ओली–प्रचण्ड गोप्य सहमतिको घोचपेच, भारतमा नयाँ सत्ता आउनासाथ किन लिक भयो ?
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको शपथ लिँदै गर्दा यता लिका भयो– केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको ५ बुँदे सहमतिको गोप्य दस्ताबेज । त्यसअघि उक्त सहमतिबारे प्रचण्डले एउटा अन्तरवार्तामा खुलाएका थिए ।
सहमतिको चौथो बुँदाले अहिले सबैतिर तरङ्ग ल्याएको छ । आधा–आधा समय सरकारको नेतृत्व गर्ने, सन्दर्भबारे ओली र प्रचण्ड समूहबीच घोचपेच पनि भइरहेको छ ।
भारतबाटै प्रधानमन्त्री ओलीले उक्त दस्ताबेजबारे व्यंग्य हान्दै प्रत्युत्तर दिए– दुई चार दिनमात्रै बाँकी छ, छाडौंला सरकार । अर्थात्, ओलीले भन्न खोजेका हुन्– सन्दर्भ नै नआई किन यसबारे चर्चा निकालियो ?
मोदीको शपथ ग्रहणको कार्यक्रम सकेर नेपाल फर्किएका उनले केही बोल्न चाहेनन् । पार्टीका तल्ला कमिटीसम्म एकीकरणको सबै काम टुंगो नलागेका बेला सहमतिबारेका घोचपेचले ठूलो चर्चा पाएको छ ।
‘यसबेला चर्चा गर्नुपर्ने कारण थिएन, प्रचण्डले यो कुरा किन निकाले ?’, ओली पक्षका एक नेता भन्छन्,‘अहिले विवाद निकालेर सत्ता चाहियो भनेको हो ?’
यसै पनि नेकपाको वैचारिक र सैद्धान्तिक लाइनका विषयमा बहस जारी छ । जनताको बहुदलीय जनवादको आधारमा नै अघि बढ्नुपर्ने भनी नेता ईश्वर पोखरेल अघि बढेका छन् भने, प्रचण्डको बिमतिसँग लडिरहेका छन् ।
यता, सरकारका विषयमा सहमति पालनाको विषय सतहमा आयो । त्यसो त यस्ता सहमतिको शिलशीला प्रचण्डले अहिले मात्र गरेकाचाहिँ होइनन् । पहिलो र तेस्रो दल हुँदा माओवादीलाई चाबी ठान्दै प्रचण्डले यस्ता प्रयोग गरेकै थिए ।
सत्ता राजनीतिमा प्रचण्डले गोप्य सहमतिको शिलशीलाको तथ्य झलनाथ खनाललाई प्रधानमन्त्री पदमा समर्थन गर्ने बेला देखि नै बाहिरिएको थियो । जसका कारण तत्कालिन एमालेमा ठूलो मतभिन्नता रह्यो । सोही बेला प्रभावशाली नेता रहेका हालका प्रधानमन्त्री ओलीले उक्त ७ बुँदे सहमतिको खुलेर बिरोध गरेका थिए । पार्टी भित्रै समिकरण ढल्ने अवस्था र भारतविरोधी कित्तामा उभिएका कारण खनालले ६ महिनामै राजीनामा दिनु परेको थियो ।
पहिलो संविधानसभामा माधवकुमार नेपालको सरकार गिर्नासाथ प्रधानमन्त्रीका लागि लामो दौड भएको थियो । त्यसैबेला सेना समायोजनमा आफ्नो हितानुकुल सर्त राखी प्रचण्ड शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव बोकेर बुढानिलकण्ठ निवासमा डिनर पार्टीमा पुगेका थिए । कांग्रेस उच्च स्रोतले भन्यो,‘एक किसिमको सहमति गरी प्रधानमन्त्री उम्मेदवार बन्न प्रचण्डले प्रस्ताव गरे, उनले डिनर पनि गरे । शेरबहादुर पुलकित पनि भएका थिए ।’
१८ पटकसम्म प्रधानमन्त्रीको दौडमा संसदीय दलका नेतामा त्यसबेला देउवालाई हराएका रामचन्द्र पौडेलको दौड चलिरहेको थियो । स्रोतले भन्यो,‘दुईवटा कारणले शेरबहादुर प्रधानमन्त्री पदका लागि प्रचण्डसँगको सहमतिमा पुग्न सकेनन् । पहिलो, कांग्रेसमा प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्छ, जुन पौडेलले जितेका थिए । दोस्रो, आर्जु राणाले नै प्रचण्डको भनाईमा नलाग्न सुझाव दिइन् ।’
यसको दृष्टान्त तत्कालिन पार्टी सभापति गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा समर्थन गर्ने भनी गोप्य सहमति गरी प्रचण्डले रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाएका थिए । यसबाट आर्जु राणा सशंकित थिइन् र देउवालाई जोगाइन् ।
खनालको सत्ता गिरेपछि प्रचण्डले माओवादीभित्र आफूविरुद्ध तयार भएको धोवीघाट बैठकको मोर्चा भत्काउनका लागि अर्को सहमतिको खाका तयार पारे । उनले ठूलो संख्यामा सदनमा रहेका मधेसी मोर्चासँग मिलेर सरकार बनाउने तयारी थालिसकेका थिए । यसले एक तिरले दुई शिकार गर्ने उनको रणनीतिक प्रयोग सफल भयो । धोवीघाट मोर्चाबाट तत्कालिन उपाध्यक्षत्रय मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा अलग पार्नु थियो । प्रचण्डले डा. भट्टराईलाई प्रधानमन्त्रीको कार्ड फ्याँक्नासाथ त्यो छताछुल्ल भयो । मधेसी मोर्चासँग गोप्य सहमति गरी सरकार पनि बन्यो, सोही बेला ‘ककटेल सहमति’को तस्बिर पनि बाहिरिएको थियो ।
त्यो सहमतिका साक्षी रहेका एक जना मधेसी दलका नेता भन्छन्,‘प्रचण्डको त्यो प्रयोगले उता माओवादीमा हुकुमत जारी रह्यो, यता मधेसी मोर्चामाथि संयुक्त नेतृत्व । सोही क्रममा अन्य १८ दललाई पनि उनले एकत्रित गरी नेतृत्वमा रहे ।’
संविधान जारी भएपछि पनि प्रचण्डले सरकारका निम्ति अनेक सहमति गरेका थिए । तत्कालिन एमाले अध्यक्ष ओलीसँग चुनावसम्म पुग्दा आधा–आधा समय सरकार चलाउने सहमति गरेका थिए । ओलीले सहमति पालना नगरेको भनी, अविश्वासको प्रस्ताव दर्ता गराएर प्रधानमन्त्री बने । त्यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नौ–नौ महिना सरकार चलाउने लिखित सहमति गरेका थिए ।
देउवासँगको सहकार्यपछि भने उनले पार्टी एकीकरणसँगै ५ बर्षको सरकार साझेदारीमा पनि गोप्य सहमति गरेको खुलेको छ । उनैले त्यस्तो सहमति भएको खुलासा गरेपछि प्रचण्ड कर्नरबाट उक्त लिखित सहमतिको दस्ताबेज नै सतहमा आयो, जसको प्रभावको राजनीति अहिले बहसमा चलिरहेको छ । ओली र प्रचण्ड खेमा स्पष्ट भएर बाहिर आएको छ, यसमा बामदेव गौतमलगायतका नेताले पनि प्रचण्डको वैशाखी बनिदिने काम गरिरहेका छन् ।
यता, भारतमा नयाँ सरकार आउनासाथ प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा उभ्याउन खोजेको आरोप लाग्न थालेको छ । अझ, आश्चर्यचकित पार्दै तत्कालिन ओली सरकार गिराउन मुख्य भूमिका खेलेका एस जयशंकरलाई मोदी प्रशासनको विदेश मन्त्री नियुक्त गरेपछि झन् पेचिलो बनिरहेको छ, गोप्य सहमतिको लिक भएको त्यो पत्र । अब के होला ?