गृह मन्त्रालयले नै लगानीकर्तालाई तर्साएको छ : पूर्वअर्थमन्त्री डा. रामशरण महत



 

नयाँ सरकार गठन भएको एक वर्ष पुग्यो । प्रतिपक्षी दलको जिम्मेवार नेता र पूर्वअर्थमन्त्रीका हिसाबले बितेको एक वर्षलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

जनताको जुन आशा, आकाङ्क्षा र अपेक्षा बितेको एक वर्षमा कुनै कुरा पनि सम्बधोन भएन । त्यसैले जनता अहिले निराश छन् । दुईतिहाइको बलियो सरकार छ । तर, यसका क्रियाकलाप, गतिविधि, हाउभाउ हेर्दा जनतामा चरम निराशा छाएको छ । प्रतिपक्षीका हिसाबले यस विषयमा हामीले पटकपटक आवाज उठाएका छौं । हुन त जनताले पनि प्रतिपक्षीले राम्रोसँग भूमिका निर्वाह गर्न सकेन भनेको पनि ठाउँठाउँमा सुनेका छौं । त्यसैले हामीले संसद् र सडकमा विरोधका कार्यक्रम गरिरहेका छौं ।

 

सरकारले राजनीतिक पक्ष, संविधान कार्यान्वयनका कुराहरुमा पनि काम गर्नुपर्छ । मुलुक सङ्घ, प्रदेश र स्थानीय तह गरी विभिन्न संरचनामा गइसकेको छ । यी संरचनाहरु बलियो बनाउने, सक्षम बनाउने र जनताका आकाङ्क्षा पूरा गर्न सबै संरचनालाई क्षमतावान् बनाउनेतर्फ सरकार लाग्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन । एकातिर कर्मचारी अभाव बढ्दो छ भने अर्कोतिर कर्मचारकिो सही व्यवस्थापन हुन सकेको छैन । आफ्नो पार्टीको मान्छे छ भने तिनलाई तान्ने र सक्षम भए पनि अर्काे पार्टीको भए तिनलाई हटाउने प्रवृत्ति बढ्दो छ ।

 

सरकार सही ढङ्गले संस्थाहरु स्थापना गर्ने, तिनलाई बलियो बनाउने र नयाँ संरचनाअनुसार बलियो बनाएर तिनको क्षमता बढाउने भन्नेमा ऊ लाग्नुपर्ने हो । तर त्यसमा बिल्कुलै ध्यान गएको छैन । यो अवधिको सबैभन्दा कमजोर एवम् गलत पक्ष भनेकै यही हो । खालि आफ्नो पार्टी, राजनीतिक हित र स्वार्थ कसरी पूरा गर्ने भन्ने दलगत स्वार्थमा मात्र सरकार लागिपरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने जस्ता नारा केवल नारामा मात्र सीमित देखिएका छन् । तिनको केही अर्थ छैन ।

 

व्यवहारमा कार्यान्वयन नहुँदासम्म तिनले आखिर प्रतिफल पनि दिन सक्दैनन् । नाराले मात्र समृद्धि आउने होइन, त्यसका लागि व्यवहार एवम् आचारण त्यसैअनुसारको हुनुपर्छ । देशमा उत्पादकत्व कसरी बढाउने, प्रतिफल कसरी बढाउने, पुँजीगत क्षमता कसरी बढाउने, सरकारको क्षमता दक्षता कसरी बढाउने र लगानी कसरी अभिवृद्धि गर्ने भन्नेतर्फ सरकारको ध्यान गएकै छैन ।

 

सरकार हावादारी कुरामा मात्र समय बिताएको छ । काम गरेको छैन । यसको एउटा उदाहरण हो, हजारौं योजनाहरु विगतका सरकारले सुरु गरेका र ठेक्कामा गइसकेका, कार्यान्वयनमा आइसकेका काम यो सरकारका कारण सबै रोकिएका छन् । कतिपय अवस्थामा सरकारले केन्द्रीय योजनाअन्तर्गत पर्दैन, यो त क्षेत्रीय बजेटअन्तर्गत राख्ने हो भनेर यसका लागि बजेट छैन भन्दै पन्छिएको अवस्था पनि छ । तिनलाई केन्द्रीय बजेटमा राखिएन ।

 

प्रदेश सरकार र स्थानीय सरकारलाई पनि हस्तान्तरण गरिएको छैन । मैले पहिलेदेखि नै भन्दै आएको छु, केन्द्रले बनाउन सुरु गरेका योजना सकेर मात्र प्रदेशलाई हस्तान्तरण गरिदिनुपर्छ । होइन भने केन्द्रले योयो प्रदेशमा यीयी योजना बाँकी छन्, अब तिमी बनाऊ भनेर तिनलाई हस्तान्तरण गर्न सक्नुपर्छ । त्यसो पनि भएको छैन । यसरी बजेट स्थानान्तरण गर्ने र अधिकारसँगै रकम पनि हस्तान्तरण गर्नुपर्छ ।

 

अहिले एक हजारभन्दा बढी सडक योजनाहरु, जो चालू अवस्थामा छन्, साथै बहुवर्षीय ठेक्कामा लागेका पनि छन्, तिनीहरुको अवस्था दयनीय छ । खानेपानी, सिँचाइ, निर्माण, तटबन्ध आदिका योजना पनि अवरुद्ध भएका छन् । अर्काेतिर राष्ट्रिय गौरवका आयोजनामा पनि राम्रोसँग काम भइरहेको छैन । निजीक्षेत्रबाट सबैभन्दा बढी लगानी आउँछ । यो क्षेत्रबाट पुँजीगत क्षेत्रमा ८० प्रतिशतभन्दा बढी लगानी आउँछ । तर निजीक्षेत्र आतङ्कित छ । नयाँ लगानी आकर्षित गर्नु कहाँ हो कहाँ, भएका लगानीकर्ता पनि डराएर बसेको अवस्था छ ।

 

 

यसको मूल कारण के हो ? नीतिगत रुपमा त कुनै त्यस्तो परिवर्तन भएको देखिँदैन ?

यसको मूल कारण गृह मन्त्रालयले नै लगानीकर्तालाई तर्साएको छ । विधिले दिएको अनुसार गर्नुपर्ने हो, तर त्यसो भएको छैन । म केही समयअघि वीरगन्ज गएको थिएँ, मलाई त्यहाँका उद्योगी, व्यवसायीले गुनासो गरे, पहिला लोडसेडिङ हुँदा डेडिकेटेड फिडरलाई दिने ६६ केबीएको बिजुली दिने र त्यसबापत शुल्क तिर्ने गरिएको थियो । तर पछि लोडसेडिङ अन्त्य भयो । त्यसपछि सामान्य अवस्थामा विद्युत् आपूर्ति भइसकेपछि सामान्य प्रचलित दर गर्नुपर्ने हो ।

 

दोब्बर बनाउनुपर्ने त होइन । तर नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर प्रयोगकर्ता उद्योगी व्यवसायीलाई दोब्बर शुल्क लिइरहेको छ । सामान्य अवस्थामा आइसकेपछि शुल्क घट्नुपर्दैन र ! बढी शुल्क हुँदा उत्पादन लागत बढी हुन्छ, जसले वस्तुहरु प्रतिस्पर्धी हुँदैन । यसले विदेशी सामान सस्तो र स्वदेशी सामान महँगो हुन्छ । अनि आयात बढ्छ । त्यसले स्वतः व्यापार घाटा बढाउँछ । यसमा यस्तो तर्क दिने गरिन्छ नि, भारतबाट बिजुली आयात गरिन्छ, त्यसैले डेडिकेटेड फिडरमा बढी शुल्क लिनुपरेको हो ।

 

भारतबाट आयात गरिए पनि भाउ त त्यही प्रचलित दर नै हो । डेडिकेटेडलाई मात्र के, सबैलाई एउटै भाउ हुनुपर्ने हो । अरु मुलुकमा उद्योगलाई झनै सहुलियत दिने गरिन्छ । तर यहाँ उल्टो छ । उद्योगीहरुबाट बढी विद्युत् शुल्क लिने हो भने त्यसको भार अन्ततः उपभोक्तामै पर्ने हो । मारमा पनि तिनै गरिब जनता नै पर्ने हुन् । यो सरकार हल्लाखल्ला बढी गर्ने, देशविदेशमा गएर लगानी प्रवद्र्धन गर्ने भनेर भाषणबाजी पनि गरिरहेको देखिन्छ । तर गतिविधि भने लगानी बढाउने खालका छैनन् ।

 

व्यापार घाटा पछिल्ला धेरै वर्षदेखिको दुःख हो । आयात गर्नैपर्ने अवस्था किन सिर्जना भइरहेको छ ?

हामीले १९९० को दशकमा जुन किसिमका सुधार ग¥यौं, अन्तर्राष्ट्रिय लगानी आए । डाबर जस्ता निर्यातमा केन्द्रित बहुराष्ट्रिय कम्पनी पनि आए । भारतसँग व्यापार सम्झौतामा सुधार ल्यायौं । त्यसपछि त्यहाँ निर्यात बढ्न थाल्यो । १९९० दशकको अन्त्यसम्म कुल आयातको ५० प्रतिशतसम्म हाम्रो निर्यातले धान्थ्यो । भनेपछि त्यो अहिले घटेर ७ प्रतिशतमा आएको छ । यसमा टेक्सटाइलसम्बन्धी सम्झौताका कारण यसो भएको हो । निर्यातमा हामीले जोड दिएनौं । भारतसँग जसरी बजार विस्तार गर्नुपथ्र्याे, त्यो पनि भएन । मुख्य कुरा लगानी वातावरण नेपालमा भएन ।

 

यो वर्षको मात्रै समस्या होइन, यो त केही वर्षदेखिको समस्या हो । तपाईंले पनि सरकारमा बसेर नीतिगत सुधार गर्न खोज्नुभयो नै होला । तर पनि समस्या ज्यूँका त्यूँ किन रह्यो ?

विगतमा अस्थिर राजनीति मुख्य कारण हो । तर, अहिले राजनीति सुध्रिएको छ । लामो समयसम्मको हिंसात्मक द्वन्द्वले पनि समस्या निम्त्यायो । छिनछिनमा सरकार बदलिने गर्दा पनि काम सुस्तायो । त्यसमा पनि कम्युनिस्ट सरकारले पपुलिस्ट कार्यक्रम ल्याउने गर्न थाले । काम सिन्को नभाँच्ने तर योजना मात्र मीठामीठा ल्याउने काममा उनीहरु व्यस्त भए । देशलाई बलियो बनाउने, उत्पादकत्व कसरी बढाउने, प्रतिस्पर्धी कसरी हुने भन्नेमा ध्यान दिनुपर्ने हो । तर त्यसो हुन सकेन । अर्काे कुरा, नेपालबाट ठूलो संख्यामा विदेशमा रोजगारीमा श्रमशक्ति जान्छ । स्वदेशमा श्रमशक्तिको अभाव छ ।

 

जसले प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ । एउटा श्रमिक १ हजारभन्दा घटीमा पाइँदैन । अहिले इँटाभट्टा उद्योग र निर्माण उद्योगमा डेढ लाख कामदारको अभाव छ चाहिन्छ । भारतबाट आएका कामदारको सङ्ख्या यहाँ लाखौं छ । उद्योग र फ्याक्ट्रीमा पनि उनीहरुकै बर्चस्व छ । नेपालबाट रेमिट्यान्सका रुपमा साढे तीन खर्ब रुपैयाँ बाहिरिएको छ । भनेपछि नेपालमा रोजगारी अभावमा मात्र विदेश गएको होइन रहेछ । यहाँभन्दा बढी कठिन काम विदेश गएर गरेका उदाहरण प्रशस्त छन् ।

 

नेपालमा काम नगर्ने तर मलेसिया, दुबई, कतारजस्ता मुलुकमा गएर मरीमरी काम गर्ने प्रवृत्तिले पनि समस्या निम्त्याएको हो । इँटाभट्टामा काम गर्न बङ्गलादेशदेखि कामदार आएका छन् । तिनले राम्रो कमाएका छन् । तर नेपालीहरुको काम गर्ने प्रवृत्ति घट्को छ । तिनै मान्छे विदेश गए भने जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन् । त्यसैले उद्योग, कृषि, फ्याक्ट्री आदिमा काम गर्न उनीहरुलाई कसरी प्रेरित गर्ने भन्ने विषयमा हामीले जोड दिनुपर्छ । त्यसो गरिरहेको छैन ।

 

अन्तर्राष्ट्रिय सम्बन्ध जतिसुकै राम्रो भयो भने पनि व्यवहारमा त्यति राम्रो देखिँदैन । यसमा कूटनीतिक एवम् आर्थिक सम्बन्ध कस्तो पाउनुभएको छ ?

