दरबार हत्याकाण्डबारे हिमानी शाहको आयो यस्तो बयान
१९ जेठ, २०५८ मा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्त तत्कालिन युवराज दिपेन्द्र शाहलाई नै संकेत गरिएको छ । यसलाई धेरैले विश्वास गर्न सकिरहेका छैनन् । हत्याकाण्डबारे अनेक कोणबाट पुस्तकहरू सार्वजनिक भए । पछिल्लो पुस्तक हो– दरबारका दुखान्त ।
राजा वीरेन्द्र शाहको एडीसी बसेका र १७ बर्ष दरबारमै काम गरेका सेनाका पूर्व कर्णेल सुन्दरप्रताप रानाको पुस्तक हो, यो । पुस्तकमा उनका विभिन्न तर्कले दिपेन्द्रलाई नै दोषी देखाउने संकेत गरेको छ, यकिन गरेको छैन । कतिपय तथ्य तत्कालिन छानबिन समितिको बयानको आधार पनि मानिएको छ ।
तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको समितिले उक्त विषयमा छानबिन अगाडि बढाई दिपेन्द्रलाई नै दोषी देखाइएको थियो । त्यसअघि हत्याकाण्ड भएको त्रिभुवन सदनमा उपस्थित राजपरिवारका विभिन्न सदस्यसँग बयान लिइएको थियो । त्यसमध्येकी एक हुन् तत्कालिन शाहज्यादी र पछि युवराज्ञी भएकी हिमानी शाह ।
छानबिन समितिले उनलाई धेरै प्रश्न गरेको थिएन, छोटो बयान लिएको थियो । छानबिन समितिलाई हिमानीले भनेकी थिइन्,‘हामी भाग्यले बाँच्यौं ।’
‘त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त भयो । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिर्पोटको लागि सजिलो पर्छ’, समितिको प्रश्नमा हिमानीले भनेकी छन्,‘डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखि नै हामी कार्यक्रममा थियांै । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठूलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन ।’
एनले अगाडि थपेकी छन्,‘ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो ।’
समितिलाई दिएको बयानमा हिमानीले उल्लेख गरेकी छन्,‘अनि त्यसपछि कान्छो बुवा (धीरेन्द्र) अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं । त्यसपछि फेरि आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै ।’
छानबिन समितिले हिमानीलाई अर्को प्रश्न सोध्यो,‘यसका, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाहिँ ?’ उनले भनेकी छन्,‘हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो । डाईनिङ रुम जाने एउटा ढोका छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौं । त्यसपछि बगैंचामा बन्दुकहरु पड्किएको मात्र सुनें ।’
दरबार हत्याकाण्डको १८ वर्ष पूरा, वंश विनाशको घटना रहस्यमै बिलायो
सारा विवश्वलाई स्तब्ध बनाउने गरी भएको नारायणहिटी हत्याकाण्ड १८ वर्ष बितेको छ । नेपालको राजपरिवारको एउटा वंश विनाश भएको आज १८ वर्ष विते पनि घटना रहस्यकै गर्भमा बिलाउँदै गएको छ ।
२०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको कहालीलाग्दो दरबार हत्याकाण्ड रहस्य अझैसम्म खुल्न सकेको छैन । तत्कालीन राजा वीरेन्द्र शाहको बंशविनास भएको १८ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते भएको कहालीलाग्दो दरबार हत्याकाण्डको नेपालको इतिहासमै डरलाग्दो घटना थियो ।
तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको घटनाले विश्वमै सनसनी मच्चाएको थियो । नारायणहिटी दरबार हत्याकाण्डका नामले चिनिने यो हत्याकाण्डको रहस्यका बारेमा अझै नागरिकले विश्वसनीय आधार पाउन सकेका छैनन् ।
जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।
हत्याकाण्डका विषयमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ । उक्त समितिले तत्कालीन युवराज दीपेन्द्र नै घटनाको मुख्य दोषी भएको किटान गरेको छ ।
त्यसबारेमा नागरिकले भने अझै प्रश्न उठाइरहेका छन् र विश्वसनीय आधार नभएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । तर, यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन ।
दरबार हत्याकाण्डका बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्याकाण्डबारे केही नबताए पनि नियोजित भएको भन्नेसम्म जानकारी गराएका थिए । यद्यपी नियोजित भनिएको यो हत्याकाण्डका बारेमा जनताले विश्वास गर्ने खालको छानबिन हुन सकेको छैन । दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको शासनकालमा पनि यो हत्याकाण्डबारे थप छानबिनको कुनै पहल भएन ।
गणतन्त्र स्थापनापछि देशको कार्यकारी बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते हत्याकाण्डको पर्दाफास गर्ने घोषणा गरेको पनि ११ वर्ष बितिसकेको छ ।
पटक–पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमै उभिएर पनि सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन्, तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।
हत्याकाण्डमा राजपरिवारकै सदस्य वा बाह्य शक्तिको संलग्नता थियो या थिएन भन्ने प्रष्ट हुने आधार र तथ्य छैन । हत्याकाण्डपछि नारायणहिटी दरबारभित्र भएका धेरै तथ्य विस्तारै नष्ट हुँदै गएका छन् । हत्याकाण्डका केही प्रमाण चार वर्षपछि एक पछि अर्को गर्दै नष्ट पारिएको थियो ।
हत्याकाण्ड भएको त्रिभुवन सदनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा भत्काइएको थियो । ज्ञानेन्द्र शाहको बहिगर्मनपछि नारायणहिटी दरबारले संग्रहालयको रुप लियो । राजतन्त्रको नाममा गणतन्त्र र राजाको स्थान राष्ट्राध्यक्षका रुपमा राष्ट्रपतिले लिएका छन् ।