आज शताब्दिकै यति पवित्र दिन, साँझदेखि बिहानसम्म यी कार्य चोटपटक रोगब्याधीबाट मुक्त
आज धार्मिक रुपमा अत्यन्तै महत्वपुर्ण दिन पर्न गएको छ । सनातन हिन्दू धर्ममा प्रकृतिका शाश्वत पक्षमा आधारित चाडपर्व र व्रत सम्पादन गर्ने पद्धति रहीआएको छ ।
हुरीबतास र वर्षातको मौसममा देखिने विभिन्न प्राकृतिक प्रकोप र रोगव्याधिबाट टाढा रहने उद्देश्यले भगवती शीतलाको भक्ति र आराधना गरी शितलाष्टमी व्रत गर्ने शास्त्रीय विधान छ ।
यो पर्वका लागि आज शताब्दिकै अति उत्तम दिन भएको उल्लेख गरिएको छ । बार र तिथिको गणकले यो शताब्दिकै पवित्र दिन भएको खुलाइएको छ ।
यो आराधना खासगरी वसन्त र गृष्म ऋतुका चैत्र, बैशाख, ज्येष्ठ र असार महिनामा गर्ने प्रचलन छ ।

ती महिनामा पर्ने प्रत्येक कृष्ण पक्षको अष्टमी तिथिका दिन शीतला भगवतीलाई प्रसन्न तुल्याई प्राकृतिक प्रकोप र रोगव्याधिबाट छुटकारा दिलाउन बिन्ती बिसाउने परम्परा रही आएको छ ।
त्यसैले यस व्रतलाई शीतलाष्टमी भन्ने गरिन्छ । बासी खानेकुरा चढाउने र बासी खानेकुरा प्रसादका रूपमा ग्रहण गरी मनाइने हुँदा यस व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाडौं उपत्यकामा बासेरा पनि भन्ने गरिन्छ ।
यस व्रतलाई सम्पादन गर्नाले व्रतालुका घरपरिवारमा अग्निप्रकोप र ज्वरो एवं घाउखटिराजन्य रोगको प्रकोपबाट मुक्तिप्राप्त हुन्छ भन्ने विश्वास लिइन्छ ।
यस दिनको व्रत सम्पादन गर्न प्रातस्कालमा स्नानादिबाट निवृत्त भई श्रद्धा९भक्तिपूर्वक विधिविधान सहित भगवती शीतला देवीको पूजा गर्नुपर्दछ ।
पूजा सम्पादन गर्न एकदिन अघि नै तैयार गरिएको प्रसाद र नैवेद्य माता शीतलालाई भोग लगाउने चलन छ ।
शीतलताकी प्रतिमूर्ति माता शीतलाको आराधना र व्रत सम्पादन गर्ने व्यक्तिका घरमा उक्त दिन चूलो बाल्न प्रतिबन्ध रहेको मानिन्छ र त्यसदिन कुनै पनि खानेकुरा पकाउन र तुल्याउन निषेधित मानिन्छ ।
त्यसैले पूजा सम्पन्न गर्न समेत बासी खानेकुरालाई नैवेद्यका रूपमा भगवतीलाई अर्पण गर्ने गरिएको हो । भगवतीलाई नैवेद्य अर्पण गरेपछि घरका सबै सदस्य उपस्थित भएर भगवती शीतलासँग परिवारका सबै सदस्यको आरोग्य र सुस्वास्थ्यको कामना गर्ने गरिन्छ ।

