बजेटले मुलुकलाई समृद्धि बनाउँछ : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री



हाम्रो इकोनोमि

 

नेकपा (तत्कालीन एमाले र माओवादी केन्द्र) ले आफ्नो चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालगायत सामाजिक सुरक्षाको दायरामा पर्ने नागरिकको सुरक्षाभत्ता वृद्धि गर्ने प्रण गरेको थियो । तर, नेकपाकै सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणापत्रको वाचा पूरा गर्न सकेको थिएन । त्यो आगामी वर्षको बजेटमार्फत पूरा गर्न लागेको छ । यसले झन्डै १३ लाख ज्येष्ठ नागरिकको जीवन निर्वाहलाई सहज बनाउँछ । उनीहरू लाभान्वित हुन्छन् । यसले ज्येष्ठ नागरिकलाई खुसी दिन्छ ।

 

बजेटले राष्ट्रसेवक कर्मचारी, शिक्षकको तलब पनि १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । यसले झन्डै ९ लाख कर्मचारी र उनीहरूका परिवार लाभान्वित हुन्छन । सरकारले हाम्रो पनि तलब बढाइदियो भनेर उनीहरूले कर्मशील बन्ने ऊर्जा प्राप्त गर्छन् । ती कर्मचारीको आश्रयमा जीवन निर्वाह गर्ने परिवारका सदस्यसमेत खुसी हुन्छन । उनीहरूको जीवन सहज बनाउँछ । यद्यपि, यसले निजी क्षेत्रका उद्योग, प्रतिष्ठान तथा व्यावसायिक क्षेत्रमा कार्यरत कर्मचारी श्रमिकको समेत तलब वृद्धिमा दबाब सिर्जना गर्छ ।

 

तर, तलब वृद्धि गर्दा आफूहरूलाई समस्या पर्छ, उद्योग प्रतिष्ठान चलाउन सकिँदैन भन्ने जस्ता कुरा निजी क्षेत्रका उद्योगी व्यवसायीबाट आउन सक्छ । एक हिसाबले उहाँहरूको भनाइ सही मान्नु पर्छ । त्यसो हुँदा सरकारले गरेको तलब वृद्धिले निजी क्षेत्रलाई केही अप्ठ्यारो महसुस भए पनि समग्रमा यो फलदायी नै मान्नुपर्छ । किनभने, महँगीअनुसार तलब वृद्धि वा समायोजन नगरी कसैलाई काममा लगाउनु राम्रो होइन ।

 

ज्येष्ठ नागरिक, अशक्तलगायत वर्गलाई बढाइएको भत्ता अनुत्पादक भयो, वितरणमुखी भयो भन्ने गुनासो पनि आउन सक्छ । तर, नेपालमा पछिल्लो समय निकै ठूलो संख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा छन् । विदेशमा पढ्न गएका छन् । नेपालमै भएका युवा पनि सहरमा बस्ने र उनीहरूका आश्रयमा सहज जीवन निर्वाह गर्न पाउनुपर्ने आमा–बुबालगायत ज्येष्ठ नागरिक भने गाउँमा सहाराविहीन जीवन जिउन बाध्य छन् ।

वृद्ध भएका नागरिक सहाराविहीन बन्ने, उपचारविहीन, हेरचाहविहीन बन्ने अवस्था छ । ज्येष्ठ नागरिकको समस्या अहिले नेपालमा विकराल बन्दै गएको छ । र, भविष्यमा यो समस्या अझ बढ्ने देखिन्छ । यस्तो समस्या केही हदसम्म कम गर्न ज्येष्ठ नागरिकलाई दिइने भत्ता रकम महत्वपूर्ण रहँदै आएको छ ।

 

इजरायलकै उदाहरण हेर्नुहुन्छ भने ठूल्ठूला अपार्टमेन्ट बनाएर ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्ने गरिएको छ । बैंकमा खाता खोलेर त्यहाँका ज्येष्ठ नागरिकको हेरचाहका लागि रकम बैंक खातामा हाल्ने गरिएको छ । एक ज्येष्ठ नागरिकका लागि एकजना हेरचाह गर्ने मानिस (केयर गिभर) राख्ने गरिएको छ । त्यसो हुँदा कर्मचारीलाई दिइएको तलब वा सामाजिक सुरक्षा भत्ताको रकमलाई अनुत्पादक वा बजेट छरेको भन्न मिल्दैन । यसले गरिबी घटाउन पनि सकारात्मक प्रभाव पार्छ ।

 

जीवन बिमा योजना

बजेटले सबै नागरिकको जीवन बिमा गर्ने योजना ल्याएको छ । यसअघि ५० हजारसम्मको बिमा गर्दा प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था थियो । यसलाई बढाएर एक व्यक्तिलाई एक लाख रुपैयाँसम्मको जीवन बिमा गर्दा प्रिमियम सरकारले नै तिरिदिने योजना ल्याएको छ । एक लाख रुपैयाँ औषधि उपचारमा खर्च गर्न नसक्ने नेपाली धेरै भएकाले यसले न्यून आर्थिक हैसियतका नेपालीलाई लाभ पुर्याउँछ ।

 

कृषि उत्पादन बढाउने बजेट

बजेटले कृषकले प्रयोग गर्ने मलमा अनुदान दिन नौ अर्ब रुपैयाँ वृद्धि गरेको छ । यसअघिको तुलनामा मलमा अनुदान रकम दोब्बर बनाइएको छ । यसले मलको मूल्य घटाएर उत्पादन बढाई कृषकको आर्थिक स्तर उकास्न सघाउने अपेक्षा गर्न सकिन्छ । केही ठूला आयोजनामा पैसा खर्च गर्न र ती आयोजना चाँडो सक्न पनि बजेटले जोड लगाएको छ ।

 

जस्तो, फास्ट ट्याकमा १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पोखरा विमानस्थलमा आठ अर्ब, भैरहवा विमानस्थलमा तीन अर्ब, मेलम्ची खानेपानी आयोजनामा सात अर्ब ३९ करोड छुट्याएको छ । स्वदेशी लगानीमै बनिरहेको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि आगामी आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिएको छ ।

 

जलविद्युत् क्षेत्रका आयोजना पूरा गरी कम्तीमा एक हजार मेगावाट विद्युत् एकै वर्ष्भित्र राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य लिएको छ । यीबाहेक अन्य नयाँ कार्यक्रम पनि ल्याएको छ । यी र यस्ता ठूला आयोजना तीव्र गतिमा अघि बढाउँदा त्यसले राष्ट्रिय पुँजी निर्माण गर्छ । रोजगारी सिर्जनामा पनि यसैले योगदान गर्छ । हुलाकी सडकमा १३ अर्ब र चार सय किलोमिटर पिच गर्न मध्यपहाडी राजमार्गमा १२ अर्ब रुपैयाँ छुट्याएको छ । यी आयोजना महत्वपूर्ण छन् ।

 

बजेटमा जलविद्युत् आयोजना

तमोर, कर्णाली चिसापानी, नलगाड, पश्चिम सेती, नौमुरेजस्ता बहुउद्देश्यीय जलविद्युत् आयोजना आगामी आर्थिक वर्षभित्रै अघि बढेर आगामी वर्षभित्रै सकिने प्रकृतिका होइनन् । यी आयोजनाको निर्माण मोडालिटी टुंगो लगाएर प्रारम्भिक काम अघि बढाउन सके नै पर्याप्त हुनेछ । बाँकी पूरा गर्न सकिने माथिका कार्यक्रम कार्यान्वयन हुँदा ८.५ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने र मुद्रास्फीति ६ प्रतिशत रहने आँकलन गरेको छ ।

 

आयोजना थाँती रहने प्रचलन

हाम्रो देशमा विगतदेखिकै प्राविधिक रूपमा अध्ययन गरेर पहिचान गरिएका पूर्वनिर्धारित आयोजना थाती रहने नकारात्मक प्रचलन छ । त्यस्तै, अध्ययन नै नभएका आयोजनाका लागि बजेटमा रकम विनियोजन गर्ने, राजनीतिक रूपमा आयोजना छनोट गर्ने जस्ता खराब प्रचलन छन् । यस्तो प्रचलनले आयोजनाको समय लम्बिने गरेको छ । समय लम्बिँदा आयोजनाको लागत बढ्ने र नेपाली स्रोतले ती आयोजना धान्नै नसक्ने अवस्थामा पुग्ने गरेको पनि देखिएको छ । त्यस्तै प्रचलनले आगामी वर्ष पनि निरन्तरता पाउने सम्भावना प्रबल छ । त्यस्तो अवस्था आउन नदिने पहिलो दिनबाटै सचेत रहनुपर्नेछ ।

 

बजेटमा वित्तीय स्रोत

नौ खर्ब ८१ अर्ब राजस्वबाट वित्तीय स्रोत जुटाउने लक्ष्य बजेटको छ । त्यस्तै, नौ खर्ब ५७ अर्ब चालू खर्च हुने अनुमान बजेटको छ । चालू खर्चचाहिँ राजस्वबाट प्राप्त हुने हाम्रो वित्तीय स्रोतले धान्छ । तर, विदेशी तथा स्वदेशी ऋणको साँवा–ब्याज भुक्तानीका लागि भने स्वदेशी स्रोतले नपुग्ने देखिएको छ ।

 

साँवा–ब्याज भुक्तानीका लागि पनि हामीले विदेशी ऋण लिनुपर्ने अवस्था छ । किनभने, हामीले करिब चार खर्ब पुँजीगत खर्च गर्ने भनेका छौँ । तर, त्यसका लागि हामीले आन्तरिक तथा वैदेशिक ऋण तथा अनुदानमा भर पर्नुपर्ने अवस्था छ । वैदेशिक ऋण तथा अनुदान लिँदा पनि हामीले पहिलो किस्ता लिने तर प्रगति देखाउन नसक्दा दोस्रो किस्ताको भुक्तानी नै लिन नसक्ने अवस्था छ । त्यसो हुँदा बजेटले लक्ष्य गरेका ठूला आयोजना कार्यान्वयन नहुन पनि सक्छन् ।

 

पुँजीगत खर्चको अवस्था

खासगरी, हाम्रो पुँजीगत खर्च गर्ने मन्त्रालयहरूले बजेट कार्यान्वयनमा आर्थिक वर्षको सुरुबाटै सक्रियता देखाउनुपर्छ । तर, त्यसो नगरी विगतमा जस्तै टेन्डर प्रक्रियामा ढिलो गर्ने, काज र तालिम भनेर हिँड्ने, विदेश भ्रमणमा जाने, कर्मचारीको रिक्त दरबन्दी पूरा गर्न ढिलो गर्नेलगायत कारणले आयोजनाहरू अघि बढाउन ढिला गर्ने जस्ता प्रवृत्ति दोहोर्याउने हो भने लक्ष्य पूरा हुन सक्दैन । कार्यान्वयनमा ठूलो चुनौती आउन सक्छ । यस वर्षको बजेटमा धेरै नारा आएनन् भन्ने कुरा छ । तर, नारा धेरै नभए पनि कार्यक्रम भने धेरै नै छन् । बजेटमा समावेश भएका कार्यक्रम कार्यान्वयन हुने हो भने यसले नेपालको आर्थिक समृद्धिको ढोका खोल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...