मलाई हाँसो उठ्छ, प्रधानमन्त्रीज्यूका कुराबाहेक काम छँदै छैन । धेरै विदेश भ्रमण गर्दैमा अन्तर्राष्ट्रिय सम्बन्ध सुध्रिँदैन । बढ्दैन पनि । त्यसमा परिवर्तन अनुभव भएको छैन । सामान्यतया हाम्रो गुडविल सबैको छ । नेपालप्रति सहानुभूति पनि छ । तर विदेशीहरुले सुशासन एवम् भ्रष्टाचारको अभाव देखेका छन् । खुला घुस मागेका उदाहरण छन् । मेलम्चीमै ठेकेदार कम्पनीले ३५ करोड माग्दा कति घुस मागियो भन्ने सुनिन्छ । भ्रष्टाचारको सूचीमै नेपाल अझ तल झरेको विभिन्न अध्ययनले देखाएका छन् । डुइङ बिजनेसमा पनि अझ हामी तल झरेका छौं । उद्योगीहरुलाई सोध्ने हो भने उनीहरु अझ आतङ्कित देखिन्छन् । त्यसैले सरकारले वातावरण बनाउनेतर्फ लाग्नुपर्छ ।

 

विगतमा लगानी सम्मेलन, पूर्वाधार सम्मेलन पनि आयोजना भए । जलविद्युत् क्षेत्रका लागि पनि विशेष सम्मेलन भए । लगानी प्रतिबद्धता पनि आए । यति आउँछ भन्ने पनि आयो । भूकम्पपछि १४ खर्ब लगानी आउने प्रतिबद्धता आयो । तर दुई वर्षयता हेर्ने हो भने त्यसमा केही काम भए जस्तो लाग्दैन नि ?

यसमा ‘फलो अप’ नहुनु मुख्य कारण हो । विदेशीहरुले नेपालमा लगानी गर्न इच्छा देखाएका हुन् । तर त्यसलाई फलो अप मुख्य काम थियो । उनीहरुलाई विश्वास पनि दिलाउन सक्नुपर्यो । उनीहरुले चाहेका केके कुरा हुन्, ती जायज छन्छै/नन् भन्ने पनि अध्ययन हुनुपर्यो । त्यसका लागि सरकार बलियो हुनुपर्यो । तर यहाँ वर्षमा दुईतीन पटक सचिव फेरिन्छन् । महानिर्देशकहरु परिवर्तन भएको भयै हुन्छन् । सम्बद्ध विषयमा दक्ष नभएको व्यक्ति पनि राजनीति र नातागोताका आधारमा महत्वपूर्ण पदमा ल्याएर जिम्मेवारी दिइएको छ । त्यसैले ‘राइट म्यान इन द राइट प्लेस’ अहिलेको आवश्यकता हो । दक्ष व्यक्तिलाई खोजीखोजी ल्याउनुपर्ने हो । तर त्यो अहिले पटक्कै छैन । दलगत राजनीतिकरण अत्यधिक भयो ।

 

सरकारको ध्यान अर्थ मन्त्रालयमा बढी देखिन्छ । तपाईंले पनि सँगै रहेर काम गर्नुभयो । राष्ट्रिय योजना आयोगमा पनि तपाईं संलग्न हुनुभयो । अहिले राजनीतिभन्दा बाहिर रहेको व्यक्ति अर्थमन्त्री भएर आउनुभएको छ । र पनि समस्या त ज्यूँका त्यूँ छन् ।

मैले अर्थमन्त्रीका गतिविधिबारे टिप्पणी गर्न चाहन्नँ । तर कुरा के हो भने, सही दृष्टिकोण हुनुप¥यो । सङ्कुचित दलगत स्वार्थबाट माथि उठ्न सक्नुपर्यो । देशको दीर्घकालीन हित चिताउने हुन सक्नुपर्यो । क्षणिक राजनीतिक स्वार्थ पूरा गर्न देशको दीर्घकालीन हितमा कहिल्यै ‘कम्प्रोमाइज’ गर्नुभएन । अर्थ मन्त्रालय पपुलर हुने मन्त्रालय होइन । म अर्थमन्त्री भएको बेला बेलायतबाट पुरस्कृत हुँदा त्यहाँका मानिसले भनेका थिए— अर्थमन्त्री पपुलर हुने पद होइन ।

 

कठिन अवस्थाका बाबजुत राम्रो काम गरेको छ भने त्यसलाई अवार्ड गर्नुपर्छ भनेर हामीले १२–१३ वर्षदेखि अवार्ड सुरु गरेका हौं । अर्थमन्त्री पपुलर हुनतिर लाग्यो भने त्यसले देशको दीर्घकालीन हित गर्दैन । त्यसकारण अर्थमन्त्रीले कठिन र सही निर्णय लिन सक्नुपर्छ । अहिले सुक्ष्म व्यवस्थापनअन्तर्गत अर्थ मन्त्रालयले बैङ्कहरुलाई फलानो फलानोलाई ऋण देऊ भनिरहेको अवस्था छ । ऋण दिने कुरामा अर्थ मन्त्रालयले बैङ्कहरुलाई आदेश दिने हो र ? एउटा बैङ्कको प्रमुख कार्यकारी अधिकृतले यस्तोयस्तो दबाब आइरहेको छ भनेर मलाई भनेका थिए ।

 

यो पक्कै राम्रो होइन । बिनाधितो ऋणको मेला सुरु गराए जस्तो भएको छ । यसले देशलाई कहिल्यै अघि बढाउँदैन । माओवादीको सरकारका पालामा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत करोडौं रुपैयाँ बाँडियो । त्यो अहिले उठ्नै सकेको छैन । मेरो कार्यकालमा उठाउन कोसिस गरें । देशमा एकातिर रोजगारी अभाव छ, फ्याक्ट्रीमा कामदार अभाव छ । तर अर्काेतिर सरकारले पैसा बाँड्ने काम गरेको छ । राम्रो योजनाका लागि भने बैङ्कहरुले ऋण दिनुपर्छ । तर पैसा दिने मेला गर्नु बैङ्कको काम होइन, जुन कुरा सरकारले बाध्य पारिरहेको छ, त्यो पटक्कै राम्रो होइन ।

 

पूर्वाधार बैङ्क मेरै समयमा सुरु भएको हो । निजीक्षेत्रले अगाडि बढाएको र त्यसमा सरकारले प्रोत्साहन गर्न १० प्रतिशत सेयर गर्ने सम्झौता त्यही समयमा भएको हो । अहिले विमल कोइरालालाई नहटाउने हो भने १० प्रतिशत सरकारको सेयर फिर्ता लिन्छौं भनेर हटाइयो । त्यसो किन रहेछ भने, कर्मचारी भर्ना गर्न विज्ञापन गरिएको रहेछ । तर त्यहाँ आवेदन नै नदिएका १६ जनाको लिस्ट प्रधानमन्त्री कार्यालयबाट आएछ । आवेदन पनि नदिएका र परीक्षा पनि नदिएका तिनलाई राख्न सकिने अवस्था त भएन । त्यसो हुँदा विमलजीले ‘अब्जेक्सन’ जनाउनुभयो होला । त्यही रिसले उहाँलाई हटाइयो । यस प्रकारको गतिविधिले मुलुक कसरी अघि बढ्छ ।

 

यो सरकार बढी ‘डाटा म्यानिपुलेसन’मा राम्रै काम गरिरहेको छ भन्ने सुनिन्छ नि, तपाईंलाई के लाग्छ ? के सम्भव छ र डाटा म्यानिपुलेसन ?

मलाई पनि त्यस्तै लागेको छ । तथ्याङ्कहरु बङ्ग्याउन पनि लागिपरेको छ भन्ने सुनेको छु । यस्ता विषयमा कर्मचारीहरु भन्न डराउँछन् । अहिले जुन मूल्यवृद्धि कम भएको देखाइएको छ, त्यसमा मलाई विश्वास छैन । जताततै भाउ बढेको छ । तर मूल्यवृद्धि ४ प्रतिशत हाराहारी छ भनिएको छ । वास्तविक तथ्याङ्क भने त्यसभन्दा बढी रहेको सहजै अनुमान लगाउन सकिन्छ । यसलाई पनि पुनर्विचार गर्न जरुरी छ । त्यहाँ पनि म्यानिपुलेसन भएको हो कि भन्ने आशङ्का छ ।

 

काङ्ग्रेसले ‘समृद्धिको नाराले, दुःख पाए साराले’ भन्दै प्रदर्शन गरिरहेको छ, यसलाई सर्वसाधारणले कुन रुपमा बुझ्ने ?

नारा आआफ्ना ढङ्गले राख्छन् साथीहरुले । नाराचाहिँ समृद्धि, तर व्यवहार उल्टो भएकाले काङ्ग्रेसले त्यसलाई त्यसरी प्रस्तुत गरेको हो । आखिर हामी पनि समृद्धि नै चाहन्छौं । समृद्धिको नारा हाम्रो पनि हो । आखिर समृद्धि को चाहन्न, विकास को चाहन्न ? तर नारामा मात्र सीमित हुनुहुँदैन । काम गरेर देखाउनुपर्ने हो । अहिले राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीहरुको सुविधा बढाउनेमा सरकार लागिपरेको छ । प्रदेशदेखि स्थानीय तहसम्मको अवस्था पनि त्यस्तै छ ।

 

३५–३६ हजारको सङ्ख्यामा तलबी जनप्रतिनिधि भइसकेछन् । उनीहरुलाई गाडी आदिको सुविधाले आर्थिक बोझ थपिएको छ । बालुवाटारमा प्रधानमन्त्री निवासनजिकै छुट्टै महल चाहियो रे । सरकारी गेस्ट हाउस पनि बनाउने रे । पहिले होटलहरु थिएनन् र गेस्ट हाउसको व्यवस्था गरिएको थियो । तर अहिले पाँचसात तारे होटल भएको अवस्थामा यी काम गर्नु ठीक हुँदैन । प्रहरी प्रशिक्षण प्रतिष्ठान विस्थापित गरेर राष्ट्रपतिको निवास फराकिलो बनाउने काम पनि त्यस्तै हो । प्रधानमन्त्री ओलीका ३५१ अर्ब योजनाका भ्यूटावरेदखि बुद्धिस्ट विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत सातओटा योजना आएका छन् । त्यसले सरकारी ढुकुटी रित्याउने काम मात्र गर्छ । विकास केही हुन्न ।

 

प्रहरी प्रतिष्ठानको विषय र राष्ट्रपतिको सुविधा बढाउने र हरिहर भवन हटाउने निर्णय यसअघिकै सरकारले गरेको होइन र ? यो सरकारले त तिनलाई निरन्तरता दिएको होइन र ?

हामी सरकारमा हुँदा यस्तो प्रस्ताव आएको थिएन । अरु सरकारमा हुँदा आएको भए मलाई थाहा छैन, तर हाम्रो योजना त्यस्तो थिएन । म खर्च बढी गराउने मामिलामा त्यति रुचि राख्दिनँ । मलाई थाहा छ, राजाको पालामा बर्थडे पार्टीहरुमा कति साँघुरो किसिमले कार्यक्रम आयोजना गरिन्थ्यो । त्यसभन्दा शीतल निवास बढी फराकिलो छ । त्यसलाई अझ फराकिलो किन पार्नुपर्ने हो ? हामीले सुविधाभोगी भए भनेर राजतन्त्र हटायौं । तर त्यस्तै प्रवृत्ति राष्ट्रपतिमा देखिनु राम्रो होइन ।

 

लगानी भित्र्याउन हाम्रा सूचकहरु बलियो हुनुपर्छ । कानुनी व्यवस्थामा हामी कहाँनिर चुकेका छौं ?

कानुनी व्यवस्थाभन्दा पनि बढी काम गर्ने प्रवृत्ति प्रभावकारी हुनु राम्रो हो । नेपालमा भाषण बढी गर्ने, राजनीतिलाई मूल मुद्दा बनाउने नभई आर्थिक विकास गर्नेतर्फ ध्यान नदिने, यसमा सबै लागिपर्ने भन्ने देखाउनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । आर्थिक संस्कृति, विकास संस्कृति आदिमा हामीले जोड दिनुपर्ने हो । तर त्यसो पनि हुन सकेको छैन । हामीले १९९० को दशकमा सुरु गरेको ‘इकोनोमिक कल्चर’ले देशमा लगानी भिœयाउन सघायो । तर अहिले त्यस्तो किसिमको वातावरण देखिँदैन ।

 

राजनीतिक स्वार्थमा मात्र लागेको देखिन्छ । प्रधानमन्त्रीको प्रचारमा बढी सरकार प्रेरित भए जस्तो लाग्छ । यसले मुलुकको दीर्घकालीन समृद्धि हासिल हुँदैन । रेलवेका कुरा, पानीजहाजका कुरा आदि विषयमा भाषण गरेर मात्र हुँदैन । तर त्यसभन्दा अघि गाउँगाउँमा समृद्धिका विषयले प्राथमिकता पाउनुपर्ने हो । त्यसैले यस्ता सस्ता प्रचारबाजीले मात्र देशलाई राम्रो गर्दैनन् । सर्वप्रथम हामीले राष्ट्रको प्राथमिकता के हो भन्ने बुझ्नुपर्छ । अनि मात्र विकासमा अघि बढ्न सकिन्छ । होइन भने समृद्धि सपना सपनामै सीमित हुन्छ ।

क्यापिटल बिजनेस म्यागजिनबाट

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च