नेकपाको पोलिटब्युरो र जिल्ला कमिटीमा सहमति



 

 

पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटीहरुको एकीकरण टुंगो लगाउने प्रयास भइरहेको छ । सोमबार २२ अपि्रलको दिन कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको हो ।

 

जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरुको नाम टुंगो लगाउन शीर्षनेताबीच आइतवार पनि छलफल जारी छ ।

 

यसअघि शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव बिष्णु पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । पौडेल आइतबार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा छन् ।

 

महासचिव पौडेलले पार्टी एकताको बाँकी कामलाई टुंगो लगाउन अन्तिम चरणको छलफल चलिरहेको बताए । सोमबार पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम हुन लागेको र त्यहाँ पार्टी एकताका बाँकी सन्दर्भ पनि सार्वजनिक हुने सम्भावना रहेको जानकारी दिए ।

 

महासचिव पौडेलले पार्टीभित्र नेताहरुबीच अनेकता र विवादको सन्देश जान नदिन पहल गरिरहेका छन् । उनले यसबीचमा अध्यक्षहरुकै अनुमतिमा बरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए । पछिल्लो छलफल सकारात्मक रहेको र बीचमा छलछाम नगरिए जिल्ला कमिटीका पदाधिकारी र पोलिटव्यूरो चयनमा ठूलो विवाद नरहने नेपाल निकट स्रोतले बताएको छ ।

 

जनप्रतिनिधि पार्टीको कार्यकारी प्रमुख हुन पाउने

स्रोतका अनुसार विभिन्न मापदण्डमा छलफल हुँदा पनि विशेषगरी पूर्वएमालेभित्र केपी ओली र माधव नेपाल समूहबीच सहमति हुन नसकेपछि जनप्रतिनिधिलाई जिल्ला नेतृत्वबाट बञ्चित नगर्ने समझदारी नजिक नेताहरु पुगेका छन् । यसअघि साबिक एमालेको जिल्ला अध्यक्ष रहेका नेताहरु अहिले जनप्रतिनिधि भए पनि उक्त जिल्ला अध्यक्ष एमालेको भागमा परेमा सोही जिम्मेवारीमा रहन पाउनेछन् ।

 

अध्यक्ष प्रचण्डको प्रस्तावमा ओली र नेपाल सहमत भएपछि जनप्रतिनिधिले पार्टीको कार्यकारी भूमिकामा पनि रहन पाउने समझदारी नजिक नेताहरु पुगेको स्रोतले जनाएको छ । त्यसो गर्दा जिल्ला अधिवेशनको मितिसमेत तोकेर जिम्मेवारी दिइनेछ । अहिले जिल्ला नेतृत्व जिम्मा दिँदा कम्तिमा ६ महिनाको अवधि दिएर जिल्ला अधिवेशनहरु गरिसक्नुपर्ने म्याण्डेट दिन लागिएको स्रोतले जनाएको छ ।

 

पूर्व माओवादीमा भने कुनै पनि मापदण्डले काम नगर्ने भएकाले अध्यक्ष प्रचण्डले दिने नामनै अन्तिम हुनेछन् । उनले बादल र नारायणकाजी श्रेष्ठ समूहलाई समेट्नुपर्ने छ ।

 

पूर्वएमालेका अधिकांश तत्कालीन अध्यक्षहरु स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित छन् । तत्कालीन एमालेले पाउने भूगोलका ४७ जिल्ला अध्यक्ष तोकिँदा अब ओली पक्ष र नेपाल पक्ष लगभग हाराहारीमा हुनेछन् । केही संख्या ओली पक्षको बढी हुनेछ ।

 

पार्टीमा केन्द्रीयता हावी भएका बेला प्रमुख नेताहरुबीचको सहमति नै अन्तिम विकल्प रहेकाले जिल्ला अध्यक्ष तथा सचिवहरुको चयनमा नेताहरु सहमति नजिक पुगेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए । उनले कमिटीहरुका अधिवेशनबाट नेतृत्व चयन भएर आउने प्रक्रियामा गएपछि कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउने भएकाले अहिले मुख्य नेताहरुको सहमतिको विकल्प नरहेको बताए ।

 

पोलिटब्यूरो पनि बन्ने भयो

यता, माधव नेपाल पक्षले माग गरे बमोजिम नेकपाको पोलिटव्यूरो कमिटी पनि गठन हुने भएको छ । यसबीचमा केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयको संरचना बनिसकेकोमा अब पोलिटव्यूरो पनि गठन गर्न नेताहरु सहमत भएका छन् । केन्द्रीय कमिटीको एक तिहाई अर्थात १५० को हाराहारीमा पोलिटब्यूरो बन्नेछ ।

 

पोलिटब्यूरोमा पनि पूर्वमाओवादीमा कुनै मापदण्डले काम नगर्ने भएकाले नेताहरुको समझदारीमा करीव ६० जना सदस्य तत्कालीन माओवादीबाट पर्ने सम्भावना छ । पूर्वएमालेबाट भने तत्कालीन पोलिटब्युरोका सबै सदस्यहरु समेटिनेछन् । तत्कालीन एमालेमा पदेनसहित ६६ सदस्यीय पोलिटब्यूरो थियो ।

 

यसबीचमा विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, अग्नि खरेल महान्यायाधिवक्ता, सानु श्रेष्ठ प्रदेश ३ को सभामुख भएका कारण पार्टीको जिम्मेवारीमा छैनन् । पूर्वएमालेबाट ८० देखि ८२ जना पोलिटब्यूरो सदस्य बन्दा करीव २०/२२ जना नयाँ थपिनेछन् । दुईपटक केन्द्रीय सदस्य भएको व्यक्तिमात्र पोलिटब्यूरो सदस्य बन्न पाउने नेकपाको बिधानमा छ ।

 

नेकपाले मजदूर, किसान लगायत पेशागत जिल्ला कमिटीहरुलाई समेटेर उपत्यका विशेष प्रदेश कमिटीसमेत गठन गर्ने भएको छ । सो प्रदेश कमिटीअन्तर्गत जनवर्गीय संगठनहरु पनि समेटिनेछन् ।

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना