विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता देशको आवश्यकताअनुसार: महासचिव पाैडेल



 

नेकपा महासचिव एवं सांसद विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता देशको आवश्यकताअनुसार रहेकाे बताएका छन् । प्रतिनिधिसभाकाे सोमवारकाे बैठकमा सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्व बजेट) छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले सरकारकाे नीति अनुसार बजेट निर्माण सम्भव रहेको बताए ।

 

उनले भने `यसले समग्रतामा सही विचार र सही सिद्धान्त आत्मसात गरेको मैले पाएको छु । सही सिद्धान्त आत्मसात गरेको मैले पाएको छु । सबैभन्दा पहिला यो सिद्धान्त र प्राथमिकताले संविधानले परिलक्षित गरेको समाजवादउन्मुख आर्थिक प्रणाली, राज्यका निर्देशक सिद्धान्त र नागरिकका मौलिक हकको मार्गदर्शनमा बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थात् हाम्रो मुलुकको आर्थिक भविष्य सम्बन्धमा संविधानले नै निश्चित मार्गदर्शन गरेको छ ।´

 

नेकपाका महासचिव विष्णु पाैडेलले छलफलका क्रममा व्यक्त गरेकाे विचार
सभामुख महोदय,
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सन्दर्भमा आफ्नो विचार प्रस्तुत गर्न रोस्टममा उभिएको छु । सभामुख महोदय सबभन्दा पहिला म विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माननीय अर्थमन्त्रीजीले सदनसमक्ष प्रस्तुत गर्नुभएको छ । म यसप्रति आफ्नो तर्फबाट दृढ समर्थन जनाउन चाहन्छु । मेरो समर्थन केवल सत्तापक्षीय धर्म निर्वाहका लागि मात्र होइन सभामुख महोदय, समर्थनका पछाडि केही यथेस्ट कारण छन् भन्ने निवेदन गर्न चाहन्छु ।

 

सबभन्दा पहिला हामी नयाँ आर्थिक वर्षको लागि बजेट तर्जुमा गर्दैछौ । त्यो बजेटलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू के हुनेछन्, त्यो बजेटले कस्ता विषयलाई प्राथमिकतामा राख्नेछ र मुलुकलाई अगाडि बढाउने सन्दर्भमा के कस्ता मान्यताबाट निर्देशित हुनेछ भन्ने सन्दर्भमा यो विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता गम्भीरतापूर्वक अध्ययन गरे ।

 

यसले समग्रतामा सही विचार र सही सिद्धान्त आत्मसात गरेको मैले पाएको छु । सही सिद्धान्त आत्मसात गरेको मैले पाएको छु । सबैभन्दा पहिला यो सिद्धान्त र प्राथमिकताले संविधानले परिलक्षित गरेको समाजवादउन्मुख आर्थिक प्रणाली, राज्यका निर्देशक सिद्धान्त र नागरिकका मौलिक हकको मार्गदर्शनमा बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थात् हाम्रो मुलुकको आर्थिक भविष्य सम्बन्धमा संविधानले नै निश्चित मार्गदर्शन गरेको छ ।

 

संविधानले समाजवादउन्मुख आर्थिक प्रणाली हुन्छ भनेको छ, तदनुरुप राज्यका निर्देशक सिद्धान्त तय भएका छन् र संविधानले मौलिक हक खाद्य, शिक्षा, सुरक्षा लगायतका प्रश्नमा अधिकार प्रत्याभूत गरेको छ र हामीले कानून पनि निर्माण गरेका छौं । समाजवादउन्मुख आर्थिक प्रणाली, राज्यका निर्देशक सिद्धान्तको दृढ अनुशरण र नागरिकको मौलिक हकको पक्षमा बजेट बनाउन चाहेको यो सिद्धान्तले बताउँछ ।

 

त्यसैगरी, २०७६/७७ का लागि सरकारका नीति तथा कार्यक्रम यो विनियोजन विधेयकको प्राथमिकता हुुनेछ भन्ने पनि यसले बताएको छ । त्यसैगरी विगत निर्वाचनको समयमा आमजनतामा जुन सम्बन्धित दलको तर्फबाट चुनावी घोषणापत्र लिएर जनतामा गयौं, यसले अगाडि सारेका विचार र दृष्टिकोणलाई आत्मसात गर्ने प्रतिबद्धता गरेको छ । १५ औं योजनाको लक्ष्यलाई पनि यसले प्रतिबद्धता व्यक्त गरेको छ । यसरी समग्रतामा यसले विनियोजन विधेयकको सन्दर्भमा सही सिद्धान्त निरुपण गरेको पाउँछु ।

 

यसैगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अनुसार आर्थिक विकास, समाजिक न्याय र सुशासन हासिल गर्ने उद्देश्य निश्चित गरेको छ । सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास, क्षमता अनुसार कामको अवसर र मर्यादित रोजगारी फराकिलो दायराको सामाजिक सुरक्षा र गुणस्तरीय पूर्वाधार सुनिश्तिच गर्ने संकल्प यसले बोकेको छ ।

 

सभामुख महोदय हामीकहाँ विकासको प्रश्नमा चर्चा चलिरहँदा स्वाभाविकरुपमा विकासलाई सामाजिक न्यायसँग जोड्नुपर्छ भन्ने मान्यता हामीले महत्व दिनुपर्छ भन्ने ठान्दछु । विकासलाई सामाजिक न्यायसँग जोडिएन भने विकासको प्रतिफलमा आमनागरिकको पहुँच सुनिश्चित हुन सक्दैन । त्यस अर्थमा यसले विकासलाई सामाजिक न्यायसँग जोड्ने, फराकिलो दायराको सामाजिक सुरक्षा सुनिश्चित गर्ने त्यसप्रकारको उद्देश्य लिएको छ । नागरिकका लागि सुरक्षित सम्मानित र गुणस्तरीय जीवन यो बजेट निर्माण गरिरहँदा यसबाट निर्देशित रहनुपर्छ भन्ने अठोट गरेको मैले पाए ।

 

बाल्यकालमा स्वास्थ्य शिक्षा र पोषण, युवावस्थामा सीप उद्यमशीलता र रोजगारी तथा वृद्धावस्थामा सम्मान, सुरक्षा संरक्षणको प्रबन्ध गर्ने अर्थात् एउटा बच्चा जन्मेदेखि जीवन रहँदासम्म उसको लागि राज्यसँग कस्तो सम्बन्ध हुन्छ भन्ने सन्दर्भमा यसले सुसंगत र स्पष्ट दृष्टिकोण अवलम्बन गरेको हामीले पाउँछौं ।

 

हरेक अवस्थामा राज्यको जिम्मेवारी फरक हुन्छ तर राज्य र नागरिकको सम्बन्ध यसरी अन्योन्याश्रित रहन्छ भन्ने मान्यतालाई यसले अगाडि सारेको छ । सन् २०३० अगावै मुलुकलाई मध्यम आय भएको एउटा मुलुकको रुपमा विकसित गर्ने अठोट अगाडि सारेको छ । समुन्नत, सबल र आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पूँजीको विकास, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिएको मैले पाउँछु । उत्पादक शक्तिको उच्च प्रयोग, लगानीमा धेरै महत्व दिएको छ ।

 

 

विदेशी लगानीको सन्दर्भमा यसले सुसंगत दृष्टिकोण अवलम्बन गरेको छ । हामी विदेशी पूँजी र प्रविधिलाई भित्र्याउन चाहन्छौं, त्यसरी भित्र्याउँदा कसरी कुन मान्यताका साथ भित्र्याउने ? भन्ने प्रश्नमा पनि एउटा दृष्टिकोणको आवश्यकता पर्दछ । त्यस दृष्टिकोणले हेर्दा राष्ट्रिय आवश्यकता र प्राथमिकताको आधारमा विदेशी पूँजीको लगानीलाई हामीले अनुमति दिनुपर्छ । विदेशी पूँजीको लगानी केवल हाम्रो राष्ट्रिय आवश्यकताको आधारमा र प्राथमिकताको आधारमा हुनुपर्छ भन्ने मान्यतालाई यसले अगाडि सारेको छ ।

 

 

विदेशी लगानी स्वभावैले राष्ट्रको आर्थिक समृद्धिको अभियानमा सहायक पक्ष हो भन्ने मान्यतालाई यसले आत्मसात गरेको छ । विदेशी लगानी निःसन्देश राष्ट्रिय पूँजी निर्माणको सन्दर्भमा सही भूमिका हुनुपर्छ भन्ने मान्यतालाई अगाडि सारेको छ । विदेशी पूँजी र प्रविधिलाई अगाडि सार्दा हामीले राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई ध्यान दिने एउटा सुसंगत दृष्टिकोण आत्मसात गरेको मैले पाउँछु ।

 

 

हामी संघीय प्रणालीमा गएका छौं । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धबारे पनि सुसंगत दृष्टिकोण र तदनुरुपको अभ्यासको आवश्यकता छ । तदनुकूल नै यसले संघ, प्रदेश र स्थानीय तहबीच जीवन्त समन्वय र सहकायैलाई अगाडि सारेको छ । संघ प्रदेश र स्थानीय तहको समन्वयमार्फत सुशासनको स्थापना गर्ने, प्रगतिशील र लगानीमैत्री राजस्व प्रणालीलाई अवलम्बन गर्ने यस प्रकारको संकल्प पनि यसले अगाडि सारेको मैले पाउँछु ।

 

 

सभामुख महोदय, प्राथमिकताका सन्दर्भमा पनि विनियोजन विधेयकका सिद्धान्तले स्पष्ट दृष्टिकोण अगाडि सारेको छ । खाद्य सुरक्षा, रोजगारी, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षाजस्ता मौलिक हक तथा जनताको सम्मानजनक जीवनयापनको पक्षमा यो उभिएको छ । स्वस्थ नागरिक, स्वस्थ जीवन र समाजका लागि स्वस्थ उत्पादन र स्वच्छ उपभोग गरी समग्र नागरिक, समाज र सिंगो राष्ट्रको स्वच्छ जीवनको पक्षमा यो उभिएको छ ।

 

 

त्यसैगरी यसले रोजगारी सिर्जना र स्वरोजगारीका लागि प्रोत्साहन योजना अगाडि सारेको छ । सबैलाई स्वास्थ्य बिमामा समेट्ने, आगामी वर्षलाई युवा परिचालन वर्षको उद्देश्यका साथमा अगाडि सारेको छ । महिला सशक्तिकरण र उद्यमशीलताका लागि तदनुरुपको कार्यक्रम अगाडि सारेको छ । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र विशिष्टीकरणको योजना अगाडि सारेको छ । पर्यटन प्रवद्र्धनका सन्दर्भमा कार्यक्रम आएको छ । मुख्यरुपले आगामी वर्ष अधुरो योजना सम्पन्न गर्ने संकल्प यसले गरेको छ ।

 

 

हामीकहाँ योजनाको फेहरिस्त छ, ती योजना कहिलेदेखि शुरू भए, वर्षौ–वर्षदेखि शुरू भएका ती योजना कहिले सम्पन्न हुन्छन् भनेर अहिले पनि भन्न सकिने अवस्था छैन । यसले गर्दा योजना र तिनको भविष्य आफैंमा अन्धकारमा लड्किएको छ । यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले के कुरा स्पष्ट गरेको छ भने आगामी वर्ष विगतका सबै अधुरा योजनालाई सम्पन्न गर्छाैं भन्ने अठोट गरेको छ ।

 

 

मेरो विचारमा विकास अभियानका सन्दर्भमा यसले नयाँ र गुणात्मक सन्देश यसले दिन सकेको छ भन्ने म ठान्दछु । उच्च र दीगो विकासका लागि सहयोगी हुने द्रूतमार्ग, विमानस्थल, रेलमार्ग जलको बहुआयामिक उपयोग, विद्युत् प्रशारण लाइन र शहरी विकासमा लगानी केन्द्रित गर्ने, यी यस्ता क्षेत्रमा लगानी केन्द्रित गर्दा दीगो आर्थिक विकास हुने, रोजगारीका अवसर सिर्जना हुने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माणमा टेवा पुग्ने विश्लेषण गरेको म पाउँछु ।

 

गुणस्तरीय दूरसञ्चार, भूकम्पपछिको पुनर्निर्माण, सबै किसिमको सामाजिक विभेदको अन्त्य गर्ने कुरा दृढ पक्षपोषण गरेको छ । विकास अभियानको बाधकको रुपमा सार्वजनिक खरिद प्रक्रिया उभिएको छ, त्यसका प्रतिकूल प्रबन्धलाई नबदली विकास हुँदैन भन्नेमा सबै सहमत भएको देखिन्छ । त्यसलाई समयानुकूल संशोधन र अद्यावधिक गर्न चाहेको देखिन्छ ।

सभामुख महोदय,
निःसन्देश हाम्रा सामुन्नेमा चुनौती छन् । माननीय अर्थमन्त्रीले जुन सिद्धान्त र प्राथमिकतामा बजेट निर्माण गर्दै हुनुहुन्छ । स्वभावैले केही चुनौतीहरू हाम्रा सामुन्नेमा छन् भन्ने मलाई लाग्छ । खासगरी सीमित साधनस्रोत र असीमित आकांक्षाबीच कसरी सन्तुलन कायम गर्ने ? यो माननीय अर्थमन्त्रीका सामुन्ने उपस्थित भएको चुनौती हो भन्ने लाग्छ । स्रोतसाधन सीमित छ, जनआकांक्षा असीमित छ, यसको सन्तुलनतर्फ अर्थमन्त्रीको ध्यान जानेछ भन्ने म आग्रह गर्न चाहन्छु । सीमित स्रोतसाधनलाई परिचालन गर्दै उत्पादन वृद्धि कसरी, रोजगारी सिर्जना कसरी ? आयात प्रतिस्थापन गरेर निर्यात प्रवद्र्धन गर्ने कसरी भन्ने अर्को चुनौती उपस्थित छ भन्ने मलाई लाग्दछ ।

 

नीति कार्यक्रमले भनेझैं आगामी आर्थिक वर्षलाई इतिहासकै तीव्र आर्थिक विकासको वर्ष बनाउने कसरी ? स्वभावैले मन्त्रीजीले विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता सन्दर्भमा बोलिरहँदा यसबारे निर्देशित हुने प्रतिबद्धता व्यक्ति गरिसक्नुभएको छ ।

 

विशेषगरी विकास प्रयासमा जनप्रतिनिधिको भूमिकालाई स्थापित गर्न जरुरी छ । विकास र जनप्रतिनिधि एकअर्कासँग आवद्ध हुनुपर्छ, एकअर्कासँग अन्योन्याश्रित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्छ । यसअर्थमा अर्थमन्त्रीजीले विकास प्रयासमा प्रतिनिधि सभा, राष्ट्रियसभा लगायत सबै जनप्रतिनिधिसँग परामर्श गर्नुहुनेछ ।

 

पूँजीगत खर्च नहुने, आयोजनाहरू निर्धारित समयमा र गुणस्तरीय ढंगले सम्पन्न नहुनेजस्ता समस्या हाम्रा सामुन्नेमा छन् । यी समस्यालाई समाधान गर्ने गरी योजना र दृष्टिकोण बजेट निर्माण गरिरहँदा प्रस्तुत गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहन्छु । चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि र २७ प्रतिशतको राष्ट्रिय बचत उपलब्धि आर्जन गर्नु चानचुने कुरा होइन ।

 

सरकारको नीति तथा कार्यक्रममा भनिएझैं आगामी वर्षलाई इतिहासकै तीब्र आर्थिक वृद्धिको वर्षको रुपमा हासिल गर्नको लागि अनुकूल हुने त्यसप्रकारको बजेट लिएर आउनुहुुनेछ र त्यस प्रकारको बजेट निर्माणका लागि जुन प्रकारको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नुभएको छ । यो सिद्धान्तको मार्गदर्शनमा त्यस प्रकारको बजेट निर्माण गर्न सम्भव छ भन्ने विश्वास गर्न चाहन्छु र प्रस्तुत सिद्धान्त र प्राथमिकताप्रति दृढ समर्थन जनाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको

नेपाल एयरलाइन्सका चारवटै विमानबाट नियमित उडान सुरु

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि

पूर्वसभामुख ढुंगानाको निधन, आज सार्वजनिक बिदा

     पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ

एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता