प्रचण्डले १५ महिनामा नौपटक मन्त्री फेर्ने हल्ला चलाए
बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा पुगेर बजेट पारित भएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताए । तर, पूर्वएमाले पक्षधर नेताले प्रचण्डले मन्त्री फेर्ने हल्ला बारबार चलाएकाले तत्काल अदलबदलको कुनै सम्भावना नरहेको बताएका छन् ।
“बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ । तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ,” प्रचण्डले बिहीबार पोखरामा पत्रकारहरुसँगको भेटघाटमा भनेका थिए ।
तर, प्रधानमन्त्रीको सचिवालय स्रोतले तत्काल मन्त्रिपरिषद् फेरबदलको सम्भावना नरहेको बतायो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा विभागीय मन्त्री छैनन् । कास्कीबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्रीले नै सम्हालेका छन् ।
तत्काल पर्यटनमन्त्रीसमेत नियुक्त नहुने सचिवालयको भनाइ छ । “बजेट पास भएपछि प्रधानमन्त्रीले आवश्यक ठान्नुभयो भने, त्यसमा पुनर्विचार गर्न सकिएला, अहिले नै त्यसबारेमा छलफल भएको छैन,” सचिवालय स्रोत भन्छ ।
पार्टी केन्द्रीय सदस्य सूर्य थापा प्रचण्डको अभिव्यक्तिपछि मन्त्री फेरबदल नहुने पक्कापक्की नै भएको दाबी गर्छन् । उनी भन्छन्, “अध्यक्ष प्रचण्डले पोखरा पुगेर मन्त्रीहरू हेरफेर हुने भन्नुभयो । उहाँले यसो भनेको यो सायद नवौँपल्ट हुनुपर्छ । मतलब हेरफेर नहुने पक्काजस्तै भएछ । प्रधानमन्त्रीले गर्ने काममा आन्तरिक सल्लाह दिनुसम्म उचितै होला, निर्णय त गर्नेले नै गर्नुपर्ने हो, अनि पो सार्वजनिक रूपमा बोल्नुको अर्थ हुन्थ्यो ? मुख छँदाछँदै नाकले …भनेजस्तो गरेको शोभनीय भएन ।”
१५ महिनामा नौपटक हल्ला
पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचण्डको मन्त्री फेर्ने हल्ला नवौँ पटक भएको टिप्पणी गरेका छन् ।
त्यसो त प्रचण्डले पहिलोपल्ट २० भदौमा मन्त्री नफेरि नहुने बताएका थिए । भारत भ्रमणको पूर्वसन्ध्यामा आफ्नै निवासमा राजनीतिक बिट हेर्ने पत्रकारलाई बोलाएका अध्यक्ष प्रचण्डले मन्त्री फेरेर भएपनि सरकारको काम प्रभावकारी बनाउने बताएका थिए ।
जतिबेला अर्थमन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत मन्त्रीहरूको आलोचना चुलिएको थियो ।
त्यसपछि २१ कात्तिकमा पोखरामै पार्टी निकट पत्रकार संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रीहरू फेरेर सरकारको गियर बदल्ने चर्चा गरेका थिए । कात्तिक ६ गते नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले तत्काल मन्त्री फेरिने बताएर प्रचण्डकै अभिव्यक्तिमा उभिएका थिए । तथापि मन्त्री फेरिएनन् ।
त्यसपछि २८ फागुनमा विराटनगरमा प्रचण्डले मन्त्री फेर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा भइसकेको बताएका थिए । त्यसको पाँचदिनपछि विराटनगर नै पुगेका प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको भनाइको खण्डन गरे । र, मन्त्रिपरिषद् पुनर्गठनको कुनै सम्भावना नरहेको बताए ।
त्यसबाहेक उनले भैरहवा र चितवनको भरतपुरमा पनि मन्त्री हेरफेर गरेर सरकारको कामलाई गति दिनुपर्ने तर्क गरेका थिए । तर, केपी ओलीकै हाराहारी हैसियत भएका अध्यक्ष प्रचण्डको मन्त्री फेर्ने हल्ला हल्लामै सीमित भएको नेकपाका नेताहरू बताउँछन् । र, प्रचण्डको पछिल्लो अभिव्यक्तिले पनि मन्त्री हेरफेरको सम्भावना टाढिएको नेकपाका नेताहरूको बुझाइ छ ।
प्रचण्ड मन्त्री फेर्न किन चाहन्छन् ?
पार्टी अध्यक्षको भूमिकामा रहेका प्रचण्डले वर्तमान सरकारलाई बलियो बनाउने गरी अभिव्यक्ति दिनुपर्ने नेकपाका नेताहरू बताउँछन् । कहिले १५ महिनापछि सरकारको नेतृत्व हस्तान्तरण हुन्छ भन्ने अभिव्यक्ति दिने, कहिले मन्त्री फेर्नुपर्छ भन्दा अस्थिरता निम्त्याउने कतिपयको बुझाइ छ ।
“उहाँ पनि समान हैसियत भएको अध्यक्ष हो । दुई अध्यक्ष बसेर सल्लाह गर्नेबित्तिकै मन्त्री फेरिन्छन् । पार्टीका बैठकमा अजेण्डागत छलफल नगर्ने तर बाहिर हल्ला गर्दै हिँड्दा सरकारको पर्फर्मेन्समा बाधा पुग्छ, अस्थिर मन लिएर कुन मन्त्रीले काम गर्न सक्छ ?” प्रधानमन्त्रीको सचिवालय स्रोत प्रश्न गर्छ ।
मन्त्री फेर्ने हल्लाका पछाडि प्रचण्डको स्वार्थ रहेको नेकपाका नेताहरुको बुझाइ छ । “प्रचण्ड शुरूमै बादललाई हटाउन चाहन्थे । तर, समयमै सम्झौता पूरा नगर्ने ठेकेदारलाई कारबाहीको योजना ल्याएपछि प्रचण्ड त्यसमा सफल भएनन् । ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाउँदा उनैका घरबेटी शारदाप्रसाद अधिकारी कारबाहीमा तानिन्थे,” नेकपाका एक नेता बताउँछन् ।
“प्रचण्ड अहिले पनि पूर्वमाओवादीका तर्फबाट सरकारमा सामेल भएका मन्त्री अदलबदल गर्न चाहन्छन् । तर, प्रधानमन्त्री अहिले नै मन्त्री फेरिहाल्ने पक्षमा छैनन् । दबाब बढाउन पनि प्रचण्डले मन्त्री फेर्ने हल्ला चलाएका हुन्,” उनको भनाइ छ ।