महिनावारीलाई रोग लागे जस्तो ठान्दा रहेछन् : प्रियंका कार्की
फिल्मका कारणले भन्दा सामाजिक कामले थप चर्चामा छिन्, अभिनेत्री प्रियंका कार्की । आयंका फाउन्डेसनमार्फत प्रियंका धनुषाको हरिपुर निगाहपुर मावि र आधारभूत माविमा महिनावारी सचेतना कार्यक्रम पुगिन् । यही मेसोमा प्रियंकासँगको कुराकानी :
महिनावारीसम्बन्धी त्यहाँ समस्या के रहेछन् ?
छुनु हुँदैन, मन्दिर जानु हुँदैन भन्ने समस्या सबैतिर छ । छाउपडी अन्त्य भयो भन्यो कानुनले । तर त्यसो गर्नु पापजस्तो सोच्छन् मानिस । रोग लागेजस्तो गर्छन् महिनावारीलाई । समस्या देशैभरि छ ।
छाउपडी समस्या सुदूरपश्चिममा छ तर तपाईंहरु जानुभयो धनुषातिर ?
पहिले तराई छुनुपर्छ भनेर गएका हौँ । त्यहाँ मुसलमान र दलित बस्ती छन्, एनजीओर आईएनजीओजस्ता संस्थाका सहयोग पुगेका छैनन् । दोस्रो चरणमा सुदूरपश्चिम जाने योजना छ ।
त्यस्ता बस्तीमा सहयोगी संस्था नपुग्नुको कारण के रहेछ ?
नेपाली बुझ्ने मानिस नै नहुने रहेछन् । मिश्रति धर्म र समुदाय बसोबास गर्छन् । भाषा, संस्कृतिकै कारण होला ।
फाउन्डेसनको आर्थिक स्रोत के हो ?
आफ्नै कमाइबाट केही खर्च जुटायौँ । पञ्चकन्या फाउन्डेसनले शौचालय बनाइदिने सामग्री दियो, ढुवानी, निर्माण खर्च हामीले र्गयौँ । केडीएस फाउन्डेसनले महिनावारी किट किड दियो ।
महिनावारीका विषयमा चेतना जगाउने आइडिया कसरी आयो ?
बा–ममीले मलाई महिनावारी हुँदा कहिल्यै भिन्न व्यवहार गर्नुभएन । प्राकृतिक कुरा मानेर सोहीअनुसार व्यवहार गर्नुभयो । आफूले नभोगे पनि अरुलाई गरिने व्यवहार सुन्दा चित्तै बुझ्दैनथ्यो । यसलाई छोराले भन्दा छोरीले बुझ्नु जरुरी छ ।
छोरीले नै बुझ्नुपर्ने किन ?
यस्ता भेदभाव छोराका कारण आउँछ । समाजमा ऊ प्रभावशाली छ । भनौँ न, उसले शासन गर्छ अरुमाथि । शासकले बुझ्यो भने समाधान खोज्न सजिलो हुन्छ ।
छात्राहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?
सुरुमा किट किड निकालेर प्रयोग गर्ने तरिकाबारे बताउँदा लजाए । छात्रहरु पनि लुक्ने र हाँस्ने गरिरहेका थिए । अभिभावक पनि आएका थिए । केही परिवर्तन हुने आशा छ । पाँच प्रतिशतले बुझे भने पनि सफल मान्नेछु ।
खानेपानी मन्त्रालयले तपाईंलाई महिनावारी स्वच्छता दूत पनि बनाएको छ । के–के काम भए ?
केही भएको छैन । सरकारी प्रक्रिया एकदमै लामो हुने रहेछ । हामीलाई कुन क्षेत्रमा कसरी प्रयोग गर्नुहुन्छ, थाहा छैन । योजनाचाहिँ बृहत् छ रे ।
अभियान कहाँ पुगेर टुंगिएला ?
यसै भन्न सकिन्न । हामीकहाँ आवाजको कमी छ । बुझाइ साँघुरो छ । फिल्मी कलाकार भएकाले हाम्रो कुरा मानिसले सुन्छन् र त्यसबाट केही सकारात्मक परिवर्तन होला भनेर लागेका छौ । नेपाल साप्ताहिकबाट