कम्युनिष्ट नेता यस्तरी कुहिँदा
‘भाउजूको काम अस्थायी रुपमा चलाइदेऊ न यार †’ यसो भन्नेलाई केटीले ‘नाइँ’, ‘हुन्न’ भन्दाभन्दै ‘मलाई तिमीसँग …. मन छ, बाँकी जान्दिन…’ भन्दै जिद्धी गर्ने नेकपाका एकजना ‘राम्रै’ कार्यकर्ता, प्रदेश उपसभामुखकै पिएको म्यासेञ्जर कन्भरसेसन जनआस्थाले फेला पारेको छ ।
यस्तो यातनापूर्ण डिमाण्डकै फलस्वरुप हुनुपर्छ, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका अंगरक्षक दुई–तीन महिना नपुग्दै फेरिने गरेको । किनभने, प्रहरीले महिलाका लागि महिलालाई नै अंगरक्षक खटाउँछ ।
तर, ती महिला सुरक्षाकर्मी भिआइपीका पिएबाटै आउने ‘आज साँझ मिलाऊ है, एक दिनलाई फरक पर्दैन, एक घण्टा मात्रै, बिरामी भए हस्पिटल छँदैछ, मजा लिने हो’ जस्ता यौन प्रस्तावबाट आतंकित भएपछि बसुन् पनि कसरी ? यसप्रकार उपसभामुख निर्वाचित भएको एक वर्षमा पाँच अंगरक्षक परिवर्तन भइसके । दार्चुला घर भएका स्वकीय सचिव हरिश भट्टले फोन र फेसबुक म्यासेञ्जरबाट आफ्नो इच्छा महिला प्रहरीलाई बताउने गरेका छन् ।
यौनकर्मीभन्दा तल्लो तहमा उत्रिएर सुरक्षाकर्मी महिलालाई प्रस्ताव राख्ने गरिएको पीडितले आफ्नो युनिटमा सुनाएपछि उनीहरुलाई बदली गरिँदै आएको छ । ती अंगरक्षकलाई घरायसी काममा समेत लगाउने गरिएको उजुरी छ । धनगढीस्थित उपसभामुखको निवासमा कहिलेकाँही नेकपाका नेता दीर्घ सोडारी र गणेश ठगुन्ना पनि पुग्ने गरेका छन् । उनीहरु चाहिँ पार्टी कामको सिलसिलामा सरसल्लाहका लागि जाने गरेको बताउँछन् । पीडितले पनि सभामुखका पिएबाहेक अरुको बारेमा केही गुनासो गरेका छैनन् ।
भनिन्छ, कम्युनिष्टहरु फलामे अनुशासनमा बाँधिएका हुन्छन् तर अचेल उनीहरुमै डरलाग्दो यौन विचलन पाइन्छ । एक वर्षमा एउटी महिलाले किन पाँच जना महिला अंगरक्षक फेर्छिन् ? उनकै पिएले किन यसरी मेरो प्यास बुझाइदेऊ भनेर कसैकी पत्नी, छोरी र बुहारीले लगाएको बर्दीलाई यौनकर्मीको रुपमा दुरुपयोग गर्न तम्सन्छन् ? प्रहरीको तल्लो दर्जामा जागिर खाने गरिबका चेलीले सरुवा जोगाउन कमरेडहरुको यौन शोषणको शिकार हुनैपर्ने हो ? ओली सरकारको गृह प्रशासन, बादल कमरेड, आईजीपी सर्वेन्द्र खनालको के छ यस सम्बन्धी धारणा ?
यसबारे प्रतिक्रिया लिन उपसभामुखलाई जनआस्थाले हिजो ९८४८८३९९६८ मा फोन गर्दा उनले उठाइनन् ।
पैसाको पीरले निर्जला प्याकप्याक
चक्रीय प्रणालीको चक्र चुँडिने बेला, दक्षिणतिर चुनाव सकिएर मोदी दोहोरिनै लाग्दा यता राष्ट्रिय जनता पार्टी (राजपा) मा अनेकन सम्भावना र विरक्तिको बादल मडारिन थालेको छ ।
भर्खरै अनिल झालाई दुई महिने संयोजकको जिम्मा दिइएको र महन्थ ठाकुरलाई एकल नेतृत्व बुझाउने तयारी भइरहेको बेला भविष्यको अनेक परिदृश्य प्रकट भएको हो । महन्थ, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झाहरु कालान्तरसम्म एकै ठाउँ रहलान् । तर, कम्युनिष्ट पृष्ठभूमिका महेन्द्र रायले यादवचाहिँ सबै कुरा सहेर बस्ने देखिँदैन । एमाले पृष्ठभूमिका उनको त्यता फर्किने सम्भावना नभए पनि बाबुराम, उपेन्द्र, अशोक नेतृत्वको समाजवादी पार्टीमा जाने कुरालाई नकार्न सकिँदैन । अर्को प्रसंग आउँछ, शरद्सिंह भण्डारीको । लैनचौर दूतावासनिकट भएका कारण उताको ईशाराबिना दायाँबायाँ गर्दैनन् । बेलाबेला सरकारमा जाऔँ पनि भनिहाल्छन् ।
दिल्लीको केन्द्रीय सत्तामा नरेन्द्र मोदी दोहोरिने भएपछि यता राजपामा हर्ष छ । भारत सरकारले नेपाली कांग्रेसलाई उताको कंग्रेस आईकै स्तरमा राख्दै छ । न उसले नेकपा र त्यसको सरकारलाई फुटाउने, न काँग्रेसलाई उकास्ने खतरा छ, न हिन्दू धर्मबाटै टसमस हुन्छ । ऊ ‘गुड इन्गेजमेण्ट विथ गभर्मेन्ट’ को स्थितिमा रहने अनुमान लगाउँछन्, भारतीय विश्लेषकहरु ।
शरद्सिंह सन्त नेता किसुनजीलाई जीवनका केही वर्ष बस्न दिएको भैंसेपाटीस्थित निवास अघिल्तिर भूकम्पपछि प्रिफ्याब टहरो ठड्याएर अचेल धेरै समय निर्जला राउतसँगै बस्छन् । यसो हुनुको अर्को कारण हो, निर्जलाले ल्याएको अकुत सम्पत्तिप्रतिको आकर्षण । उनका दक्षिण भारतीय पति छन्, कृष्णन् । अमेरिकाको जर्जिया राज्यमा बस्ने । दुई छोरी भारतमै अध्ययनरत छन्, राउत हैन कृष्णन् थर नै लेख्छन् । मधेस आन्दोलन ०६३ देखि नेपाल आएर यतै बस्न थालेकी हुन् । नागरिकताअनुसार सिराहा जिल्ला, बस्तिपुर– २ पक्कीटोलकी बासिन्दा र अस्थायी बसोबास ललितपुरको भैंसेपाटी हो ।
रहस्यमय छ– जुन दिनदेखि शरद्सिंह निर्जलासँग बस्न थाले, त्यही बेलादेखि नेपाली कांग्रेस त्यागे र निरन्तर मधेसकेन्द्रित राजनीति गरिरहेका छन् । तर, उनी पुख्र्यौैली मधेसी हैनन् । पोखराबाट खेतीपातीको क्रममा बाबुसँगै महोत्तरीको बर्दिबास झरी त्यहीँबाट पहिला पञ्चायतसम्बद्ध र ०४६ पछि कांग्रेसको राजनीति गरेका हुन् ।
निर्जलालाई उनले ०६४ कै संविधानसभामा लैजान खोजेका थिए, तर उपेन्द्र यादवले रेणु यादवलाई छाड्न नमान्दा पालो आएन । तर, ०७० को दोस्रो संविधानसभा हुँदै अहिले प्रतिनिधिसभामा समानुपातिक सांसद छिन् । अहिलेको संसदमा माधव नेपाल, प्रदीप गिरी, प्रकाशमान सिंह, डा.नारायण खड्का, अग्नी सापकोटा, सुजाता कोइराला, सुरेन्द्र (राम) कार्की, भीम रावल, सुजिता शाक्यजस्ता नेताहरु रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य पनि छन् ।
निर्जलाले ल्याएको सम्पत्ति शरद्सिंहले विभिन्न ठाउँमा लगानी गरेका छन् । शिक्षासम्बन्धी काम गर्ने गरी ललितपुरमा सञ्चालित होप इन्टरनेशनल, बर्दिबासमा होटल र हस्पिटल व्यवसाय, मुस्ताङको जलविद्युत परियोजनासहित विभिन्न आयोजनामा लगानी छ । अहिले उनीहरुलाई सरकारले यसैमा अँठ्याउँछ, कस्छ कि भनेर बयान दिँदैको हैरानी छ ।
निर्जलालाई किन नमज्जा ?
प्रम कार्यालयअन्तर्गत सम्पत्ति शुद्धिकरण छानविन आयोगले शुरु गरेर पनि राजनीतिक दबाबमा फाइल थन्क्याइएको मामिला हो, अपर मुस्ताङ जलविद्युत परियोजनाको ।
त्यसैको मालिक्नी निर्जला राउतमाथि अधिक विजकीकरणअन्तर्गत मुद्दा चलिरहेको छ । अर्थात्, पर्ने मूल्यभन्दा बढी लगानी गरेबापतको कानुनी झमेला । साढे चार सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्यसहित अपर मुस्ताङ जलविद्युत परियोजना दर्ता गरिएको छ । उनले मरिससबाट पैसा ल्याएकी हुन् । सम्पत्ति शुद्धिकरणले सो रकमको स्रोत उपलब्ध गराउन पत्राचार गरेको थियो । तर, अहिलेसम्म न स्रोत खुल्यो, न कारवाही नै अगाडि बढेको छ । लगानीको वास्तविकता बुझ्न सम्पत्ति शुद्धिकरण जोडसँग लाग्यो । तर, राजनीतिक दबाबमा फाइल बन्द छ । उनीहरुले जलविद्युतका लागि आठ करोडमा जग्गा किने ।
रजिष्ट्रेसनमा पनि त्यति नै देखाए । तर, फिल्डबुकमा दोब्बर पैसा गएको पाइयो । एक त सरकारी मूल्यांकनको तुलनामा बढी रकम हालिएको जमिन, त्यसमाथि फिल्डबुकमा जनाउँदा किनेको वास्तविक लागतभन्दा बढी मूल्य † सामान्यतया व्यापारीहरुले जति मूल्यमा जग्गा तिरे पनि जमिनको कर जोगाउनका लागि सरकारी रेट राख्ने गर्छन् । तर, तनाव बढी नै भएपछि निर्जला अचेल बढी देखिएको रकमबापतको जरिवाना, कर वा जस्तोसुकै दस्तुर तिर्न तयार रहेको बताउन थालेकी छन् ।
सम्पत्ति शुद्धिकरणको क्षेत्राधिकारभित्र ‘तिराउने’ विषय पर्दैैन, कसरी यत्तिका सम्पत्ति आयो र कुन उद्देश्यका साथ बाहिरियो भनेरमात्र हेर्ने हो । विशेषतः क्षेत्रीय आतंकवादको खतरा, त्यसमा आर्थिक लगानीमाथि केन्द्रित भएर यस्तो संयन्त्र स्थापित भएको हो । तर, सरकार नियन्त्रित सो संयन्त्र प्रत्यक्षतः राजनीतिक प्रभावमा पर्ने गरेको छ ।
त्यहीँ अजेयराज सुमार्गीको पनि १२ अर्बको मुद्दा चलिरहेको छ । अदालतमाजस्तै गोलचक्करमा छ, सुमार्गीको मुद्दा ।
अर्को छ, भारतीय लगानीको एसबिआई बैंकसँग सम्बन्धित मुद्दाको अनुसन्धान । उक्त बैंकमार्फत एकजना भारतीयले ४३ करोड रुपैयाँ बाहिर लगेका छन् । न आरोपितले, न बैंकले– कसैले पनि भरपर्दो जवाफ नदिएपछि सम्पत्ति शुद्धिकरण आयोगले सो मुद्दा उच्च अदालत पाटनको बाणिज्य इजलाशमा लैजाने अन्तिम तयारी गरिरहेको छ ।
अर्को छ, विनोद गुप्ताको मुद्दा । राजश्व अनुसन्धानले कर छलीमा मुद्दा हालेर सम्पत्ति शुद्धिकरणमा पठाएको हो । सम्पत्ति शुद्धिकरणले वैशाख ११ गते मुद्दा विशेष अदालतमा पेश गरेको छ । उनकी नेपाली पत्नी मधुकुमारी चौधरीलाई पनि विपक्षी बनाइएको छ । विनोदचाहिँ भारतीय नागरिक हुन् । उनीहरु विरुद्ध २२ करोड ९५ लाख बिगो राखेर मुद्दा दायर भएको हो ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा केही कठिनाई रहेछन् । यो मुद्दा चलाउने प्राथमिक चरणको निकाय होइन । उदाहरणका लागि, लागु औषधको व्यापार गरेको छ भने पहिला प्रहरीले कारवाही गरेर मुद्दा बुझाएको हुनुपर्छ र शंकास्पद सम्पत्ति देखियो भनेमात्र सम्पत्ति शुद्धिकरण आकर्षित हुन्छ । कर, भन्सार छलेको भए ती निकायले हेर्छन् ।
सबै निकायले कसुर स्थापित गरेपछि सम्पत्तिको अनुचित वा शंकास्पद स्थिति देखियो भने मात्र सम्पत्ति शुद्धिकरण आकर्षित हुने हो । जस्तो कि, अहिले कारागारमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) माथि पहिला अख्तियारले भ्रष्टाचार मुद्दा चलायो । त्यहाँबाट स्थापित भएको कसुरमा टेकेर सम्पत्ति शुद्धिकरणले उनीमाथि हात हाल्यो । प्रहरी, अख्तियार, राष्ट्रबैंकले फाइल पठाएपछि बल्ल यो विभागले काम पाउने हो । ऊ आफैंले शुरुमै हात हाल्न पाउँदैन । जनआस्थाबाट