१४ जिल्लामा हतियारसहित विप्लवका लडाकु
केही जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लडाकुको शंकास्पद गतिविधि देखिएको सुरक्षा निकायले बताएको छ । नेपाल प्रहरी स्रोतका अनुसार १४ जिल्लामा विप्लवका लडाकु दस्ता हतियारसहित देखिएका छन् । सुरक्षा निकायलाई प्राप्त ‘इन्टेलिजेन्स रिपोर्ट’ अनुसार पहाडी र चुरे क्षेत्रसँग जोडिएका जिल्लामा विप्लव समूहका लडाकु देखिएका हुन् ।
रातको समयमा सुरक्षाकर्मीको सहज उपस्थिति नभएका इलाकाहरुमा उनीहरु हतियारसहित देखा परेको बताइएको छ । एक उच्च सुरक्षा अधिकारीले भने, ‘‘विप्लव समूहको हतियासहितको गतिविधि बढेको सूचनापछि जनशक्ति बढाएका छौं । शंस्कापद स्थानमा छापा, जंगलमा सर्च अभियान पनि चलाएका छौं ।’’
सुरक्षा अधिकारीका अनुसार बर्दिया, भोजपुर, अछाम, सोलुखुम्बु, संखुवासभा, रुकुममा लडाकु समूहले आफ्ना गतिविधि बढाउँदै लगेको छ । यस्तै कालीकोट, जुम्ला, जाजरकोट, मोरङ, उदयपुर, रोल्पा, कालीकोट र कैलालीमा पनि विप्लव समूहले हतियारसहितका गतिविधि गर्न थालेको पाइएको ती अधिकारीले बताए ।
लडाकु समूहमा पूर्व लडाकु, युवा, विद्यार्थी छन् । महिलाको संख्या निकै कम छ । राति गाउँमै खाना खाएर पार्टी सदस्यता विस्तार गर्ने लगायतका काम लडाकु समूहले गर्ने गरेको सुरक्षा निकायको भनाइ छ । तीन साता अघिमात्रै सिन्धुलीको एक गाउँमा राति नौ बजेपछि विप्लव समूहका लडाकु घरघरमा पसेर खाना पकाउन स्थानीयलाई आग्रह गरेको स्थानीयले बताएका छन् ।
विप्लव समूह रक्षात्मक
‘विप्लव’ समूहका गतिविधि पछिल्लो समय रक्षात्मक देखिएका छन् । पछिल्ला गतिविधि असफल हुँदै गएपछि विप्लव समूह रक्षात्मक बन्दै गएको देखिएको हो ।
सरकारले गत फागुनमा विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध गलाएको थियो । त्यसयता सो समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्ने र पार्टी परित्याग गर्नेको संख्या बढ्न थालेको छ । प्रतिबन्धपछि भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहले पार्टी छाडेकालाई धमाधम कारबाही गर्दै रक्षात्मक रूपमा गतिविधि सञ्चालन गर्दै आएको हो ।
यसले विप्लव समुहलाई आफ्ना गतिविधि सञ्चालन गर्न अफ्ठारो बन्दै गएपछि सो समूहका नेता कार्यकर्ता रक्षात्मकबाटोमा उभिएका हुन् । केही दिनअघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएको थियो । केही नेता कार्यकर्ता विस्पोटक पदार्थ सहित पक्राउ समेत परेका थिए ।
यस घटनाले रक्षात्मकबाटोमा अघिबढ्नु पर्ने विषयमा नेता कार्यकर्ताले समूहभित्र बृहत् छलफल गरेर अघि बढ्न नेतृत्वलाई सुझाइरहेका छन् । केही सदस्य सरकारसँग वार्ता गर्दा आत्मसमर्पणको सन्देश जाने भन्दै तत्काल त्यसतर्फ अघि नबढ्ने पक्षमा रहेको समेत बताईएको छ ।
विप्लव समूहका पोलिटब्यूरो सदस्य पदम राई केही दिन पहिले सो समूह परित्याग गर्दै सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । तरपछि विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एक विज्ञाप्ति जारी गर्दै उनलाई निलम्बन गरेको दाबी गरे । ‘पार्टीविरुद्ध झन्झन् अन्तरध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
तर विप्लव समूहका एक पोलिटब्यूरो सदस्यका अनुसार राईले नेता तथा कार्यकर्ताहरु पक्राउ पर्ने क्रम बढेपछि सरकारसँग आफ्ना माग स्पष्ट राख्नु पर्ने तर्क गर्दा निलम्बनमा परेका हुन् । ती नेताका अनुसार अहिले यस विषयमा पार्टी भित्र कुरा राख्ने वतारवण बनेको छैन ।
आइतबार राती सो समुहका कार्यकर्ताले सोलुखुम्बु, महाकुलुङ गाउँपालिका– ३ स्थित छेस्काम प्रहरी चौकी कब्जा प्रयास गरेको समाचार बाहिर आएका छन् । सोमबार प्रवक्ता खडगबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा प्रहरीचौकीमा आक्रमण प्रयास नभएको दाबी गरे । उनले उक्त घटना नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उल्लेख गरे । उनले सुरक्षा निकायमाथि आत्रमण गर्ने आफ्नो नीति नभएको स्पष्ट समेत पारेको छ ।
यद्यी सो समूहका अधिकंस नेता कार्यकर्ताहरु वार्ताको माध्यमबाट समस्याको समाधन गरिनु पर्ने पक्षमा छन् । यता सरकारले पनि सो समूहसँग वार्तागर्न पहल गरिरहेको छ । महत्त्वपूर्ण जिम्मेवारी पाएका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य भरत बम, मोहन कार्की, केन्द्रीय सदस्यद्वय बन्धु चन्द र विजय श्रेष्ठलगायत करिब साढे चारसय नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।
पक्राउपरेका ६ दर्जनभन्दा बढी नेता कार्यकर्ताले सो समूह परित्याग गरि सत्तारुढ नेकपा र अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । यसैगरी, करिब दुई दर्जन जति नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको जनाएका छन् भने केहीले प्रहरीले पक्राउ गरेपछि आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार प्रतिबन्धयता पक्राउ परेकामध्ये ७१ जना पुर्पक्षका लागि जेल चलान गरिएको छ । केही जनामाथि अनुसन्धान प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
प्रतिबन्धपछि आफैंले बोकेको बम विस्फोटको घटनामा परी विप्लवका चार जना नेता कार्यकर्ताको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । त्यसबाहेक भोजपुरमा अर्का एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । प्रहरीले प्रतिबन्धपछि १८ वटा बम विस्फोटका घटना भएको जनाएको छ । यस्तै, ९५ वटा बमलाई निष्क्रिय पारिएको प्रहरीको तथ्यांक छ । यस्तै यसबीचमा १० स्थानमा तोडफोड तथा आगजनीका घटना भएको प्रहरीले बताएको छ ।
विप्लवविरुद्ध यतिबेला सरकारी संयन्त्रसमेत आक्रामक रूपमा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले चन्द नेतृत्वको नेकपालाई अमानवीय शक्ति भन्दै आइरहेका छन् भने विध्वंशात्मक र हिंसात्मक बाटो लिनेलाई सरकारले छुट नदिने बताउँदै आएका छन् ।
विप्लव समूहले सञ्चालन गरेका पछिल्ला गतिविधि असफल भएपछि देशभर नेतृत्वको जिम्मेवारीमा परिवर्तन गरेको छ । केही दिनअघि नेपाल बन्दको पूर्वतयारीका क्रममा आफ्ना सैन्य कमान्डरसहितका नेताको मृत्यु भएपछि समूहले मध्यकमान्ड नेतृत्वको जिम्मेवारी प्रकाण्डलाई नै दिएको छ । त्यसअघि मध्यकमान्डको नेतृत्व हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सम्हालेका थिए । केही समयअघी उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
अहिले समूहको काठमाडौं उपत्यकाको जिम्मेवारी माइला लामाले सम्हाल्दै आएका छन् भने काठमाडौं इन्चार्जमा भृकुटी उपनामले चिनिने धिरिन्द्रा उपाध्याय छिन् । काठमाडौंमा हुने सबै योजना लामाकै निर्देशनमा हुने गरेको प्रहरीले बताउँदै आएको छ । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष समेत हुन् । उपाध्याय भने तत्कालीन माओवादीको कोटामा कालिकोटबाट समानुपातिक सभाषद्समेत हुन् ।
फागुन अन्तिम साता सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उनीहरु सार्वजनिक रुपमा देखिन छाडेका छन् । कालीकोट, जाजरकोटलगायत जिल्लामा जनसकारको नामबाट उनीहरुले स्थानीय निकायलाई तोकेरै चन्दाको मागसमेत गरेका छन् । सुरक्षा अधिकारीका अनुसार विप्लव समूहले पहाडी जिल्लामा प्रहरीमाथि भौतिक कारवाहीसम्मको योजना बनाएका छन् । तर, विप्लव समूहले सुरक्षा फौजमाथि आक्रमणको नीति नलिएको दाबी गर्दै आएको छ । एक प्रहरी अधिकारीले भने, ‘‘गस्तीमा गएको प्रहरीमाथि भीरबाट ढुङ्गा खसाल्ने, प्रहरी भ्यानमा बम हान्ने, ठाउँ–ठाउँमा विस्फोट गर्ने अनि आक्रमणको योजना छैन भन्ने ?’’
फेरिए कमाण्डर
विप्लव समूहका तीनवटा मात्रै भनिएको कमान्ड संरचना चारवटा बनाइएको छ । एक नेताका अनुसार चारवटै कमान्डको इन्जार्जसमेत हालौमात्र फेरबदल गरिएको छ । पूर्वी कमान्डको जिम्मेवारी सन्तोष बुढामगरलाई दिइएको छ । यसअघि पूर्वी कमान्ड इन्जार्ज अनिल शर्मा थिए । यस्तै मध्यकमान्डको जिम्मेवारी खड्गबहादुर विश्वकर्मालाई दिइएको छ ।
मध्यकमान्ड इन्जार्ज हेमन्तप्रकाश वली पक्राउ परेपछि विश्वकर्मालाई नयाँ जिम्मेवारी दिइएको हो । लुम्बिनी, धौलागिरी र गण्डकी कमान्डको इन्जार्जमा विप्लवकै ठूलो दाइ चन्द्रबहादुर चन्द ‘वीरधन’ र कर्णाली, भेरी, राप्ती र सुदूरपश्चिम कमान्डको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिइएको छ । तत्कालीन नेकपा माओवादीले युद्धकालीन समयमा बनाएको पार्टी संरचनाअनुसार नै विप्लव समूह अगाडि बढेको बताइएको छ ।
विप्लव समूहका गतिविधिबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन गरी प्राप्त विवरणको विश्लेषणबाट आन्तरिक सुरक्षामा चुनौती थपिएको निष्कर्ष निकालेका छन् ।
कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा विप्लव समूहले कुल बजेटको दुई प्रतिशत बजेट आफ्नो जनसरकारका लागि छुट्याउन चेतावनी दिएका छन् । प्रहरी अधिकारीका अनुसार निर्वाचनपछि विप्लवले संगठन विस्तारमा तिव्रता दिएका छन् भने चन्दा आतंक डरलाग्दो रुपमा जारी राखेका छन् । प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एक्लाएक्लै र संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट अपरेसन’ सुरु गरेको थियो । ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाएपछि सबैजसो नेता–कार्यकर्ताले सदरमुकाम र गाउँ छाडेका छन् ।
प्रहरी अधिकारीका अनुसार विप्लव लगायतका सबै शीर्ष नेता भूमिगत छन् । यसअघि गाउँमा रहेका नेता–कार्यकर्ता सुरक्षा कारवाहीबाट बाच्नका लागि विकट ग्रामीण इलाका, चुरे पहाडको क्षेत्र र जंगलमा लुक्न थालेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण पनि जंगलमै हुने गरेको छ । एक प्रहरी अधिकारीले भने, ‘‘प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ताको कल डिटेल, लोकेसनलगायत कुरा हेर्न थालेपछि शीर्ष नेताहरुले मोबाइल प्रयोग गर्न छाडेका छन् भने तल्लो तहका नेता–कार्यकर्ताले मोबाइल सेट र सिमकार्ड फेर्न थालेका छन् ।’’