यस्तै छ हाम्रो नेपालमा : विमानस्थल डिपोबाट दिउँसै २ हजार लिटर इन्धन चोरीयो !



 

सिनामंगलस्थित हवाईइन्धन डिपोबाट मंगलबार दिउँसो २ बजे चोरी हुन लागेको दुई हजार लिटर हवाईइन्धनसहित कन्टेनर नियन्त्रणमा लिइएको छ ।

स्रोतका अनुसार श्री एयरलाइन्सले हेलिकोप्टरका लागि ६ हजार लिटर हवाईइन्धन खरिदको स्वीकृति निगमबाट लिएको थियो ।

तर, डिपोबाट आठ हजार लिटर हवाईइन्धन लोड भएको थाहा पाएपछि कन्टेनर सुरक्षा गार्डले कन्टेनर नियन्त्रणमा लिएका थिए ।

६ हजार लिटर इन्धन बोक्न २ सय लिटर क्षमताका ३० ड्रम कन्टेनरमा हालेर डिपोभित्र कन्टेनरले गेट पास लिएको छ ।

तर, सोही कन्टेनर बाहिरिँदा ४० ड्रम इन्धन रहेको फेला परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको थियो ।

थप गरिएका १० ड्रममा स्वीकृति लिएभन्दा २ हजार लिटर बढी इन्धन लोड गरिएको थियो ।

मंगलबारको घटनाको वास्तविकता पत्ता लगाउन आयल निगमले छानबिन समिति बनाएको आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले बताए । ‘मंगलबार दिउँसो घटना भएको पाएपछि सत्यतथ्य बुझ्न छानबिन टोली बनाएको छु,’ उनले भने, ‘घटनामा दोषी भेटिए कसैलाई पनि छाडिन्न ।

मैले सुरुबाटै चुहावट नियन्त्रण गर्नुपर्छ भनेर कर्मचारीलाई निर्देशन दिइरहेको छु ।’ निगमले एभिएसन तथा ग्यास विभाग प्रमुख दीपक बरालको संयोजकत्वमा मेकानिकल इन्जिनियर अशोक साह र लेखाअधिकृत श्यामकृष्ण महर्जन रहेको तीन सदस्यीय छानबिन टोली बनाएको छ ।

यसरी भयो घटना
हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई ड्रममा तेल दिने प्रचलन पुरानै हो । वितरण तथा एभिएसन विभागले हेलिकोप्टर कम्पनीलाई डिपोबाट तेल लैजाने सैद्धान्तिक स्वीकृति दिने गर्छ ।

मंगलबार पनि केन्द्रीय कार्यालयले सिनामंगलस्थित हवाईइन्धन डिपो प्रमुख मनोज ठाकुरलाई ६ हजार लिटर तेल दिन पत्राचार गरेको थियो ।

ठाकुरले केन्द्रको पत्रअनुसार तेल दिन डिपोमा कार्यरत सातौँ तहका विदुर कोइरालालाई निर्देशन दिए । कोइरालाले सधैँझैँ ब्राउजर अपरेटर गोपाल नकर्मीलाई ड्रममा तेल हाल्न भनेका थिए । नकर्मीले नै तेल हाल्दा बदख्याइँ गरेको उनीहरूको आरोप छ । नकर्मी १५ वर्षदेखि सोही डिपोमा कार्यरत छन् । सामान्यतया ५ वर्षमा सरुवा हुनुपर्ने मापदण्ड भए पनि उनको कार्यशैलीबारे केन्द्रीय कार्यालयमा बारम्बार उजुरी आइरहेका छन् । मंगलबारको चोरी घटना सत्य साबित भए केन्द्रीय कार्यालयदेखि ब्राउजर अपरेटरसम्मको मिलोमतो पुष्टि हुने स्रोतको भनाइ छ ।

आयल निगममा यस्तो रिपोर्ट
स्वीकृत परिमाणभन्दा बढी हवाईइन्धन कन्टेनरमा हालेको भेटिए पनि निगमको केन्द्रीय कार्यालयका कर्मचारी चोरीको आशंका गर्न तयार छैनन् । निगमका एक उच्च अधिकारीले हवाई कम्पनीले नै गेटभित्र प्रवेश गर्दा भरिएका १० ड्रम र खाली ३० ड्रम भित्र लिएर गएको जिकिर गरे । ‘गेटभित्र छिर्नुअघि नै कन्टेनरमा ४० ड्रम थिए । ३० खाली र १० भरिएका थिए,’ ती अधिकरीको दाबी छ, ‘हवाई कम्पनीले पहिले नै लगेको इन्धन खपत नभई बचेको अवस्थामा कन्टेनरमै राखेर थप तेल लिन गएको थियो । त्यसैले स्वीकृति लिएको भन्दा बढी इन्धन निगमको डिपोले दिएको होइन । चोरी–सोरी भएको पनि होइन ।’

कन्टेनर डिपोमा पस्दा नै गेटपासमा ३० वटा ड्रम लेखेको ठाउँ कट्टा गरेर ४० लेखेर छिर्न दिएको ती अधिकारीको भनाइ छ । ‘कन्टेनर बाहिरिने वेला फेरि सुरक्षा गार्डले चेकजाँच गरे । सोहीक्रममा ६ हजार लिटर इन्धन बोक्न ३० ड्रम चाहिने भए पनि ४० ड्रम देखेपछि उनले डिपो प्रमुखलाई जानकारी गराए ।’ सुरक्षा गार्डले डिपो प्रमुखलाई खबर गर्नासाथ निगमको केन्द्रीय कार्यालयमा चोरीको घटना फैलियो । त्यसपछि कन्टेनर नियन्त्रणमा लिएर छानबिन अघि बढाइएको हो ।

प्रविधि नहुँदा ड्रममा इन्धन ढुवानी
आयल निगमले एयरपोर्टमा रिफ्युलरमार्फत विमान कम्पनीलाई इन्धन दिन्छ । तर, हेलिकोप्टरमा इन्धन हाल्ने प्रविधि निगमसँग छैन । त्यसैले हेलिकोप्टर सेवाप्रदायक कम्पनीले २ सय लिटर क्षमताका ड्रममा तेल लैजान्छन् र पायक पर्ने ठाउँमा पुगेर ड्रमबाट लिफ्टिङ गरेर हेलिकोप्टरमा इन्धन हाल्छन् । ‘धेरै कम्पनीले मोटर चलाएर पाइपका माध्यमबाट ड्रममा रहेको तेल हेलिकोप्टरमा हाल्छन् । कतिपय अवस्थामा प्लास्टिकको पाइप ड्रममा हाल्ने र मुखले तेल तानेर हेलिकप्टरको ट्यांकीमा खसाल्नेसमेत गरेको देखिन्छ,’ निगमका एक कर्मचारीले भने ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी