नेकपामा गुटैगुट, ओली भन्दा प्रचण्ड बलियो, नेपाल समुह पत्तासाफ



 

गत बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब सवा तीन घण्टापछि मात्र बाहिरिए । त्यसबीच उनी र प्रधानमन्त्री तथा अर्काअध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल चल्यो । दुई शीर्ष नेताबीच एकान्त कुराकानीसमेत भयो ।

 

त्यसोतः पार्टी कामका सिलसिलामा प्रचण्ड बालुवाटार पुगिरहन्छन् । तर, सामान्यतया बसाइ लामो हुँदैनन् । बुधबारको लामो बसाइको कारण भने बेग्लै थियो । त्यसदिन प्रचण्डले बालुवाटारमा अलि धेरै समय नै बिताएका थिए । तर, फर्कंदा पनि उनी उस्तै उदास देखिन्थे । कारण थियो, पार्टी गठनको वर्ष दिन नहुँदै देखिएको गुटबन्दी फैलिँदै जानू ।

 

वास्तवमै, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको वर्ष दिनभित्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चरम गुटबन्दी देखिएको छ । पार्टी एकताको कामसमेत नटुंगिँदै सतहमा देखा परेको गुटबन्दीबाट सायद दुवै अध्यक्ष चिन्तित छन् । तर, पार्टीलाई एक ढिक्का बनाउन खासै पहल भएको भने देखिँदैन । एकताका बाँकी कामलाई प्राथमिकतामा नराख्नुले त्यही देखाउँछ । नेकपा गठनको एक वर्ष बितिसक्दा पनि पोलिटब्युरो बन्न सकेको छैन ।

 

पोलिटब्युरो नबन्दा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत अवरुद्ध छ । जनसंगठनहरूको एकीकरण घोषणासँगै ३ जेठमा पोलिटब्युरो टुंग्याउने तयारी थियो । तर, ओली र प्रचण्डबीच गृहकार्य नपुगेको भनी पोलिटब्युरो घोषणा गरिएन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने सहमति थियो । तर, बैठक नै कहिले बस्ने नै टुंगो छैन ।

 

पोलिटब्युरो गठनपछि मात्र कार्यविभाजन गर्ने योजनासहित ५ जेठमा बोलाइएको बैठक नेताहरूको व्यस्तताको कारण देखाएर स्थगित गरिएको थियो । अनुशासन कमिटी, निर्वाचन आयोग, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कूल, कृषि तथा भूमिसुधारलगायत ३२ वटा विभाग बन्न सकेका छैनन् ।

 

१ सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ जना र पूर्वमाओवादीबाट ६६ जना रहने समझदारी छ । पछिल्लो बैठकमा अध्यक्ष प्रचण्डले गृहकार्यबाट अर्को सूचीसहित सचिवालय बैठकबाट पोलिटब्युरो गठन गर्ने भनेपछि स्थगित भएको थियो । पूर्वमाओवादीबाट पोलिटब्युरोमा रहने नेताहरूको नाम भने प्रचण्डले टुंग्याएका छैनन् ।

 

एक वर्षको अवधिमा केन्द्रीय समितिको बैठक एकपटक मात्र बसेको छ । पार्टी दर्ताका निम्ती निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने अभिप्रायले बसेको सो बैठक बसेको थियो । सचिवालयमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, स्थायी समिति सदस्य घनश्याम भुषाललगायतका नेताहरूले सार्वजनिक रूपमै ओलीको आलोचना गर्दै आएका छन् । विधि र पद्धति अवलम्बन नगरेको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत अध्यक्ष ओलीको आलोचना गर्ने गरेका छन् । तर, सुधार कतै देखिँदैन ।

 

सार्वजनिक आरोप–प्रत्यारोमा नेता

लामो समयसम्म बैठक नबस्ने, एकता नटुंगिने, सामूहिक छलफल र निर्णयको विधि प्रक्रिया अवलम्बन नहुने त छँदै थियो, पछिल्लो समय सार्वजनिक रूपमै केही नेता आफूविरुद्ध उत्रिएपछि प्रचण्डको चिन्ता बढेको छ । आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै नेताहरू आफूलाई बलियो देखाउन र अर्कोलाई खुइल्याउन तल्लिन देखिन्छन् ।

 

त्यसैक्रममा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्डविरुद्ध पटकपटक आक्रामक अभिव्यक्ति दिएका छन् । राजनीतिक विचारधारासँग जोडेर प्रहार गर्न खोजिए पनि पोखरेलको निशाना प्रचण्ड नै भएको नेकपाका आम कार्यकर्ताले बुझेको हुनुपर्छ । नेकपाको भावी राजनीतिक लाइन के हुने भन्ने विषयको बहस आन्तरिक रूपमा पार्टीभित्र चलाउनुपर्नेमा सार्वजनिक कार्यक्रममा जुहारी चल्ने गरेको छ ।

 

यस्ता छन् गुट

पार्टीभित्र अहिले देखिने गरी तीनवटा समूह (गुट) क्रियाशील छ । सतहमा ओली, प्रचण्ड र माधवकुमार नेपालले ती तीनवटा गुटको नेतृत्व गरेको देखिन्छ । तर, नदेखिने गरी आधादर्जनभन्दा बढी गुट छन् । तत्कालीन एमालेतर्फकै ओली, नेपालपछि गौतम र पोखरेल पनि शक्ति आर्जनमा छन् ।

 

पोखरेल त पछिल्लो समय खुलेरै लागेको देखिन्छ । यस्तै, प्रचण्डतर्फ श्रेष्ठ शुषुप्त रहे पनि रामबहादुर थापा बादल अर्को गुट चलाइरहेका छन् । ४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका २६ र पूर्वमाओवादीका १९ जना छन् । त्यसलाई पनि गुटमा विभाजन गर्दा ओली, प्रचण्डको नेपालको पक्षमा १२–१२ जना छन् ।

 

बाँकी ९ जनामध्ये गौतम, श्रेष्ठ र बादलनिकट ३–३ जना देखिन्छन् । ओलीका १२ भित्रै देखिने पोखरेले पूर्वएमालेतर्फका २६ मध्येबाट केहीलाई आफूतर्फ तान्ने र बलियो बन्ने दाउमा छन् । एमालेको ९औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ओलीलाई सहयोग गर्ने क्रममा अर्कोपटक अध्यक्षमा सघाउने बाचा गराएकाले पनि पोखरेल शक्ति आर्जनको खेलमा लागेका हुन् । तर, १०औँ महाधिवेशन नहुँदै एमाले र माओवादीबीच एकता भएकाले ओली त्यो बाचा पूरा गर्न सक्ने अवस्थामा छैनन् ।

 

प्रचण्डको चिन्ता

ओली आफैँ पनि पुनः अध्यक्षको दाबेदार रहेको नेकपा वृत्तमा चर्चा चल्न थालेको छ । यी सबै कुराले प्रचण्डलाई चिन्तित बनाएको छ । एकताका बेला भएको सहमतिअनुसार ओलीले पार्टी नेतृत्वमा जानबाट रोक्ने हुन कि भन्ने आशंका र अन्योल प्रचण्डमा बढेको छ । त्यसकारण प्रधानमन्त्री ओलीसँग मिलेर जाने कि एमालेभित्रकै अर्को गुटलाई समाएर जाने भन्ने अन्योल प्रचण्डमा देखिएको छ । त्यसको संकेत उनका केही अभिव्यक्तिबाटै लगाउन सकिन्छ । ओलीप्रतिको विश्वास डगमगाएकै कारण उनले बेला बेला जंगल जाने कुरा वा लाखौँ कार्यकर्ताको बीचमा पनि एक्लै महसुस हुन थालेको कुरा गरेका हुन् ।

 

सरकार सञ्चालनमा कमजोरी

पार्टी यसरी गुटैगुटको शिकार बन्दै गएका वेला सरकार सञ्चालनसमेत प्रभावकारी हुन सकेको छैन । जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा दुईतिहाइ नेतृत्वको कम्युनिष्ट सरकार अलोकप्रिय बन्दै गएको छ । पार्टीभित्र सरकारको कार्यशैलीप्रति व्यापक असन्तोष छ । प्रधानमन्त्री ओली सानो घेरामा रमाइरहेका छन् ।

 

पार्टीमा प्रचण्डसहित नेपाल र खनालसमेत गरी तीन पूर्वप्रधानमन्त्री छन् । अरु दर्जनौँ नेतासँग मन्त्रालय चलाएको अनुभव छ । तर, ओलीले सचिवालयका केही सदस्यबाहेक अरुसँग सल्लाह गर्ने गरेका छैनन् । कतिसम्म भने नेताआफ्नै क्याबिनेटका उपप्रधानमन्त्री र मन्त्रीहरूले समेत भेट गर्न हप्तौँ कुर्नुपर्ने अवस्था छ । जसले गर्दा मन्त्रीहरूसमेत रुष्ट बनेका छन् । मन्त्रालयका सचिवलाई आफूहरूले नभई, प्रधानमन्त्रीको सचिवालयले सञ्चालन गर्दै आएको गुनासो मन्त्रीहरूले आफूनिकटहरूसँग गर्ने गरेका छन् ।

 

गम्भीर संकटको खतरा

यो भद्रगोलको अवस्थाले नेपालको इतिहासमा पहिलोपटक पाएको दुईतिहाइ बहुमतको सरकार नेतृत्व गर्ने अवसरलाई नेकपाले पूर्ण रूपमा सदुपयोग गर्न सकेको छैन । तत्कालै पार्टी एकताको काम टुंगोमा पु¥याइ सरकार सञ्चालनको गम्भीर समीक्षा नगर्ने हो भने पार्टी, समग्र आन्दोलन र मुलुक गम्भीर दुर्घटनामा जान सक्ने खतरा छ ।

 

संविधान जारी भएर निर्वाचित सरकार आइसकेको भए पनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र स्वार्थ नेकपा र नेकपा नेतृत्वको सरकार प्रतिकूल छ । यी सबै प्रतिकूलताको गम्भीर समीक्षासहित पार्टी, आन्दोलन, ऐतिहासिक उपलब्धि र राष्ट्रलाई जोगाउने अभिभारा मुख्यतः दुई अध्यक्षको काँधमा छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको

नेपाल एयरलाइन्सका चारवटै विमानबाट नियमित उडान सुरु

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि

पूर्वसभामुख ढुंगानाको निधन, आज सार्वजनिक बिदा

     पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ

एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता