरको प्रतिस्पर्धामा सहभागी हुनबाट चोरबाटोको प्रतिक्षा गरेनन् । पहिलो संविधानसभामा हार व्यहोरेका माधवकुमार नेपालले संविधानसभा सदस्यमा मनोनित हुँदै प्रधानमन्त्री पद सम्म लिए । तर, ओली त्यो कोटीमा पर्ने होइनन् । दोस्रो संविधानसभा चुनावमा राम्रो जीत हासिल गरी संसद छिरे, संसदीय दलको नेतामा तत्कालिन स्पर्धी झलनाथ खनाललाई पराजित गरे ।
लगत्तै आएको थियो, पार्टीको नवौं महाधिवेशन । ओलीविरुद्ध माधव नेपाल मैदानमा उत्रिए, त्यहाँ पनि ओलीको जीत भयो र पार्टीको नेतृत्वमा पुगे । लगत्तै संविधान घोषणा गर्ने अहम् जिम्मेवारीमा पुगेका थिए । नयाँ सरकार बनाउने भएपछि उनी प्रधानमन्त्रीको मैदानमा उत्रिए, स्पर्धामा थिए तत्कालिन कांग्रेस सभापति स्व. सुशील कोइराला । कोइरालालाई पनि उनले पराजित गरिदिए ।
त्यसपछि प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मुलुकभरी नै नेकपाको बहुमतका लागि उनको प्रयत्न सफल भयो र हाल नेकपाको एक नम्बर नेतृत्वमा छन् । उनले नीजि जीवन नै भोगेका छैनन् ।
खराब सचिवालयले आलोचना
ओलीले कुनै पनि बेला राजनीतिमा साथ दिएका साना वा ठूला तहका नेता कार्यकर्तालाई हेयको भावनाले हेरेनन्, बरु सहयोग गरे । उनको संघर्षको बेला सहयोग गरेकाहरूलाई पदमा भएका बेला मौका दिए, विश्वास गरे र सचिवालयमा ठाउँ दिए । तर तिनीहरूकै कारण ओलीको चरित्र खराब प्रमाणित गरिन थालियो ।
‘उहाँ इमान्दार र राष्ट्र सेवक नै हो । देशमा केही गरौं भन्ने सोच भएको नेता पनि हो । तर, तालमेल मिलाइदिने सचिवालयका कतिपयले उहाँको चरित्र विग्रिनेगरी काम गरिदिए’, उनलाई बुझ्नेहरूको विश्लेषण छ ।
त्यसो त व्यवस्थाविरोधी नै रहेका संसद सदस्य राजेन्द्र लिङ्देनले ओलीलाई राजनीतिक चेपुवामा पारिएको आशंका गर्दै एउटा अन्तरवार्तामा भनेका छन्,‘उहाँ देशभक्ति भएको नेता हो, किन कसको दबाबमा पर्नुभएको छ, थाहा छैन ।’
राप्रपा अध्यक्ष कमल थापाले त आफूले काम गरेका कयौं प्रधानमन्त्री मध्ये ओली जत्तिको गतिलो कोही नरहेको भनी अन्तरवार्तामा भनेका थिए ।
ओलीको अहिलेको आलोचना गराउनेमा सचिवालयका कतिपय अधिकारीविरुद्ध त विभिन्न शीर्षकमा समाचार नै आएको थियो । एउटा प्रधानमन्त्री सफल हुनका लागि त्यसको सचिवालय बलियो हुनुपर्ने थियो तर सबै नाफाखोरको चंगुलभित्रबाट ओलीले काम गरिरहनु परेको छ ।
विनोद ढकाल/दैनिक नेपालबाट